१३ बैशाख २०८१, बिहीबार
Follow Us

ए स्टारले मनायो सातौं वार्षिकोत्सव भव्य

नेपालब्रिटेन डट कम्
९ पुष २०७५, सोमबार १९:२३

लण्डन । बेलायतमा वित्तीय सेवा प्रदान गर्दै आएको नेपालीहरुद्धारा सञ्चालित ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले आफ्नो सातौं वार्षिकोत्सव मनाएको छ । आइतबार केन्टको आसफोर्डमा आफ्ना ग्राहक, शुभचिन्तक तथा समुदायका प्रतिनिधि लगायतको उपस्थितिमा वार्षिकोत्सवसंगै क्रिसमस र नयां वर्षको शुभकामना आदानप्रदान समेत गरियो ।

एसएनपी प्लस र ए स्टारले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा ए स्टारको सातौं वार्षिकोत्सवको खुशीयालीमा केक समेत काटिएको थियो ।

त्यसअवसरमा ए स्टारका प्रिन्सिपल डाइरेक्टर मिन दर्लामीले आउंदो वर्ष ए स्टारको आसफोर्ड शाखाबाट हुने सम्पुर्ण व्यवसायको केहि प्रतिशत स्थानीय सगरमाथा नेप्लिज कम्युनिटीले खरिद गर्ने भवनको लागि सहयोग गर्ने घोषणा गरे । ‘हामीले जुन समुदायमा आफ्नो व्यवसाय गरिरहेका छौं, जुन समुदायबाट केहि पाइरहेका छौं, त्यहि समुदायलाई रिटर्नमा केहि दिनुपर्छ भनेर कोशिस गरिरहेका छौं’, दर्लामीले भने ।

एसएनपी प्लसका निर्देशक तथा ट्याक्स एड्भाइजर समिर प्याकुरेलले आफुहरुले व्यवसायसंगै बेलायतको नेपाली समुदायको हितलाई समेत संगसंगै अघि बढाउन खोजेको बताए । नेपालीहरुको सहयोगको लागि आफुहरु व्यवसायिक घेराबाट समेत माथि उठेर निशुल्क परामर्शहरु उपलब्ध गराउन तयार रहेको उनले जनाए ।

ए स्टारका मोर्गेज एण्ड प्रोटेक्सन एड्भाइजर रमेश सराङकोटीले एक पावरपोइन्ट प्रिजेन्टेसनमार्फत ए स्टारले बेलायतका विभिन्न क्षेत्रस्थित नेपाली समुदायमा पुगेर गरेको वित्तीय चेतना कार्यक्रमहरुबारे जानकारी गराए ।

स्थापनाकालदखि नै ए स्टारले यहांको नेपाली समुदायसंग विभिन्न ढंगबाट सहकार्य गर्दै आएको बताउंदै उनले यसलाई निरन्तर गर्ने योजना सुनाए ।

कार्यक्रममा एनआरएन यूके अध्यक्ष योगकुमार फगामी, पूर्व काउन्सिलर धन गुरुङ, मगर संघ यूके अध्यक्ष नेम थापा मगर, पत्रकार महासंघ यूके अध्यक्ष नरेश खपांगीमगर, तमु धि यूके पूर्व अध्यक्ष सुबाससिं गुरुङ, बुद्धिजिवी शिवजी श्रेष्ठ, जनजाति महासंघ बेलायतका निवर्तमान अध्यक्ष तुल छन्त्याल तथा पूर्व अध्यक्ष श्री लिम्बू, सगरमाथा नेप्लिज कम्युनिटीका कावा अध्यक्ष कप्रसाद छन्त्याल, मेजर एकबहादुर गुरुङ, क्षेत्री समाज यूके पूर्व अध्यक्ष धन कुंवर, मगर बिजनेस फोरम यूके अध्यक्ष रत्न राना, आइएमई लन्डन निर्देशक कमल पौडेल, व्यवसायी फत्त थापा, बिएफबिएस रेडियोकी रुपा राना लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

उनीहरुले ए स्टार र एसएनपी प्लसले आफ्नो व्यवसायिक प्रगतिका साथसाथै नेपाली समुदायको हितलाई पनि उत्तिकै महत्वका साथ अघि बढाएको भन्दै प्रशंसा पनि गरे । त्यसअवसरमा ए स्टारले कम्पनीका विभिन्न सहयोगी तथा लक्की ड्रबाट चयन भएका भाग्यमानी ग्राहकहरुलाई विभिन्न उपहारहरु वितरण गरेको थियो ।

कार्यक्रममा ए स्टार टीमकै एक सदस्य तथा नर्सिङ एशोसिएसन यूके महासचिव रस्मिता दर्लामीले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको अन्त्यमा सहभागी सबैजना डिसे डान्समा रमाएका थिए ।

कार्यक्रममा उपस्थित ग्राहक, शुभचिन्तक तथा समुदायका प्रतिनिधिहरुलाई ए स्टार फाइनान्सियल सोलुसन्सका प्रिन्सिपल डाइरेक्टर मिन दर्लामी, मोर्गेज तथा प्रोटेक्सन एड्भाइजर रमेश सराङकोटी, अफिस म्यानेजर कुमार गुरुङ, बिजनेस डेभलपमेन्ट म्यानेजर किशोर राना, एसएनपी प्लसका निर्देशक तथा ट्याक्स एड्भायजर समिरनाथ प्याकुरेल लगायतले एकमुष्ट रुपमा क्रिसमस र नयां वर्षको शुभकामना व्यक्त गरेका थिए ।

तस्विर : केके मुभिज, शिव भण्डारी