६ बैशाख २०८१, बिहीबार
Follow Us

तीन कम्पनीको शेयर मूल्य समायोजन

नेपालब्रिटेन संवाददाता
१० पुष २०७५, मंगलवार ०७:५०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा आज तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टकका अनुसार आज शेयर मूल्य समायोजन भएका कम्पनीमा एनएमबी बैंक, स्वावलम्बन विकास बैंक र मिर्मिरे माइक्रोफाइनान्स रहेका छन् । आर्थिक वर्ष २०७४-७५ को नाफाबाट शेयरधनीलाई दिने शेयर लाभांश र नगद लाभांशपछि ती कम्पनीले शेयर मूल्य समायोजन गरेका हुन् ।

स्टकका अनुसार एनएमबी बैंकले दश प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेअनुसार नै प्रतिकित्ता रु ३५१ मा शेयरमूल्य समायोजन गरेको हो । बैंकको औसत आधारमूल्य रु ३७२ रहेको छ । यस्तै स्वावलम्बन विकास बैंकको २५ प्रतिशत शेयर लाभांशपश्चात् प्रतिकित्ता रु ८८६ मा शेयर मूल्य समायोजन भएको छ । स्टकले सो बैंकको औसत आधार मूल्य रु एक हजार ८० कायम गरेको छ । मिर्मिरे लघुवित्तले पनि २४ प्रतिशत शेयर लाभांश दिने निर्णयसँगै आज शेयर मूल्य समायोजन गरेको छ । सो संस्थाको प्रतिकित्ता रु ९६९ मा रहने गरी शेयर मूल्य समायोजन गरेको हो । सो लघुवित्तको औसत आधार मूल्य रु एक हजार ४४४ रहेको छ ।

नेपाल हाइड्रोडेभलपर लिमिटेडले आफ्ना शेयरधनीलाई चार प्रतिशत शेयर लाभांश दिने भएको छ । कम्पनीले शेयर लाभांशमा लाग्ने कर प्रयोजनका लागि सामान्य नगद लाभांशको प्रस्ताव गरेको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०७४-७५ को नाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । सो लाभांश कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ । सो आवमा कम्पनीले रु एक करोड ९७ लाख ७७ हजार नाफा गरेको थियो ।