१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रेम प्रस्ताव प्रशस्त आए, दलितसँगै विवाह गर्छु

नेपालब्रिटेन संवाददाता
११ पुष २०७५, बुधबार ११:२५

सीता मिजार, केन्द्रीय सदस्य, नेपाल दलित संघ

नेपाल दलित संघकी केन्द्रीय सदस्य सीता मिजार पार्टीमा आरक्षण विडम्बना भएको बताउँछिन् । बढीमा दुईपटक अवसर पाएपछि मूलधारको राजनीतिमा होमिन यही आरक्षण अवरोध बन्ने गरेको बुझाई सीताको छ । उनलाई पार्टीले दुईपटक समानुपातिक सांसदको उम्मेदवार बनाएको थियो, तर सांसद बनाइएन । पार्टीमा दलितको अवस्था, उनको निजी राजनीतिक जीवन र आगामी राजनीतिक बाटोबारे सीतासँग कुमार राउतले गरेको कुराकानी ः

० जातीय संगठनबाट राजनीति गर्न सजिलो छ, हो ?
– पार्टीलाई आवश्यकता भएर नै संघ स्थापना भएको हो । हामीले संघमा राजनीति गर्नुभन्दा पनि पार्टीमा दलित समुदायको आकर्षण महत्वपूर्ण हो ।

० पार्टीमा प्रतिनिधित्व पाउन सजिलो होला नि ?
– सजिलोभन्दा पनि जिम्मेवारी बहन गर्नु महत्वपूर्ण हो । प्रतिनिधित्व सहजै भइहाल्छ, तर प्रतिनिधित्व हुनु मात्र ठूलो कुरा रहेन, दलित समुदायलाई पार्टीप्रति आकर्षण बढाउने जिम्मेवारी पनि त्यत्तिकै गहन छ ।

० संघमा पद सधैं ओगट्ने प्रवृत्ति छ नि ?
– त्यस्तो छैन, नेतृत्वमा कहिले पनि एकै व्यक्ति बसेका छैनन् । समय परिस्थितिअनुसार विधान परिमार्जन हुनुपर्ने हो, त्यो हुन नसकेको चाहिँ पक्कै हो ।

० के हुनुपर्ने थियो ?
– एउटा पदमा दुईपटकभन्दा बढी समय बस्न नपाउने व्यवस्था विधानमा गरियो भने नयाँ पुस्ताले अवसर पाउने थिए । यदि यस्तो व्यवस्था भए संघ मात्र होइन, आयोगलगायत अन्य विभिन्न क्षेत्रमा सबैले समान अवसर पाउने थिए । तर आरक्षणका नाममा पार्टीले नै हामीलाई दलित बनाइदिन्छ ।

० कसरी ?
– संघबाट एक वा दुईपटक अवसर पाएपछि म खुल्लाबाट प्रतिस्पर्धा गर्न योग्य भइसकेको हुन्छु । तर मलाई खुःलाबाट प्रतिस्पर्धा गर्न दिइँदैन । कोटाबाट लड भन्छन् ।

० जस्तो ?
– १३औं महाधिवेशनमा म खुल्ला महिलाबाट महासमितिमा फाइट गर्नेवाला थिएँ, तर दिइएन । दलित कोटामै सीमित गरियो । अन्ततः म दलितमै सीमित भएँ ।

० विद्रोह गर्न सक्नुभएन ?
– पार्टीको आन्तरिक प्रतिस्पर्धा हो, विद्रोह गर्नुभन्दा अग्रजको सल्लाह सुझावबाटै अघि बढ्न बुद्धिमानी सम्झें ।

० आरक्षण पनि विडम्बना पो रहेछ ?
– यसलाई विडम्बना नै भन्नुपर्छ । जति नै क्षमता वा दक्ष भए पनि अन्ततः हामीलाई आरक्षणमै धकेलिन्छ । मूलधारको राजनीतिबाट बाहिर राखिन्छ ।

० खुला प्रतिस्पर्धाबाट को दलित नेता बनेका छन् ?
– पहिलो कुरो त पार्टीले नै दलित नेतालाई दलितमै सीमित गर्न खोज्छ । केही माथि उठेका नेताहरूले खुल्लाबाट प्रतिस्पर्धा गर्ने हो भने नयाँ पुस्ताका लागि मार्गप्रशस्त हुन्छ । मार्गप्रशस्त भएपछि मात्र नेता जन्मिछन्, नयाँलाई आउन सहज हुन्छ ।

० खुल्लामा प्रतिस्पर्धा गर्न सकिन्छ ?
– पार्टीले चाहेको पदमा लड्न पाउनुपर्छ, जित्ने हार्ने कुरा आफूमा निर्भर रहन्छ । आरक्षणले कमजोर व्यक्तिलाई मात्र ठाउँ दिन्छ ।

० पदमा त सीमित व्यक्ति मात्र देखिन्छन् नि ?
– त्यस्तो लाग्दैन, सबै क्षेत्रबाट समेटिएका छन् भन्ने मलाई लाग्छ ।

० महासमिति बैठकबारे तपाईंको टिप्पणी ?
– महासमिति बैठक चार वर्षमा एकपटक गरिन्छ, जसले गर्दा पार्टीको आन्तरिक विषयमा राम्रोसँग छलफल हुन पाउँदैन । यो महासमिति बैठक वर्षमा एकपटक हुने व्यवस्था गर्नुपर्छ । वर्षमा एकपटक समीक्षा भयो भने संगठन मजबुत हुन्छ ।

० एउटा बैठक त भाँडभैलोजस्तो देखियो ?
– लामो समयपछि बैठक बोलाउँदा हुने यस्तै हो । विवादहरू थाती रहेका थिए, त्यसलाई परिमार्जन गर्नुपर्ने थियो । यसपटक विधान नै परिमार्जन गर्नुपर्ने भएकाले पनि केही विवाद देखिएको हो । आन्तरिक छलफलले पार्टी बलियो हुन्छ ।

० पदाधिकारी थप्ने विषयमा नि ?
– अग्रज नेतृत्वले तयार गरेको विधान हो, यसलाई नराम्रो भन्न सकिँदैन । यद्यपि यसको सबैभन्दा राम्रो पक्ष भनेको सबै पदाधिकारी निर्वाचित हुनु हो । यसले नेतामुखीभन्दा पनि पार्टीप्रति समर्पित व्यक्तिलाई नेतृत्वमा पु¥याउँछ ।

० के छुटाएजस्तो लाग्यो ?
– उमेरको समयसीमा पनि तोकिनुपथ्र्यो । ६५ वर्ष उमेर पुगेका नेताहरू सल्लाहकारको भूमिकामा बसेर युवा नेतृत्वलाई अघि सार्नुपथ्र्यो । विधानमा यो व्यवस्था भएको भए नेपाली कांग्रेसमा नयाँ ऊर्जा सञ्चार हुन्थ्यो ।

० कांग्रेसमा यस्ता कुरा सम्भव हुन्छ ?
– राजनीतिमा असम्भव भन्ने केही हुँदैन । पार्टी नेपाली जनताको लोकप्रिय राजनीतिक दल बनाउने हो भने पाका नेताको सल्लाहमा युवालाई मैदानमा पठाउनुपर्छ ।

० कांग्रेससँग कसरी जोडिनुभयो ?
– मामाघरको सम्पत्ति पाउन आमालाई पञ्चायतकालमा कांग्रेसले सहयोग गरेको रहेछ । त्यही पृष्ठभूमिमा म नेपाली कांगे्रससँग जोडिन पुगें । त्यसपछि विद्यार्थी हुँदै अहिले नेपाली कांग्रेसको भ्रातृसंस्थासँग आबद्ध छु ।

० विद्यार्थी राजनीतिमा स्थान पाउनुभएन ?
– स्थान नपाउने भन्ने कुरै हुँदैन । तर मैले दलितको इस्युमा बोल्नुपर्छ भन्ने लाग्यो । त्यसैले विद्यार्थीभन्दा पनि दलित संघको राजनीतिमा नजिक भएँ ।

० के–के जिम्मेवारी सम्हाल्नुभयो ?
– पिकेमा स्ववियु एकाइ सचिव, नुवाकोट जिल्ला सदस्य, क्षेत्रीय सदस्य भएर काम गरें । त्योभन्दा महत्वपूर्ण पार्टीका तत्कालीन सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सचिवालयमा बसेर काम गरेको अनुभव छ ।

० राजनीति गर्ने सजिलै पाइयो ?
– सुरुका दिनमा धेरै अप्ठ्यारो भयो, समुदायका हिसाबले अब यो सड्ने भई भन्थे, तर अहिले राजनीति गर्न अवरोध भएको छैन ।

० कस्तो परिवार हो ?
– हाम्रो मध्यम परिवार हो, तीन दाजुभाइ र पाँच दिदीबहिनी हौं, म चाहिँ काइली हुँ । दिदीहरूले पढ्न पाउनुभएन, तर मलाई दाजुहरूले पढाउनुभयो । राजनीतिशास्त्रमा डिग्री सकेर अहिले एलएलबी पढ्दैछु ।

० अहिले चाहिँ के भन्छन् ?
– राम्रो भन्ने जमात अझ आउन बाँकी छ । भाषण चाहिँ राम्रो गर्छे भन्नेहरू चाहिँ भए ।

० विवाह गर्नुभयो ?
– छैन ।

० बेला नभएर हो ?
– त्यस्तो होइन, पहिला बाटो क्लियर गरेपछि विवाह गर्ने सोच बनाएकी छु । बाटो लगभग क्लियर भयो, अब विवाह गर्छु होला ।

० रिलेसनमा हुनुहुन्छ ?
– छैन, विवाहका लागि बाटो क्लियर भयो, पोजिसन स्पष्ट छ, प्रस्ताव आए विवाह हुन्छ ।

० कसले रोक्यो बाटो ?
– राजनीतिमा संलग्न छु । बीचमैमा विवाह भयो भने मेरो राजनीतिक यात्रा रोकिन्छ भन्ने डर थियो । दुईपटक सांसदको उम्मेदवार बने, मेरो राजनीतिले एउटा मोड लिइसक्यो, अब कसैले रोक्न सक्दैन भन्ने लाग्छ ।

० प्रेम प्रस्ताव आएनन् ?
– प्रशस्त आए, आफ्नै समुदायमा विवाह गर्छु भन्ने अडानमा छु ।

० के प्रस्ताव लिएर आउँछन् ?
– राजनीति बुझेको मान्छेसँग विवाह गर्नुहोस् भन्छन् । म उहाँहरूको कुरा पनि बुझ्छु ।

० कस्तो प्रस्ताव स्वीकार्य हुन्छ ?
– दृष्टिकोण स्पष्ट हुनुपर्छ, योग्य र मेहनती भए पुग्छ ।