७ बैशाख २०८१, शुक्रबार
Follow Us

घटनास्थलमा बिलौना गर्दै घिमिरेका आफन्त

नेपालब्रिटेन डट कम्
११ आश्विन २०७३, मंगलवार ०५:४७

चितवन । कर्मचारी वृत्तमा निकै परिचित र दोस्रो संविधानसभाको निर्वाचन गराउन सफल हुनुको मुख्य श्रेय पाएकै कारण धेरैको प्रिय बन्नुभएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे आफ्ना दुई भाइसहित आइतबार साँझदेखि त्रिशूली नदीमा बेपत्ता हुनुहुन्छ ।

आइतबार साँझ अबेर उहाँ चढेको गाडी त्रिशूली नदीमा खसेर उहाँहरु वेपत्ता भएदेखि नै कुरिनटारको घोप्टेभिरमा उहाँहरुको अवस्था बुझ्न आउनेको भीडभाड छ । सोमबार बिहान सबेरैदेखि घिमिरेका इष्टमित्र, आफन्त हुँदै नेपाल सरकारका उच्च पदस्थ कर्मचारी समेत घटनास्थल आइपुगेका थिए । चितवन र छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका जिल्लास्थित प्रमुख पनि घोप्टेभिर पुगेर उहाँको खोजीका लागि सहयोग गरिरहेका छन् ।

सोमबार बिहान घटनास्थल घोप्टेभिरमा बिलौना गरिरहनुभएकी दीपा आचार्य घिमिरेसँगै मुक्तिनाथ यात्राको एक जना सहयात्री हुनुहुन्छ । दीपाका बुबाका मामाको छोरा (ठूलोबुबा) घिमिरे परिवारसँगै आचार्य पनि असोज ५ गते काठमाडौँबाट मुक्तिनाथ यात्रामा जानुभएको थियो ।
आचार्यले भन्नुभयो “बिहान ७ बजे हामी काठमाडौँबाट हिँडेका थियौँ । गाडीमा माधवप्रसाद घिमिरे, उहाँका आफ्नै भाइ प्रकाश, काकाको छोरा मोहन, नाताले काका पर्ने नारायणप्रसाद काफ्ले र चालकसहित दुई सुरक्षाकर्मी टोलीमा रहेका थिए ।” असोज ५ गते राति बेनीमा बास बसी यात्रा तय गरेको बताउँदै आचार्यले भन्नुभयो “ असोज ६ गते जोमसोममा बसियो । असोज ७ गते त्यहीँबाट कागबेनीमा गएर श्राद्ध गरी साँझ फेरि जोमसोममा नै बसियो ।” उहाँले अगाडि भन्नुभयो “ असोज ८ गते बिहान जोमसोमबाट हिँडियो, म बेनीमा झरेँ, उहाँहरु बागलुङकालिका दर्शन गरी पोखरा गएर बस्नुभयो । असोज ७ गते घिमिरेले र असोज ८ गते काफ्लेले श्राद्ध गर्नुभएको थियो । आचार्यका पिता यादव आचार्य म्याग्दी जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ ।

असोज ९ गते बिहान निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटसँगै बिहानको खाना खाएर उहाँहरु हिँड्नुभएको हो ।

घटनास्थलमा आइपुग्नु भएका रानाभाटले भन्नुभयो “हामीसँगै लेकसाइडको मोनालिसा रेस्टुराँमा खाना खाएर बिहान ११ः१५ बजे उहाँहरु पोखराबाट हिँड्नु भएको हो ।” उहाँहरुले दिउँसो विमलनगरमा चियाखाजा खाएको समेत रानाभाटले बताउनुभयो । दिउँसो २ः३० बजे फोन गर्दा उहाँहरु विमलनगर भएको बताउँदै रानाभाटले यो घटना सुन्दा आफूलाई सपना जस्तो लागेको बताउनुभयो ।

घटनास्थलमा निकै दुखित देखिनु भएका यादव आचार्य मुक्तिनाथ यात्रा क्रममा उहाँहरुसँगै हुनुहुन्थ्यो । आचार्य माधव घिमिरेका फूपूका छोरा भाइ हुनुहुन्छ । “साँझ ५ बजे मैले दाइलाई फोन गरेँ, धेरैबेरपछि सुरक्षाकर्मीले फोन उठाए, हामी आत्तिएर आइपुग्यौँ । अहिले पनि घटना सपना जस्तै लाग्छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार माधव घिमिरे र भाइ प्रकाश वनस्थलीमा बस्नुहुन्छ । अन्दाजी ४८ वर्षीय प्रकाश खेलकुद परिषद्का कर्मचारी हुनुहुन्छ ।

त्यस्तै, काकाका छोरा अन्दाजी ५० वर्षीय मोहन पनि वनस्थलीमै बस्नुहुन्छ । उहाँ नेपाल टेलिकमका कर्मचारी भएको आचार्यले बताउनुभयो । अन्दाजी ६५ वर्षीय नारायण काफ्ले राष्ट्रिय वाणिज्य बैंकका निवृत्त कर्मचारी हुनुहुन्छ । उहाँको बसाइ कात्यायनी, बानेश्वरमा छ । प्रहरी नायब निरीक्षक रामचन्द्र कार्की सिन्धुलीका हुनुहुन्छ ।

आचार्यका अनुसार पूर्व गृहमन्त्री एवम् मुख्यसचिव घिमिरेकी श्रीमती कमला र बुहारी आकांक्षा काठमाडौँकै घरमा हुनुहुन्छ भने छोरा सुशान्त अस्ट्रेलियाबाट आउँदै हुनुहुन्छ । छोरी सृष्टि पाल्पा मेडिकल कलेजमा चौथो वर्षमा अध्ययनरत हुनुहुन्छ ।

घटनास्थलमै भेटिनुभएका घिमिरेका काकाका छोरा धनेन्द्र घिमिरेले घटनास्थल निरीक्षण गर्न आउनुभएका मन्त्री रमेश लेखकसँग यही ढङ्गबाट खोजी गर्दा पत्ता लाग्न नसक्ने भन्दै थप स्रोत र साधनको प्रयोग गर्न आग्रह गर्नुभयो ।

पानीभित्र पसेर बेपत्ताको खोजी गर्नसक्ने अत्याधुनिक उपकरण हुनसके उहाँहरुलाई पत्ता लगाउन सकिने घिमिरेले बताउनुभएको थियो । सो क्रममा मन्त्री लेखकले यस विषयमा प्रधानमन्त्रीसँग तत्काल टेलिफोन सम्पर्क गरी खोजी कार्यलाई थप प्रभावकारी बनाउने आश्वासन दिनुभएको थियो । त्यसलगत्तै उहाँले प्रधानमन्त्रीलाई फोन समेत गर्नुभएको थियो ।

घटनास्थलमा उहाँको गृहजिल्ला पाल्पासहित देशभर छरिएर रहेका आफन्त कुरिनटार आइपुगेका छन् भने उहाँकै समयदेखि सरकारी सेवामा रहेका पनि आउनेक्रम जारी छ । घटनास्थलमा उहाँको झोला र मोबाइल फेला परेको छ । घिमिरेका तीनभाइ नदीमा बेपत्ता हुनुहुन्छ भने आमा, काका काफ्ले, सशस्त्र प्रहरीका नायब निरीक्षक कार्कीको मृत्यु भएको छ । चालक नेपाल प्रहरीको हवल्दार विष्णु राई घाइते हुनुहुन्छ ।