१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनए अफ्रिका बैठकको तयारी पूरा

नेपालब्रिटेन डट कम्
१२ पुष २०७५, बिहीबार १४:५०

युगान्डाको राजधानी सहर कम्पाला सहरमा हुने गैरआवासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठकको तयारी पूरा भएको छ।

आयोजक राष्ट्र एनआरएनए एनसिसी युगान्डाका अध्यक्ष राजमणि भण्डारीकाअनुसार डिसेम्बर २९-३० मा सम्पन्न हुने कार्यक्रमको प्रारम्भिक तयारी पूरा भएको हो।

बैठक कम्पाला सहरको आकासिया मलमा रहेको सभाकक्षमा सम्पन्न हुनेछ। सहभागीहरुलाई इम्पेरियल होटेलमा आवास ब्यबस्था गरिएको छ। उद्घाटन युगान्डा सरकारका राष्ट्रपति कार्यालय हेर्ने मन्त्री इस्थर बुलाकुबुजा बायोले गर्ने र बन्द सत्रमा समेत युगान्डा सरकारका पर्यटन राज्यमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबाट युगान्डाको आर्थिक विकास, उद्योग, पर्यटन र नेपालसँग साझेदारीका सम्भावनाबारे कार्यपत्रहरु प्रस्तुत हुने कार्यक्रम रहेकाे अध्यक्ष भण्डारीले जानकारी दिए।

कार्यक्रममा गैरआवासीय नेपाली बिज्ञहरुले अफ्रिका क्षेत्रका ठूला विकास निर्माणका परियोजनामा हाँसिल गरेकाे अनुभव सुनाउनेछन्। बैठकमा नेपालमा प्रविधि र लगानीका साझेदारी र अनुभव साटन सकिने विषय माथि समेत छलफल गर्ने तयारी गरिएको छ।

अफ्रिकामा नेपाली कामदारहरुले भोग्नु परेका समस्या, श्रम स्वीकृति र पासपोर्ट नविकरण, दलालहरुद्वारा मुजुराका लागि लैजाने नेपाली चेलीबेटीका ब्यथाबारे समेत छलफल हुनेछ। बैठकमा कायरोस्थित नेपाली दुतावासका राजदुत झबिन्द्र अर्याल तथा संघका अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछानेसहित पदाधिकारीहरुको उपस्थिति रहनेछ। मुल कार्यक्रम बाहेक नेपाली, युगान्डियन र अफ्रिकिन सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत हुने र नेपाली साहित्य गोष्ठीको पनि आयोजना गरिने भएको छ।