१६ चैत्र २०८०, शुक्रबार
Follow Us

काठमाडौंको तापक्रम अहिलेसम्मकै न्युन विन्दुमा

नेपालब्रिटेन संवाददाता
१३ पुष २०७५, शुक्रबार ०४:३४

काठमाडौं । काठमाडौंको तापक्रम अहिलेसम्म यस वर्षकै सबैभन्दा न्युन विन्दुमा झरेको छ । आज बिहान मापन भएको काठमाडौंको तापक्रम १ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार यो अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको भएको हो । गत बुधबार काठमाडौंको न्युनतम तापक्रम १ दशमलब ५ डिग्री सेल्सियस रहेको थियो । हिजो तापक्रम बढेर न्युनतम ५ दशमलब ५ डिग्री सेल्सियस पुगेको थियो । आज फेरि तापक्रम घटेको हो ।

आज काठमाडौंको अधिकतम तापक्रम भने १५ डिग्रीसम्म पुग्‍ने अनुमान गरिएको छ । फेरि शनिबार काठमाडौंको तापक्रम न्युनतम माइनस २ डिग्रीसम्म झर्ने अनुमान गरिएको छ । काठमाडौँमा हावाको दिशा परिवर्तन हुँदा तापक्रम घट्दै गएको बताइएको छ । केही वर्षअघिसम्म पश्चिम दिशाको हावा मात्रै उपत्यकामा प्रवेश हुने गरेकोमा अहिले उत्तररपश्चिमी दिशा भएर हावा बहने गरेको छ । उत्तरतिरको हिमाल छोएर आउने हावामा चिसोको मात्रा बढी हुने मौसमविद् बताउँछन्।

यसैगरी हुम्लामा हिमपात भएपछि शुक्रबार बिहान सिमिकोटको तापक्रम माइनस १३ डिग्री सेल्सियसमा झरेको छ । दिपायलको तापक्रम १ दशमलव ८ डिग्री मापन गरिएको छ भने डडेल्धुराको तापक्रम माइनस १ दशमलव ३ डिग्री रहेको छ । यसगरी दोलखा जिरीको तापक्रमा माइनस २ दशमलव ५ डिग्री मापन गरिएको छ । आज देशका उच्च हिमाली भेगतिर हल्का हिमपात हुने सम्भावना रहेको छ भने पहाडी भुभागहरुमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

चिसो बढेका कारण राजधानी काठमाडौं उपत्यकामा रुघा(खोकीका बिरामी पनि केही दिन यता बढेको अस्पतालको तथ्यांकले देखाएको छ । चिसो बढेसँगै बिहान तथा बेलुका सडकमा सवारी साधन तथा पैदल यात्रुको चाप कम हुन थालेको छ ।