१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रस्तावित प्रधानन्यायाधीश जवराको संसदीय सुनुवाइ आइतबार

नेपालब्रिटेन संवाददाता
१३ पुष २०७५, शुक्रबार ११:१९

काठमाडौं । सङ्घीय संसद् मातहतको संसदीय सुनुवाइ समितिले आज प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रधानन्यायाधीश बनाउन हुन्न भनी उजुरी हाल्ने उजुरीकर्तासँग छलफल गरेको छ ।

नौ जना उजुरीकर्तालाई आ–आफ्नो उजुरीको पुष्टि गर्न समितिले बैठकमा बोलाएर छलफल गरेको हो । संवैधानिक परिषद्ले सर्वाच्च अदालतमा तीन वर्ष सेवा अवधि पुगेको वरिष्ठतम् न्यायाधीशका रुपमा सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा जवराको प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।

समितिले सूचना प्रकाशित गरी यही पुस ११ गतेसम्म उहाँको नाममा उजुरीका लागि आह्वान गरेकामा नौ जनाले उजुरी दर्ता गराउनुभएको थियो ।

कार्य सम्पादनका क्रममा प्रस्तावित प्रधानन्यायाधीश राणाले संविधान, ऐन र नियमविपरीत व्यक्ति विशेषबाट प्रभावित भएर मुद्दाको निर्णय गरेको हुँदा यस्तो पात्र प्रधानन्यायाधीशजस्तो गरिमामय पदमा नियुक्त गर्नु उपयुक्त नहुने उजुरीकर्ताले बैठकमा तर्क प्रस्तुत गर्नुभएको थियो ।

उजुरीकर्तासँगको छलफलपछि समितिले प्रस्तावित प्रधानन्यायाधीश जवरालाई संसदीय सुनुवाइका लागि आगामी आइतबार २ बजे बोलाउने निर्णय गरेको छ ।

बैठकपछि समितिका सदस्य जीतेन्द्रनारायण देवले उजुरीकर्तासँग उजुरीको व्यहोरा, व्याख्या र थप जानकारी लिने काम सकिएपछि प्रस्तावित प्रधानन्यायाधीशलाई संसदीय सुनुवाइका लागि आगामी आइतबार बोलाउने निर्णय भएको जानकारी दिनुभयो ।