११ बैशाख २०८१, मंगलवार
Follow Us

गण्डकी प्रदेशका अर्थमन्त्री गुरुङ लण्डनमा

नेपालब्रिटेन डट कम्
१३ पुष २०७५, शुक्रबार १४:२१

लण्डन । गण्डकी प्रदेशका अर्थमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता किरण गुरुङ लण्डन आइपुगेका छन् । तमु धिं यूकेको आयोजनामा यहि डिसेम्बर ३० मा हुने ल्होसार कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन श्रीमतीसहित उनी बेलायत आएका हुन् ।

विहिबार राती लण्डनको हिथ्रो विमानस्थल उत्रिएका मन्त्री गुरुङलाई तमु धिं यूकेका नवनिर्वाचित अध्यक्ष नन्दजंग गुरुङ, पूर्व अध्यक्ष रामचन्द्र गुरुङ ‘सुर्जे’, उपाध्यक्षहरु हितकाजी गुरुङ र जुमकाजी गुरुङ, साउथ ईथ ईस्ट रिजनल तमु धिं लण्डनका नवनिर्वाचित उपाध्यक्ष ह्यारी गुरुङ, एनसिआई ग्रुप यूके अध्यक्ष मोहन गुरुङ, रोयल ग्रिनविच नेप्लिज सोसाइटी अध्यक्ष हरिगोविन्द गुरुङ लगायतले स्वागत गरे ।

लण्डनस्थित नेपाली दूतावासका उपप्रमुख शरदराज आरन र तृतीय सचिव तेजेन्द्र रेग्मी पनि मन्त्री गुरुङको स्वागतका लागि विमानस्थल पुगेका थिए ।

शुक्रबार तमु धिं भवन मिचेटमा एक कार्यक्रम गरी तमु धिं यूकेले मन्त्री गुरुङलाई बेलायतमा स्वागत गर्ने कार्यक्रम छ । शुक्रबार नै उनी तनहुं समाज युकेको एक कार्यक्रममा सहभागी हुंदैछन् ।

डिसेम्बर ३० तारिख रेडिङमा हुने तमु धिं यूकेको ल्होसारमा सहभागी हुन बेलायत आएका मन्त्री गुरुङ डिसेम्बर २९ मा साउथ ईस्ट रिजनल तमु धिं लण्डनको ल्होसारमा पनि प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन् ।

३० तारिख बिहान वुल्वीचमा रोयल ग्रिनवीच नेपाली कम्युनिटीले उनीसंग एक अन्तरक्रिया गर्दैछ । उनको दल नेकपानिकट बेलायतस्थित संगठनले जनवरी १ तारिखमा उनको सम्मान तथा अन्तरक्रिया कार्यक्रम गर्दैछ । मन्त्री गुरुङ जनवरी २ मा बेलायत भ्रमण पूरा गरी नेपाल फर्किने कार्यक्रम रहेको तमु धिं युकेले जनाएको छ ।