परिवारमा जसरी बाबुलाई अलग गर्न सकिन्न त्यसरी नै राष्ट्रले राष्ट्र निर्मातालाई बिर्सनु कृतघ्नता हुन्छ। जन्मदिने मातापिता कमी कमजोरिको वावुजुद पनि पुज्य हुन्छन। त्यसैले नेपालका राष्ट्र निर्माता पृथ्वी नारायण शाह पनि उनका बिभिन्न आलोच्य पक्षहरु हुँदाहुँदै पनि नेपालीहरुका लागि पुज्य हुनु पर्छ भन्ने मलाई लाग्दछ। एउटा हिन्दी उखानले भाई फुटे गँवार लुटे भने झैँ परिवारभित्र आगो लाउनु छ भने परिवारको बाबु प्रती सन्तानको घृणा उब्जनी गरे पुग्छ। त्यसपछी त मियो बिनाको दाईँ सुरु भई हाल्छ अनी बैरीहरुको रजाईँ चल्छ। पृथ्वी नारायण शाहलाई पनि अनादर गर्नु राष्ट्रघातक काम हो जस्तो मलाई लाग्छ। यसको अर्थ स्वस्थ आलोचना नै गर्न हुन्न भन्ने चाहिँ होइन। म आफ्ना माया गर्नेहरुलाई भन्ने गर्छु, कुनै पनि अवधारणा हँचुवाको भरमा नगर्नूहोस्, तथ्याँक र प्रमाणका आधारमा गर्नुहोस्। समयको अन्तरालले पृथ्वी नारायण शाह सम्बन्धी बिभिन्न प्रश्नहरु खडा भएका छन।

के उनी केवल साम्राज्यवादी थिए?
के उनिले विजेताको व्यवहार गरे?
लडाईंमा हार्ने जनता र भुभाग प्रती उनको दृष्‍टिकोण कस्तो रह्यो?
के उनको शासन प्रणाली क्रुर र निरँकुश थियो ?

यि प्रश्नहरु माथि अनुसन्धान हुनु पर्छ।

काठमान्डौ उपत्यका बिजय पहिला र पछीको पृथ्वी नारायण शाहमा तात्विक भिन्नता देखिन्छ। विजय पूर्व उनी योद्दा थिए भने पछी राजा। गोरखाका राजा हुन उनी तर नयाँ देशको नाम गोरखा नराखी नेपाल किन राखे? उपत्यका पूर्वका भुभागहरु जित्नमा कती रगतको खोलो बगेको थियो? उनको दरबारमा ककसको समाविसता थियो? आफ्नो राज्य र जनताको सुरक्षा गर्ने धर्म कतीको निर्वाह गरे? यसरी इमान्दारी साथ छातीमा हात राखेर भन्ने हो भने यो निष्कर्ष पुग्न सकिन्छ कि उनको सार्वजनिक अपमान गरिनुमा कुनै तुक छैन। मलाई लाग्छ, हामीले आफ्ना राष्ट्र निर्माता पृथ्वी नारायण प्रती अन्याय गरेका छौं। उहाँको अपमान होइन सम्मान हुनु पर्छ। पुर्खाको सम्मान नै हाम्रो सँस्कृतिको सम्मान हो, ईतिहासको सम्मान हो। तसर्थ पृथ्वी नारायण शाहको सम्मान राष्ट्रको सम्मान हो। हामीले ईतिहासलाई भुल्यौँ भने भविष्यले हामीलाई भुल्ने छ। तसर्थ आउँदै गरेको पौष २७ गते अथवा २०१९ जनवरी ११ पृथ्वी जयन्ती मनाउने हो कि? बहसको लागि बिषय पस्केको छु।

मणी नेपाली पनेरु

क्यालिफोर्निया, यु एस् ए