८ बैशाख २०८१, शनिबार
Follow Us

‘सबैले सम्मानजनक जीवन जिउने आधार तयार भएको छ’

नेपालब्रिटेन संवाददाता
१४ पुष २०७५, शनिबार १३:४६

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव बिष्णु पौडेलले मुलुकका सबै जाति, धर्म र भाषाभाषीले सम्मानजनक जीवन जिउने आधार तयार भएको बताउनुभएको छ । सबै जाति, भाषा, धर्म र संस्कृतिको उजागर गर्ने कार्यमा सरकार अगाडि बढेको बताउँदै उहाँले अब आर्थिक हिसाबले सबैको स्तर समान बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

तमु ल्होसारका अवसरमा तमु ह्युल छोंज धि गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा गर्दै नेता पौडेलले सरकार सबै प्रकारका विभेदको अन्त्य भएको समाज निर्माणको अभियानमा लागेको बताउनुभयो ।

“जनचाहना बाहिर सरकार रहन सक्दैन”, उहाँले भन्नुभयो, “कटौती गरिएका पर्व पुनःस्थापित गर्ने सम्बन्धमा पनि छलफल गर्छांै ।” जनतालाई लोकतान्त्रिक अधिकारयुक्त बनाएर सम्मानजनक जीवन जिउन पाउने आधार संविधानलेनै तय गरेको भन्दै उहाँले व्यवहारिक कार्यान्वयनमा लाग्न सबैलाइ आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले जनताको आर्थिकस्तर माथि उठाउने प्रयत्नमा सरकार लाग्नुपर्ने बताउनुभयो । जनताको आर्थिकस्तर बलियो नहुँदासम्म मुलुकले समृद्धि हासिल गर्न नसक्ने भन्दै उहाँले आयस्तर बढाउनेतर्फ सङ्घ, प्रदेश र स्थानीय सरकार लाग्नुपर्ने बताउनुभयो । काङ्ग्रेसका नगर सभापति खेलराज पाण्डेले सबैका पहिचानलाई राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै परिषद्का उपाध्यक्ष रामबहादुर गुरुङ, सचिव ओमप्रकाश गुरुङ लगायतले तमु ल्होसार पर्वको बिदा पुनः स्थापित गर्न माग गरेका थिए ।