११ बैशाख २०८१, मंगलवार
Follow Us

चाडपर्वको बिदा कटौती गर्दैमा देशमा समृद्धि आउँदैन : गगन थापा

नेपालब्रिटेन संवाददाता
१५ पुष २०७५, आईतवार १३:२२

चितवन । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले नेपालका सबै सांस्कृतिक चाडपर्वमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका छन् ।

आइतबार चितवनको भरतपुरमा तमु ल्होसारको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले नेपालका मौलिक संस्कृति संरक्षण गर्ने बेला आएको भन्दै सरकारले सार्वजनिक बिदा दिनुपर्ने बताए । उनले सरकारलाई प्रश्न गर्दै भने, ‘मौलिक सांस्कृतिक चाडपर्वमा बिदा नदिएर नेपालको समृद्धि रोकिएको हो ?’

थापाले सरकारको यस्तो गतिविधिले जनताको मन दुख्ने र देशमा थप मुठभेडको अवस्था सिर्जना हुन सक्नेतर्फ सचेत बन्नुपर्ने बताए । उनले तमु ल्होसारका अवसरमा गण्डकी प्रदेशले बिदा दिँदा प्रदेश ३ ले पनि बिदा दिनुपर्ने बताए ।

थापाले नेपालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालाबाट प्रारम्भ भएका सांस्कृतिक चाडहरुमा दिने बिदालाई पुनर्स्थापित गराउनै पर्ने बताए । उनले जनताले उठाएका आवाजलाई सरकारले बेवास्ता गरे संघर्षबाट भए पनि सरकारलाई दवाव दिनुपर्ने बताए ।

थापाले तमु ल्होसारको अवसरमा प्रधानमन्त्री केपी ओलीले समृद्धि र कांग्रेस सभापति शेरबहादुर देउवाले सद्भावलाई जोड दिएर शुभकामना दिएको प्रसंगमाथि टिप्पणी गर्दै भने, ‘मन दुखाएर समृद्धि आउँदैन, जनताले अधिकार प्राप्त गरेको महसुस गरेमा मात्रै शान्ति र सद्भाव हुन्छ ।’

तमु ह्योल छोजधि गुरुङ राष्ट्रिय परिषद् चितवनको आयोजनामा भएको कार्यक्रममा प्रदेश सांसदहरु विजय सुवेदी, मिलनबाबु श्रेष्ठ, रिना गुरुङलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा ३ जना विद्यार्थीलाई पुरस्कृतसमेत गरिएको थियो ।