४ बैशाख २०८१, मंगलवार
Follow Us

सरकारको औचित्य समाप्त : देउवा

नेपालब्रिटेन संवाददाता
१६ पुष २०७५, सोमबार १०:५२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले एकता र मेलमिलाप नरुचाएको आरोप लगाएका छन् । ४३औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले वर्तमान सरकार मेलमिलापलाई लत्याएर एकलौटीरुपमा हिँड्न चाहेको बताए । बीपी कोइरालाको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ थियो ।

एकलौटी हिँडेर गन्तव्यमा पुग्न कठिन हुने भन्दै देउवाले ढिलो–चाँडो वर्तमान सरकार मेलमिलाप र एकतामा आउने विश्वास व्यक्त गरे । उनले कांग्रेसले प्रजातन्त्रका लागि कसैसँग सम्झौता नगर्ने पनि बताए । सरकारले जनचाहनाअनुसार काम गर्न नसकेकाले वर्तमान सरकारको औचित्य समाप्त भएको उनको भनाइ थियो ।

देउवाले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याराको संरक्षण सरकारले गरेको आरोपसमेत लगाए । कांग्रेस नेता नरहरि आर्चाय र गगन थापाले मेलमिलापबाटमात्र समृद्धि सम्भव हुने बताए । बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिबाट नेपालका राजनीतिक पार्टीले पाठ सिक्नुपर्ने उनीहरुको भनाइ थियो ।