१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेकपाः दश दिनभित्र प्रतिवेदन तयार पार्न निर्देशन

नेपालब्रिटेन संवाददाता
१६ पुष २०७५, सोमबार १३:५७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गठन गरेको कार्यदलले आगामी दश दिनभित्र एकता प्रक्रियामा बाँकी रहेका काम टुङग्याउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता प्रक्रियामा बाँकी रहेका काम टुङग्याउने गरी प्रतिवेदन दिन कार्यदललाई संयुक्त रुपमा निर्देशन दिनुभयो ।

कार्यदलले केन्द्रीय सदस्यको जिम्मेवारी, जिल्ला कमिटीका अध्यक्ष एवम् सचिवको चयन, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार समिति र जनवर्गीय सङ्गठनको एकताका विषयमा सुझाव दिनेछ । यस्तै प्रदेश कमिटी गठन गर्दा देखिएका केही असन्तुष्टिलाई समेत सम्बोधन गर्न कार्यदललाई जिम्मा दिइएको छ ।

नेकपाको हालै सम्पन्न स्थायी समितिको बैठकले एकता प्रक्रियामा बाँकी रहेका काम टुङ्ग्याउन कार्यदल बनाउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा महासचिव विष्णुप्रसाद पौडेल, सचिवालय सदस्य रामबहादुर थापा तथा स्थायी समिति सदस्य शङ्कर पोखरेल, योगेश भट्टराई, वर्षमान पुन, वेदुराम भुसाल, रघुवीर महासेठ, सुरेन्द्रप्रसाद पाण्डे र लेखराज भट्ट सदस्य रहेको कार्यदल गठन गरिएको थियो ।

कार्यदलले आवश्यक परामर्श गरी प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनका आधारमा एकता प्रक्रियामा बाँकी रहेका कामलाई टुङ्गो लगाउने छ । कार्यदलका एक सदस्यका अनुसार सङ्गठनात्मक एकतासम्बन्धी विषयलाई कार्यदलले समग्र प्रस्ताव तयार पारी बुझाउनेछ ।

यस्तै पार्टीको विधानमा बाझिएका केही विषयमा समेत कार्यदलले सुझाव दिनेछ । यस्तै पार्टीको तल्ला तहसम्मको एकताका विषयमा समेत प्रस्ताव तयार पार्न अध्यक्षद्वयले निर्देशन दिएको कार्यदलका एक सदस्यले जानकारी दिनुभयो ।