१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘गाली गरेको बदला लिन हत्या’, बाबु–छोरा पक्राउ

नेपालब्रिटेन संवाददाता
१६ पुष २०७५, सोमबार १४:०१

पोखरा । कास्की प्रहरीले पर्वतका ७३ वर्षीय दिलबहादुर सार्कीको हत्यामा संलग्न कास्कीका तीनजनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका क्ल्युका ३१ वर्षीय बुद्धिमान सार्की, उनका ६० वर्षीय बाबु निमबहादुर सार्की र ७२ वर्षीय माइलोबाबु लालसिं सार्कीलाई सार्वजनिक गरिएको हो ।

गएको पुस ८ गते साँझ तीनजना मिलेर दिलबहादुरको हत्या गरेको उनीहरुले स्वीकार गरेको प्रहरीले जनाएको छ । गाली गरेको बदला लिन हत्या गरेको उनीहरुले बताएको प्रहरीको भनाइ छ । एक साताअघि अन्नपूर्ण गाउँपालिका–१०, खुम्ब्रुखुस्थित मोदीखोलामा एक शव भेटिएको थियो । मृत शरीरभरि चोटैचोट थियो ।

प्रहरीले अनुसन्धानकाक्रममा उक्त शव पर्वतको मोदी गाउँपालिका–२, देउपुर स्थायी घर भएका ७३ वर्षीय दिलबहादुर सार्कीको रहेको पत्ता लगायो । त्यसपछि प्रहरीले तीन अभियुक्तहरुलाई पक्राउ गरेको हो ।