७ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतको पीआर त्यागेर नेपाल आएँ

नेपालब्रिटेन संवाददाता
१६ पुष २०७५, सोमबार १४:२९

डा. ओजश्वी आचार्य, पोषण विज्ञ
दक्ष जनशक्ति अभावमा कुनै पनि देशले समृद्धि हासिल गर्न सक्दैन । प्रतिभा पलायन अहिले नेपालकै प्रमुख समस्या बनेको छ । तर, केही युवा भने विदेशमा उच्च शिक्षा र सीप सिकेर स्वदेश फर्किएका छन् । तिनैमध्येकी एक हुन् ओजश्वी आचार्य । उनी विदेशबाट अध्ययन र अनुभव हासिल गरेर नेपालमै केही गरौं भनेर लागिपरेकी छन् । बेलायतबाट पोषण विज्ञान विषयमा उच्च शिक्षा हासिल गरेपछि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत् विभिन्न देशमा काम गरेकी ओजश्वी अहिले युवा समुदायलाई सिर्जनशील उद्यमी बनाउन लागेकी छन् । यिनै विषयमा आचार्यसँग कुमार राउतले गरेको कुराकानी :

० आफूलाई चिनाउन पिता वा पतिको नाम भनिराख्नुपर्छ ?
– पर्दैन, मेरो आफ्नै परिचय छ । जनस्वास्थ्यको पोषणमा विशेषज्ञता हासिल गरेकी मेडिकल डाक्टर हुँ । सन् २००८ मा नेपालबाटै डाक्टर भएकी हुँ, त्यसभन्दा अगाडिको पढाइ लन्डनबाट गरेकी हुँ । अध्ययन सम्पन्न भएपछि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गरें । यो क्षेत्रमा पु¥याएको योगदानले नै मेरो परिचय दिन्छ ।

० पोषण नै किन रोज्नु भयो ?
– मसँग दुईवटा विकल्प थिए, एउटा सर्जन बन्ने वा अर्को पोषण रोज्नुपर्ने । मैले जनस्वास्थ्यमा पोषणलाई रोजे । किनभने यो विषय महत्वपूर्ण हुँदाहुँदै पनि धेरैले रोज्दैनन् । अहिले डाइटिसिनहरू भनेर अस्पतालमा देखिन्छन्, तर न्युट्रेसन रोजेर पढ्ने धेरै कम छन् । त्यसैले यो विषय नेपालमा धेरै आवश्यकता छ भन्ने लाग्यो ।

० नेपाल र नेपालीकै लागि यो विषय पढें भन्न खोज्नुभएको हो ?
– हो, अध्ययन सकेपछि केही समय बाहिर बसेर काम गरें, त्यसपछि नेपालमै फर्किएँ । मेरो विशेष रुचि बालबच्चाको पोषणमा छ । कुपोषणसम्बन्धी काम गर्ने विश्वव्यापी संस्था छ, ग्लोबल लिड एक्सन अन्डर हंगरसँग आबद्ध भएर नेपाल आएँ । यो फ्रेन्च संस्था हो । केही समयका लागि मात्र भनेर नेपाल आएकी थिएँ, सप्तरीबाट काम सुरु गरें ।

० डाक्टर बन्ने बाल्यकालकै सपना हो ?
– बच्चालाई के बन्छौं भनेर सोध्ने हाम्रो समाजमा चलन छ । मलाई सोध्दा म पनि डक्टर बन्छु भन्थें । १२ कक्षा पढ्दासमेत डाक्टर बन्ने योजना थिएन । पेन्टिङमा मेरो एकदमै रुचि थियो । माओवादी द्वन्द्वकालमा मैले तयार गरेको पेन्टिङ ३० वटा राष्ट्रप्रमुखलाई पठाएकी थिएँ । धेरै राष्ट्रप्रमुखले मलाई एप्रिएसेसन लेटर पठाउनुभएको थियो ।

० डाक्टरपट्टि पाइला कसरी अघि बढे ?
– १२ कक्षामा मैले कलेज टप गरें । टप गरिसकेपछि मेडिकल क्षेत्रमै जाउँ भन्ने लाग्यो । पेन्टिङको सौखलाई जसरी पनि अघि लैजान सकिन्छ भन्ने लाग्यो र मेडिकल अध्ययनका लागि भर्ना भएँ । समुदायमा बढी घुलमिल हुन मैले जनस्वास्थ्यलाई रोजे ।

० जनस्वास्थ्य भनेको के हो ?
– क्लिनिक डाक्टरले व्यक्ति जाँच्ने गर्दछ । रोग पत्ता लगाएर औषधि सिफारिस गर्छन् । जनस्वास्थ्यको डाक्टर व्यक्ति होइन, आमसमुदायमा पुगेर रोग लाग्नुभन्दा रोकथामपट्टि धेरै कुरा गर्छ । आममानिसमा रोग लाग्न नदिन रोकथाम गर्नुपर्छ भनेर जनस्वास्थ्य रोजेकी हुँ । जनस्वास्थ्यमा पनि विभिन्न विधा हुन्छन् । कोही अनुसन्धानतिर जान्छन् भने मैले चाहिँ पोषण विज्ञानलाई रोजें ।

० पेन्टिङको सौखलाई सँगै अघि बढाउनुभयो ?
– बढाइनँ, किनभने मेडिकल स्टुडेन्ट भएपछि अरुतिर सोच्ने समय हुँदो रहेनछ । मेडिकल अध्ययनमै समर्पित भएर अध्ययन गरें । जसले गर्दा राम्रो नम्बर ल्याएर मेडिकल अध्ययन पूरा गरें । एकेडेमिक र सिर्जनशीलतालाई सँगसँगै लैजाने प्रयास गरें । तर, अध्ययन सकिएपछि लन्डन गएँ ।

० थप अध्ययनका लागि लन्डन जानुभएको ?
– होइन, मेरो श्रीमान् पहिलेदेखि लन्डनमा हुनुहुन्थ्यो । चार वर्ष लन्डन बसे ।

० कोसँग विवाह गर्नुभयो ?
– श्रीमान्को नाम सुवास अधिकारी हो, उहाँ र मेरो भेट नेपालमै भएको हो । विवाहअघि नै हाम्रो चिनजान थियो, त्यही मौकामा घरमा कुरा राखियो, विवाह भयो ।

० चिनजानको माध्यम ?
– इन्टरनेटमा इन्ट्रेस्ट मिल्ने हाम्रो कमन साथीहरू धेरै थिए । उहाँ लन्डनबाट छुट्टीमा नेपाल आउनुभएको बेलामा प्रत्यक्ष चिनापर्ची भयो । चिनापर्ची भएको एक डेढ वर्षपछि हामीले विवाह ग¥यौं ।

० उहाँको के कुरा मन पराउनुभयो ?
– पहिलो कुरो त हाम्रो इन्ट्रेस्ट साझा थिए, जसले गर्दा हामी नजिकका साथी भइयो । उहाँ आर्किटेक्ट हुनुहुन्छ । विदेशमा गएर उहाँले आफ्नो पेसालाई जसरी अघि बढाउनुभयो, त्यो पे्ररणादायी थियो ।

० कुन कुन देशमा काम गर्नुभयो ?
– बेलायत, बंगलादेश, म्यानमार र नेपाललगायत विभिन्न ठाउँमा काम गरियो । दुई वर्षअघि हामीले बेलायतको पीआर त्यागेर नेपालमै बस्ने निर्णय गरेका छौं ।

० बेलायतीहरूले कसरी स्वास्थ्यसेवा पाउँछन् ?
– बेलायतमा स्वास्थ्य सेवा निःशुल्क हो, यो त्यहाँको सकारात्मक पक्ष हो । त्यहाँ विरामी भएर अस्पताल गइसकेपछि अरु समान सेवा पाइन्छ । स्वास्थ्य सेवामा यो संसारभरिकै नमुना हो ।

० धेरै राम्रो रहेछ ?
– नेपालमा हामीले जसरी सिनियर डाक्टरलाई भेट्न सक्छौं, त्यो बेलायतमा पाइँदैन । बेलायतमा पैसा तिरे पनि त्यहाँ सिनियर डाक्टरसँग सिधै भेट्न सक्दैनौं । स्टेप बाइ स्टेप जानुपर्छ । अप्रेसनका लागि महिनौसम्म कुर्नुपर्ने हुन्छ । किनभने निःशुल्क भएपछि सबैलाई अस्पतालले रोगको वर्गीकरण गरेपछि पालो आउँछ ।

० बेलायतमा पोषण डाक्टरको आवश्यक पर्छ ?
– अझ बढी पर्छ । किनभने कुपोषण मात्र होइन, बढी पोषणले पनि धेरै समस्या निम्त्याउँछ । खानामा सचेतना र वजन सन्तुलन राख्नुपर्छ । थाइराइड, सुगरका लागि डाइट प्लान हुन्छन् । संसारभरि समस्या फरक फरक किसिमको छ ।

० सुविधा सबै विदेशमा छ, नेपाल किन फर्किनुभो ?
– हामीले कहिले पनि असुविधा महसुस गरेका छैनौं । सुविधालाई मैले कहिले महत्व दिइनँ । हामी दुवैले नेपाल नै फर्किएर केही गर्नुपर्छ भन्ने इन्ट्रेस्ट थियो । विदेशमा हामीले शिक्षा र अनुभव लियौं, त्यही कुरा नेपालमा लागू गरौं भन्ने हाम्रो योजना पुरानै हो । जन्मभूमिलाई धेरै माया गर्ने भएकाले नै हामीले यो योजना बनाएका थियौं । यी सबै कुरालाई विश्लेषण गर्दा लन्डन किन छोडेछु भन्ने लाग्दैन ।

० के गर्नुभयो ?
– सानो उमेरमा मैले धेरै जिम्मेवारी सकुशल निर्वाह गरें । २८ वर्षको उमेरमा बंगलादेशमा रहेका रोहिङ्ग्या शरणार्थी क्याम्पको मैले नेतृत्व गरिरहेकी थिएँ । यी सबै अवसर थिए, त्यसका लाग मैले धेरै मेहनत गरें । अनुभवलाई अघि लैजान म आफैले केही गर्नुपर्छ भन्ने लाग्यो । युवालाई उद्यमशील बनाउने मोडलमा काम गर्दैछु । तत्काल मैले फर अर्गनाइजेसन डेभलपमेन्ट रिर्सच एन्ड टेक्नोलोजी ‘फोर्ट’ नामको कम्पनी दर्ता गरेको छु ।

० के गर्छ यसले ?
– हामीकहाँ अवसर धेरै छन्, नीति र नेता धेरै छन्, तर उद्यमशीलता छैन । उद्यमशीलता बन्न पे्ररित गर्ने पार्ट हामीले छुटाइरहेका छौं, युवालाई अनुसन्धानसँगै उद्यमशीलतालाई व्यावसायिक बनाउन इच्छाशक्तिले काम गर्छ ।