१४ बैशाख २०८१, शुक्रबार
Follow Us

साउथ ईस्ट तमु धिं लण्डनमा फो ल्होछार

नेपालब्रिटेन डट कम्
१६ पुष २०७५, सोमबार १५:२८

लण्डन । साउथ ईस्ट रिजनल तमु धिं लण्डनमा शनिबार विविध कार्यक्रमहरुसहित तमुहरुको फो ल्होछार पर्व मनाइएको छ ।

गण्डकी प्रदेशका अर्थ तथा योजना मन्त्री किरण गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हालै निर्वाचित संस्थाको आठौं कार्यसमितिले पदभार ग्रहण समेत गरेको छ ।

एशिएन कम्युनिटी सेन्टर, प्लमस्टिडमा संस्थाका निवर्तमान अध्यक्ष श्रीचन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई अध्यक्ष गुरुङसंगै प्रमुख अतिथि मन्त्री गुरुङ र संस्थाका संस्थापक अध्यक्ष चन्द्रमान गुरुङले उद्घाटन गरेका थिए । धर्मगुरु चिवा जित गुरुङले ब्लेसिंग प्रवचन दिएका थिए ।

गतसाता निधन भएकी तमु धिं यूके अध्यक्ष ज्ञाम गुरुङकी आमा श्रीमती चिजा गुरुङ तथा वर्षभरमा निधन भएका संस्थाका सदस्यहरुलाई श्रद्धाञ्जली दिंदै १ मिनेट मौनधारण गरिएको थियो ।

कार्यक्रममा संस्थाले हरेक वर्ष प्रकाशन गर्दै आएको मुखपत्र ुआशिमलाु को तेस्रो संस्करणको विमोचन पनि गरियो । मुखपत्रका प्रधान सम्पादक सुमलकुमार गुरुङ, अध्यक्ष श्रीचन्द्र गुरुङ, प्रमुख अतिथि मन्त्री गुरुङ, तमु धिं यूकेका नवनिर्वाचित अध्यक्ष गुरुङ, संस्थाका नवनिर्वाचित अध्यक्ष हिराप्रसाद गुरुङ, उपाध्यक्ष कमला गुरुङ र नवनिर्वाचित उपाध्यक्ष पार्वती गुरुङले संयुक्त रुपमा मुखपत्र विमोचन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री गुरुङले संसारको जुनसुकै ठाउंमा बसोबास गरेपनि आफ्नो भाषा, संस्कृति र पहिचान कहिल्यै बिर्सिन नहुने धारणा राखे । तमुहरुको संस्कृति संसारमै गर्व गर्न लायक रहेको उल्लेख गर्दै उनले बेलायतमा बसेर पनि आफ्नो संस्कृति र पहिचान जोगाउन प्रयास गरेकोमा तमु धिंलाई धन्यवाद दिए ।

कार्यक्रमम तमु धिं यूकेका नवनिर्वाचित अध्यक्ष नन्दजंग गुरुङले आफ्नो कार्यकालमा साउथ ईस्ट रिजनल तमु धिं लण्डनसंग अझै बढि सहकार्य गर्न पाउने विश्वास व्यक्त गरे । निवर्तमान अध्यक्ष श्रीचन्द्र गुरुङको कार्यकालमा भएका धेरै कार्यहरुको उनले प्रशंसा गरे ।

निवर्तमान अध्यक्ष श्रीचन्द्र गुरुङले विगतका २ कार्यकाल आफु नेतृत्वमा रहंदा भएका कामहरुबारे जानकारी गराए ।

नवनिर्वाचित अध्यक्ष हिराप्रसाद गुरुङले आगामी २ वर्षको लागि संस्थाको नेतृत्व आफुलाई सुम्पिने सबैप्रति कृतज्ञता प्रकट गरे । त्यसअवसरमा निवर्तमान अध्यक्ष गुरुङ र निवर्तमान उपाध्यक्ष कमला गुरुङलाई सम्मान गरिएको थियो । तमु धिं यूकेका नवनिर्वाचित अध्यक्ष नन्दजंग गुरुङलाई पनि साउथ ईस्ट रिजनल तमु धिं लण्डनको तर्फबाट विशेष सम्मान गरिएको थियो ।

संस्थाका निवर्तमान महासचिव तथा नवनिर्वाचित उपाध्यक्ष ह्यारी गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । उपाध्यक्ष सुमन गुरुङले हेल्थ एण्ड सेफ्टी ब्रिफ तथा स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रमको दोस्रो चरणमा विविध मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो जसको सञ्चालन सुर्य गुरुङले गरेका थिए । गायिका अमृता लिम्बु, यामु गुरुङ , डा सुदर्शन गुरुङ , सारादेवी गुरुङ लगायतले गीत प्रस्तुत गरेका थिए । तृसा गुरुङ, जेसिका, वर्षा लगायतका कलाकारले नृत्य देखाएका थिए ।

कार्यक्रममा स्थानीय काउन्सिलरहरु, काउन्सिलर लक्ष्य गुरुङ, तमु धिं यूके पूर्व अध्यक्ष रामचन्द्र सुर्जे गुरुङ, उपाध्यक्ष हितकाजी गुरुङ, एनसिआई ग्रुप यूके अध्यक्ष मोहन गुरुङ, एनआरएन युके उपाध्यक्षहरु पुनम गुरुङ र ललित न्यौपाने, बुद्ध फाउण्डेसन यूके अध्यक्ष दिपक श्रेष्ठ, यति नेपाली एशोसिएसनका कोषाध्यक्ष जिवन सेन, एलएन पाण्डे, दिपक थापा, जित रानाभाट, दिदीबहिनी समुहबाट श्रद्धा थापा, अनिता केसी, माया केसी, हिमा क्षेत्री , रन्जना केसी , अञ्जना थापा , संगिता थापा , टीना थापा , बसन्ती राना लगायतको उपस्थिति रहेको थियो ।

तस्विर : गणेश खड्का