७ बैशाख २०८१, शुक्रबार
Follow Us

के हो अमेरिकाको राष्ट्रपतीय बहस ?

नेपालब्रिटेन डट कम्
११ आश्विन २०७३, मंगलवार १४:०२

नारायण गाउँले । लन्डन । अमेरिकामा राष्ट्रपतिको चुनाब कस्ले जित्ने भन्ने कुरा उम्मेदवारले टेलिभिजनको पर्दामा प्रत्यक्ष उभिएर गर्ने बहसमा धेरै भर पर्छ ।
अर्थतन्त्र, स्वास्थ्य, सामाजिक सुरक्षा, वैदेशिक नीति र माइग्रेसनका मुद्दामा जसले स्पष्ट, तार्किक, तथ्यपूर्ण र प्रभावकारी प्रस्तुति दिन सक्छ, उसले चुनाब जित्छ । सारै कड़ा र वस्तुगत प्रश्नहरूका अगाडि हावादारी या लरतरो जबाफ दिनुको अर्थ पराजय हुने हुनाले तिनका अगाडि हाम्रा गुगलब्वायहरू फिक्का लाग्छन् । यस्तो बहस विश्वभर सबैभन्दा बढ़ी हेरिने र इन्टरनेटमा खोजिनेमध्ये पर्छ ।

उम्मेदवारले यसका लागि गहिरो अध्ययन, अनुसन्धान र तयारीमा लामो समय खर्चिन्छ, फलतः पहिले थाहा नभएका कतिपय विषयमा समेत उस्ले ज्ञान हासिल गर्छ । यो जनताका सामु दिइने प्रत्यक्ष परीक्षा हो । यस्तो बहस एकभन्दा बढ़ी पटक हुने भएकाले उम्मेदवारले आफूलाई निखार्ने र सच्याउने अवसर भने पाउँछ ।

बहसले मात्रै नतिजा निर्धारण भने गर्दैन । उम्मेदवार शारीरिक रूपले स्वस्थ र बलियो हुनु पनि उत्तिकै जरूरी छ । अलिकति अस्वस्थ देखिनु पनि पराजयको एउटा गोरेटो हो । राष्ट्रको मात्र नभएर विश्वकै सर्वोच्च जागीर भएकाले यहाँ भावुकताको ठाउँ हुँदैन । बिचरालाई क्यान्सर रैछ, जिताउँ यसपालि भन्ने यहाँ चल्दैन । बरु बिचरा बिरामी रहेछ, हस्पिटल पठाऊँ भन्ने संवेदना जाग्छ ।

यतिमात्र होइन, उसको विगतको सामाजिक र आर्थिक जीवनको एक्सरे समेत देखाउन सक्नुपर्छ । कस्तो कस्तो कामबाट कति अनुभव हासिल गरेको छ र कति ट्याक्स तिरेको छ भन्ने सार्वजनिक गर्नुपर्छ । हाम्रो जस्तो कुनै जागीर नखाई राजनीतिमात्रै गर्न जानेको रहेछ भने उसको सम्भावना न्यून हुन्छ ।

यति सबै कुराले अमेरिकाको सबैभन्दा उत्कृष्ट व्यक्ति राष्ट्रपति बन्छ भन्ने होइन तर उपलब्ध उम्मेदवारमध्ये उत्कृष्ट छानिने सम्भावना धेरै हुन्छ ।

यसपालिको यस्तो पछिलो बहसमा रिपब्लिकन उम्मीदवार डोनाल्ड ट्रम्पलाई पछि पार्न हिलारी क्लिंटन सफल देखिइन् । उनले यो गति र ऊर्जा अन्त्यसम्म कायम राख्न सकिन् भने उनले चुनाब जित्ने आँकलन गर्न सकिन्छ । ट्रम्पले आगामी बहसमा आफ्नो परफरमेन्स बढाउने सम्भावना पनि छ ।