१५ बैशाख २०८१, शनिबार
Follow Us

संविधान संशोधन गर्नु हुँदैन : नेता अधिकारी

नेपालब्रिटेन डट कम्
११ आश्विन २०७३, मंगलवार १६:०९

काठमाडौं । नेकपा (एमाले)का नेता भरतमोहन अधिकारीले संविधान संशोधनको औचित्य नरहेकाले यसको कार्यान्वयनतर्फ लाग्नुपर्ने बताउनुभएको छ । प्रतिभा जाति नागरिक समाज नेपालले प्रकाशित गरेको ‘प्रतिभा सन्देश’ नामक पुस्तिकाको विमोचनका क्रममा पूर्वउपप्रधानमन्त्री अधिकारीले संविधानले सबै समुदायलाई अधिकार प्रदान गरेको बताउँदै यो समयसापेक्ष परिवर्तन हुँदै जाने भएकाले विदेशीलाई खुसी पार्न संशोधन गर्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो–“संविधान संशोधनभन्दा पनि यसको कार्यान्वयनका लागि सबैले ध्यान दिनुपर्छ, कार्यान्वयनपछि क्रमिक रुपमा परिवर्तन वा संशोधन हुनेछ ।” संविधान संशोधनका लागि विभिन्न कानुन तथा ऐन बनाउँदा संविधान नै असफल बनाउने तत्वले फाइदा लिने खतरा औँल्याउनुभयो ।

मुलुक आर्थिक समृद्धितर्फ अघि बढे मात्रै सबैखाले विभेद तथा असमानता हट्ने बताउँदै उहाँले मुलुक अहिले सङ्क्रमणकालीन अवस्थामा रहेकाले संविधान संशोधनभन्दा बढी कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।

उक्त कृतिका सम्पादक विष्णुकुमार प्रसाईंले स्मारिकामा दलितको नाममा भएको सामाजिक विभेदलाई अन्त्य गर्न प्रतिभाशाली वैज्ञानिक एवम् प्राविधिक समुदायलाई दलित नभनेर प्रतिभा जाति भनेर अगाडि बढिरहेको कामलाई प्रोत्साहन गरिएको जानकारी दिनुभयो ।