८ बैशाख २०८१, शनिबार
Follow Us

डा. केसीको मागअनुसार विधेयक ल्याउन सत्तापक्षका सांसदहरु असहमत

नेपालब्रिटेन संवाददाता
१८ पुष २०७५, बुधबार १३:०५

काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत्को उपसमितिको बैठकले चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउन नसकेपछि समितिको बैठक नै स्थगित भएको छ । बुधबार बसेको उपसमितिको बैठकमा डा. गोविन्द केसीको मागअनुसार चिकित्सा शिक्षा विधेयक ल्याउन सत्तापक्षका सांसदहरु सहमत नभएपछि बैठक स्थगित भएको हो ।

बैठकमा नेपाली कांग्रेसका सांसदहरुले डा. केसीसँग भएका सहमतिअनुसार नै विधेयक ल्याउनुपर्ने अडान लिएका थिए । सीटीइभीटीअन्तर्गत्को स्वास्थ्यका कार्यक्रमहरु मन्त्रालयभित्र राख्ने वा आयोगअन्तर्गत् राख्ने र काठमाडौंबाहिर मेडिकल कलेज खोल्ने/नखोल्ने विषयमा सहमति हुन नसकेको हो । सरकारले डा. केसीसँग गरेको सहमतिले काठमाडौंबाहिर मेडिकल कलेज खोल्नसमेत समस्या पारेको सत्तापक्षका सांसदहरुको तर्क छ ।

बैठकमा समितिका सभापति जयपुरी घर्तीले डा. केसीलाई फेरि अनशन नबस्न आग्रह गरेकी थिइन् । बुधबारको बैठकमा सहमति जुट्न नसकेपछि समितिले छिटोभन्दा छिटो सहमति जुटाएर आउन निर्देशन दिएको छ । अर्को बैठक शुक्रबार बस्नेछ । यसैबीच, डा. केसी भने सरकारले आफूसित गरेको सहमतिअनुरुप चिकित्सा शिक्षा विधेयक ल्याउन नखोजेको भन्दै १६औंपटकको अनशनका लागि मंगलबार इलाम पुगेका छन् ।