१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सपथ खुवाएपछि सांसदलाई कारागार पठाउन मिल्छ ?

नेपालब्रिटेन संवाददाता
१९ पुष २०७५, बिहीबार १२:०५

काठमाडौं : सांसद रेशम चौधरीले टीकापुर घटनाको न्यायपूर्ण छानबिन हुनुपर्ने बताएका छन् । आज सिंहदरबारमा सभामुख कृष्णबहादुर महाराबाट सपथ ग्रहण गरेपछि पत्रकारसँग कुरा गर्दै उनले ‘घटना हुँदा सुरक्षाकर्मी सँगै थिएँ, म कसरी दोषी भएँ ?’ भनेर प्रश्न गरेका छन् । ‘म न्यायको पर्खाइमा छु,’ उनले भने, ‘माला लागाएर जेल जाँदैछु ।’ घटनाबारे गम्भीर छानबिन हुनुपर्ने र न्यायालयले न्याय दिनुपर्ने उनले बताए ।

चौधरीले सपथ खुवाएपछि सांसदलाई जेल पठाउन मिल्छ कि मिल्दैन भनी प्रश्न समेत गरेका थिए । ‘यो लोगो सांसदको लोगो हो । एकजना सांसदलाई सपथ खुवाएर कारागारमा पठाउन मिल्छ कि मिल्दैन ?’ उनले भने ‘यो लोगोको सम्मान के हो ? यो लोगो हामी सम्पूर्ण प्रतिनिधि र राष्ट्रियसभामा सहभागी हुने सदस्यको कत्तिको इज्जत राख्छ राज्यले बोल्ला, संसदले बोल्ला ।’

नेपाली कानूनमा कुनै पनि व्यक्तिलाई साढे ३ वर्षसम्म पुर्पक्षका लागि थुनामा राख्न नपाइने भए पनि आफूहरु जेलमा बसिरहेको भन्दै चौधरीले यो मुद्दा छिटो भन्दा छिटो टुंग्याउन आग्रह गरे । आफूले द्वन्द्व नचाहेको भन्दै उनले जनताले न्याय नपाएसम्म समृद्धि नआउने बताए । ‘शान्ति नभई समृद्धि बन्न सक्दैन । समृद्धि बनाउन जनतालाई न्याय दिनुपर्छ’ उनले भने ।