७ बैशाख २०८१, शुक्रबार
Follow Us

बिदेशमा नेपाली श्रमिकको स्वास्थ्यस्थिति सबैभन्दा नाजुक

नेपालब्रिटेन संवाददाता
१९ पुष २०७५, बिहीबार १२:२१

काठमाडौं । बैदेशिक रोजगारमा गएका श्रमिकमध्ये नेपाली कामदारको स्वास्थ्य स्थिति अन्य मुलुकको तुलनामा सबैभन्दा नाजुक देखिएको छ । पौरखी नेपाल, बेलायतस्थित लिभरपूल विश्वविद्यालय र बौर्नमाउथ बिश्वबिद्यालयले गरेको अनुसन्धानमा यस्तो दृखिएको हो ।

बिहीबार आयोजित एक कार्यक्रममा अनुसन्धान प्रतिबेदन प्रस्तुत गर्दै लिभरपूल बिश्वबिद्यालयका प्राध्यापक पद्म सिंखडाले कतारको हमाद ट्रमा सेन्टरमा उपचारमा पुग्ने कामदार मध्ये नेपाली कामदार २८ प्रतिशत रहेको जानकारी दिनु भयो । उहाँका अनुसार यस्तो कार्यस्थलमा घाइते भएर उपचारका लागि जाने कामदारहरु नेपाल पछि भारतीय २० प्रतिशत र बंगलादेशी ९ प्रतिशत छन् ।

यसरी नै बैदेशिक रोजगारीका क्रममा मृत्यूहुनेहरुमा सबै भन्दा बढी ह्दयघातका कारण २६.२ प्रतिशत, सवारी दुर्घटनाबाट १३.६ प्रतिशत, आत्महत्या १०.१ प्रतिशत, कार्यस्थलको दुर्घटना ७.८ प्रतिशत र हत्या १.४ प्रतिशतले हुने अनुसन्धान प्रतिबेदनमा जनाइएको छ ।

यसै गरी पौरखी नेपालकी अध्यक्ष मन्जु गुरुङले पौरखी नेपालको सुरक्षित आवास गृहमा सरण लिन आईपुगेका कामदार मध्ये अधिकांश कामदारको स्वास्थ्य समस्या देखिएको बताउनु भयो । एक हजार ५२ कामदार मध्ये ३८ जना गर्भवती र १० जना बालबालिका सहित आवासगृहमा आई पुगेको पनि उहाँले तथ्याँक प्रस्तुत गर्नू भयो । गर्भवती भएर आवास गृहमा आइपुगेका कामदार मध्ये ४२ प्रतिशत कामदारहरु यौनजन्य हिंसामा परेको पनि उहाँको दावी थियो ।

अनुसन्धान प्रतिबेदन सार्वजनिक कार्यक्रममा बोल्दै प्रतिनिधसभाका उपसभामूख डा शिबमाया तुम्बाहाम्फेले बैदेशिक रोजगारमा जाने कामदारको समस्यालाई राज्यले सम्बोधन गर्नु पर्ने बताउनु भयो । उहाँले यस्ता अनुसन्धानले सरकारको नीति बनाउन र संसदलाई कानुन बनाउन सहयोग पुग्ने उहाँको टिप्पणी थियो ।

यसरी नै नेपाल सरकार विज्ञ समूहका सदस्य डा गणेश गुरुङले नेपाली कामदारको स्वास्थ्य समस्या सम्बोधन गर्न बैदेशिक रोजगारको प्रस्थानपूर्बको चरणलाई नै व्यबस्थित बनाउनु पर्ने धारणा राख्नु भएको थियो । उहाँले बिदेशमा मृत्यु हुनेहरुको कारण संकास्पद रहेको भनाईए राख्दै स्वास्थ्य समस्याका सम्बन्धमा अरु गहिरो अनुसन्धान आवश्यक भएको बताउनु भयो ।

कार्यक्रममा बिएम बिश्वबिद्यालयका प्रा इद्वीन भान तेज्लीजन, डा. भीभा सिम्खडालगायतको अनुसन्धानलाई पनि प्रस्तुत गरिएको थियो ।