१६ चैत्र २०८०, शुक्रबार
Follow Us

हराएको दश वर्षपछि भेटिएकोमा खुशी

नेपालब्रिटेन संवाददाता
२१ पुष २०७५, शनिबार ०६:५०

बाजुरा । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–३ तत्कालीन जुकोट गाविस–६ का देव लुहार बेपत्ता भएको १० वर्षपछि भेटिएका छन् । नौ वर्षको उमेरमा २०६५ भदौ १२ गते बेवारिसे अवस्थामा फेला पारिएका लुहारलाई जिल्ला बाल कल्याण समितिका तत्कालीन बालअधिकार अधिकृत सर्पलाल गिरीको पहलमा उद्धार गरी केन्द्रीय बाल कल्याण समिति ,काठमाडौँमा बुझाइएको थियो ।

उनको काठमाडौँमै पालनपोषण भएको थियो । जिल्ला प्रशासन कार्यालय बाजुराले कोल्टीमा नागरिकता वितरणका लागि घुम्ती शिविर आयोजना गरेको थाहा पाएपछि बाजुरा घर हो भन्ने थाहा पाएका लुहार नागरिकता बनाउन काठमाडौँबाट बाजुरा आएका थिए । सो क्रममा उनको परिवार पत्ता लागेको छ र घरमा खुशी छाएको छ ।

घरपरिवार पत्ता लागेपछि स्वामीकार्तिक–३ का वडाध्यक्ष वीरजित कट्टेल, बूढीनन्दा नगरपालिका–४ का अध्यक्ष राजन रोकाया र रेडियो बूढीनन्दाका अध्यक्ष सर्पलाल गिरीको रोहवरमा उनलाई बुवा सर्पलाल लुहारको जिम्मा लगाइएको छ । देव लुहारका आफ्ना परिवारसँग परिचय मात्र भएको छैन, आफ्नै बुबाको नामबाट नागरिकता पाउँदा खुशी भएको उनले प्रतिक्रिया दिएका छन् ।