७ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा ‘भोइस अफ नेपाल कन्सर्ट’

नेपालब्रिटेन डट कम्
२१ पुष २०७५, शनिबार १९:३९

‘भोइस अफ नेपालका विजेतासहितका ७ प्रतियोगीहरुलाई बेलायतका विभिन्न ७ क्षेत्रका नेपालीहरुमाझ प्रस्तुत गर्ने कार्यक्रमहरुबारे जानकारी गराउन एक पत्रकार सम्मेलन गरिएको छ । ‘भोइस अफ नेपाल यूके कन्सर्ट’ को आयोजक क्यान्डेजा यूके नेपाल इन्टरटेनमेन्ट लिमिटेडले सुक्रबार साझ अल्डरसटस्थित क्लब टेम्पटेसनमा पत्रकार सम्मेलन गरेको हो ।

भोइस अफ नेपालका ७ स्टारलाई बेलायत ल्याउन लागेको बेलायतस्थित क्याडेन्जा यूके नेपाल इन्टरटेनमेन्ट लिमिटेडले फेब्रुअरी १६ देखि मार्च ९ सम्म बेलायतका विभिन्न ठाउंमा ‘द भोइस अफ नेपाल यूके कन्सर्ट’ आयोजना गर्ने भएको छ ।

कन्सर्टमा प्रस्तुति गर्न भोइस अफ नेपालका विजेता सिडे विजय अधिकारी, फाइनलका प्रतियोगीहरु सिर्जे थपलिया, कुशल आचार्य र सप्तक दूतराजको साथमा विवेक वाइवा लामा, सुरेखा क्षेत्री र श्रेया राई बेलायत आउने भएका छन् । भोइस अफ नेपालका होस्ट सुशील नेपाल समेत बेलायत आउने र बेलायतका कन्सर्टहरु उनले नै होस्ट गर्ने पनि क्याडेन्जा यूकेले बताएको छ । प्रोडक्सन टिमका सदस्यसहित कुल ११ जनाको टोली नेपालबाट बेलायत आउंदैछ । एकजना महिला होस्ट भने बेलायतबाटै राख्ने योजना छ ।

फेब्रुअरी १६ मा फोक्सटनको हकिंग्स कम्युनिटी सेन्टरबाट सुरु हुने भोइस अफ नेपाल यूके कन्सर्ट फेब्रुअरी १७ मा फार्नबरोको ओकफार्म लिजर क्लबमा, फेब्रुअरी १८ मा बर्मिङहमको वेस्ट बर्मिचस्थित द कन्फरेन्स सुटमा, फेब्रुअरी २३ मा लण्डन फेल्थामको फेल्थाम कम्युनिटी कलेजमा, २४ फेब्रुअरीमा प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा, मार्च ३ मा रेडिङको साउथ रेडिङ कम्युनिटी सेन्टरमा र ९ मार्चमा स्वीण्डनको पञ्जाबी कम्युनिटी सेन्टरमा आयोजना हुनेछ ।

पत्रकार सम्मेलनमा क्याडे्रन्जा यूकेका मार्केटिङ तथा पिआर निर्देशक धिरज राईले बेलायतबासी नेपाली संगीत पारखीहरुलाई एक गुणस्तरीय कार्यक्रम पस्किने तयारी आफुहरुले गरिरहेको बताए ।

‘भोइस अफ नेपालजस्तो निकै लोकप्रिय शोका विजेताहरुको सबभन्दा पहिलो शो नै बेलायतमा ल्याउने अवसर पाएकोमा हामी निकै उत्साहित छौं’, मार्केटिङ निर्देशक राईले भने, ‘अब यो कार्यक्रमको सफलता यहांको सिंगो नेपाली समुदायको प्रतिष्ठासंग जोडिनेछ । त्यसैले कार्यक्रमलाई सफल बनाउन सबैको साथ, सहयोग मिल्ने नै छ भन्ने आशा हामीले गरेका छौं ।’

सबै शोहरुको लागि सम्पुर्ण प्राविधिक तथा व्यवस्थापकीय पक्षहरुको गुणस्तरमा कुनै सम्झौता नगर्ने र मनोरंजनको पुर्ण प्याकेज दिने प्रतिबद्धता निर्देशक राईले गरे ।

सबै शोहरुको टिकटको लागि अग्रिम बुकिंग गर्दा २० र कार्यक्रमको दिन हलमै लिंदा २५ पाउण्ड लाग्नेछ । अहिले केहि समयको लागि क्याडेन्जा यूकेको अफिसियल वेबसाइट धधध।अबमभलशबयााष्अष्ब।िअय।गप बाट विशेष सहुलियतसहितको ‘अर्ली बर्ड’ टिकट १५ पाउण्डमा उपलब्ध गराइएको छ । शोको लागि लिइएको कुनै टिकट बर्मिङहमबाहेक अरु सबै ६ वटा मध्ये जुनसुकै भेन्यूको लागि पनि प्रयोग गर्न सकिने बताइएको छ ।

टिकटको लागि विभिन्न ठाउंका कार्यक्रम भेन्यू आसपासका स्थानीय नेपाली पसल, आयोजकको वेभसाइट , फेसबुक र इन्सटाग्राम लगायतका माध्यममा सम्पर्क राख्न सकिनेछ । हरेक शोमा वितरण भएका टिकहरुमध्येबाट १ जनालाई लक्की ड्रमार्फत २ जनाको लागि डिनर पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । सबै शोहरुमा लाइभ ब्याण्डको संगीतमा गायक गायिकाले गायन प्रस्तुत गर्नेछन् ।

प्रोजेक्ट म्यानेजर आवेश राईले हरेक शो युवा, बालबालिका, बुढाबुढी सबैले मन पराउने खालको बनाइने भन्दै उनले नेपाली लोकसंगीतदेखि, सुगम , पप र रक एण्ड रोलसम्मका संगीत कार्यक्रममा प्रस्तुत हुने बताए । बेलायत भ्रमणमा आउने भोइस अफ नेपाल टीमका सदस्यहरुको बेलायतको भिसाको लागि आवेदन गरिसकिएको उनले जानकारी दिए ।

कार्यक्रमस्थलमा उपस्थित दर्शकलाई आफ्ना लोकप्रिय कलाकारसंगै तस्विर लिन र कुराकनी गर्न समेत अवसर दिने योजना आयोजकले बनाएका छन् ।

बेलायतमा रहेर संगीतमा आबद्ध रहेकाहरुसहित झण्डै १ दर्जन युवाको सक्रियतामा हालै स्थापित क्याडेन्जा यूके नेपाल इन्टरटेनमेन्ट लिमिटेडले आयोजना गरेको यो पहिलो कार्यक्रम हुनेछ ।

पत्रकार सम्मेलनमा एनआरएन यूकेका उपाध्यक्ष प्रेम गाहामगर, युवा संयोजक कुमार थापा, सहकोषाध्यक्ष गजेन्द्र गुरुंग र कार्यसमिति सदस्य पवन राई, नेपाली युवा समुह यूकेका उपाध्यक्ष केशव गुरुंग, सदस्यहरु मिनुष थापा र एन्डी राई, सुरज पौडेल, प्रकाश कंडेलका साथै आयोजक क्याडेन्जा यूकेको महिला संयोजक अञ्जु श्रेष्ठ, युथ कोअर्डिनेटर अमृता गिरी गजुरेल, कल्चरल सेक्रेटरी गिता बस्नेत पाण्डे लगायत उपस्थित थिए ।

पत्रकारहरुले राखेका विभिन्न जिज्ञासाहरुमा आयोजकका तर्फबाट मार्केटिंगथ तथा पिआर निर्देश धिरज राई र प्रोजेक्ट म्यानेजर आवेश राईले जवाफ दिएका थिए ।

अन्तर्राष्ट्रिय स्तरमा बहुचर्चित ब्राण्डका रुपमा स्थापित शोको फ्रेञ्चाइजका रुपमा पहिलोपटक भोइस अफ नेपाल आयोजना भएको हो । कार्यक्रमको फर्म्याट, प्रिजेन्टेसन तथा प्रतियोगीहरुको गुणस्तरका आधारमा शोले देश विदेशका नेपाली दर्शक, श्रोताहरुमाझ ठूलो लोकप्रियता कमाउन सफल भएको थियो ।