१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रदेश पाँच सरकारले आठ करोड खर्चेर भित्र्यायो १३ वटा गाडी

नेपालब्रिटेन संवाददाता
२२ पुष २०७५, आईतवार ०५:५७

बुटवल । प्रदेश नम्बर ५ मा १३ वटा गाडी ८ करोडमा खरिद गरिएको छ । प्रदेश सरकारले जनअपेक्षा अनुसार काम नगरेको गुनासो चौतर्फी बढिरहेका बेला आफनो सेवा सुविधाका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर ८ करोडमा गाडी किनिएको हो ।

संघीय व्यवस्थापिकाका सांसदहरु दोहोरो सेवा सुविधा लिएको भन्दै आलोचना भइरहेका बेला प्रदेश ५ को सभाले करिव ८ करोडमा गाडी खरिद गरेको छ । प्रदेशसभामा सत्तापक्षका सचेतकदेखि प्रत्येक विषयगत समितिका सभापतिहरुका लागि १३ वटा नयाँ गाडी खरिद गरिएको हो ।

१३ वटा गाडी खरिदका लागि प्रदेशसभाले करिब ८ करोड रुपैयाँ खर्च गरेको छ । १३ गाडीमध्ये ११ वटा गाडी टाटा स्ट्रम रहेका छन् । प्रदेश सभाले करिव ८ देखि १० लाख महंगोमा गाडी खरिद गरेको छ । प्रतिगाडी खरिद मुल्य ७१ लाख ९४ हजार रुपयाँ परेको छ ।

प्रदेशसभाले १४ वटा गाडी खरिदका लागि टेन्डर आह्वान गरेको थियो । तर एउटा गाडी प्राविधिक रुपमा नमिलेपछि फिर्ता पठाइएको छ ।१३ वटा नयाँ गाडीमा नम्बर प्लेट राखेर प्रदेश सभाका विषयगत समितिका सभापतिहरुलाई यही साता हस्तान्तरण गरिएको छ ।

प्रमुख प्रतिपक्ष दलका नेता, सत्ता पक्षका प्रमुख सेचतक र बिषयगत समितिका सभापतिलाई गाडी खरिद गरिएको हो । प्रदेशमा महंगा गाडी खरिदको विषयलाई स्थानिय सर्बसाधारण र स्वंयम सभासदहरुले पनि आलोचना गरेका छन् ।

खरिद गरिएका १३ वटा गाडीमध्ये निसान टेरानो र महेन्द्रा स्कारपीयो एक–एक छन् । अन्य ११ वटा टाटा स्ट्रम गाडी खरिद गरिएको छ । जसको मूल्य अन्य गाडीको भन्दा महङ्गो छ । फुल अप्सन भएको प्रति गाडी ७१ लाख ९४ हजार रुपैयाँ परेको छ ।

निसान टेरानो ५३ लाख ९५ हजार रुपैयाँ र महिन्द्रा पिकअप ३५ लाख ८५ हजार रुपैयाँमा खरिद गरिएको छ । गाडीको बिमा र डेकोरेशन गर्न आफैं थप रकम लाग्ने देखिएको छ ।