१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पानीजहाज आउँछ, काउन्टर पनि खुल्छ, टिकट पनि काट्न पाइन्छ : प्रधानमन्त्री ओली

नेपालब्रिटेन संवाददाता
२२ पुष २०७५, आईतवार ०९:३३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज आउनेमा ढुक्क भएर बस्न आग्रह गरेका छन् । आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पानीजहाजको टिकट खोज्नेहरुलाई पानीजहाज ल्याउने कुरालाई हावामा नउडाउन भन्दै पानीजहाज पनि आउने र पानीजहाजको टिकट काट्न काउन्टर पनि आउने बताएका हुन् ।

‘मेरो सुझाब छ, धैर्य गरौं । रेल आउँछ, पानीजहाज पनि आउँछ । टिकट काट्न पाइन्छ, काउन्टर खुल्छ’ उनले भने, ‘त्यसको सूचना पनि हुन्छ । म साथीहरुलाई ढुक्क रहन आग्रह गर्न चाहन्छु ।’ गत असार १४ गतेको एउटा कार्यक्रममा प्रधानमन्त्री ओलीले पुस १६ गते पानीजहाज चढेर कलकत्ता जान निम्ता दिएका थिए । तर, सो मितिमा पानीजहाज नचलेपछि सामाजिक सञ्जाल प्रयोगकर्ता तथा प्रतिपक्षी दलका नेताहरुले टिकट कहाँ पाइन्छ भनेर प्रधानमन्त्रीलाई सोधेका थिए ।

त्यस्तै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई धमिलो पानीमा माछा पार्ने रहर नगर्न सुझाव दिएका छन् । उनले सामाजिक सुरक्षा कार्यक्रम नेपाली कांग्रेसको पालामा आएको भन्न नपर्ने भन्दै उक्त कार्यक्रम सिंगो सदनको प्रयासपछि प्राप्त सफलता भएको बताए । कांग्रेसका नेता शेरबहादुर देउवातर्फ इंगित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यो नयाँ युगको थलानी नै हो। सामाजिक सुरक्षा हाम्रै पालामा ल्याएका हो यसमा अप्ठेरो मान्नैपर्ने र मुखै लुकाउने पर्ने कुरा कहाँबाट आयो ?’ उनले थपे, ‘राम्रो कामको ज–जसले जस लिएपनि हुन्छ । नीति तथा कार्यक्रमम सदनको सर्वस्वीकृत हो । यसको जस पनि सदनले पाउनुपर्छ । हामी कपीराईट वा पेटेन्ट राइटमा बहस गरिरहेका छैनौं ।ʼ

संसदको हिउँदे अधिवेशनको उद्घाटनसत्रमा देउवाले सामाजिक सुरक्षा कार्यक्रम आफ्नो सरकारले ल्याएकोमा ओलीले आफैले गरेजस्तै गरी जस लिएको आरोप लगाएका थिए । कांग्रेसलाई लक्षित गर्दै उनले भने,‘आफैले ल्याएको कार्यक्रमप्रति खिसिटयुरी किन ? जस थाप्न हानथाप गर्नुभन्दा पनि राम्रो गर्न तर्फ लाग्नु पर्छ ।’

यसैबीच प्रदेश सरकारसँग जोड्न प्रधानमन्त्री कार्यालयमा डिजिटल एक्सन रुम बनिरहेको जानकारी प्रधानमन्त्रीले दिए । ‘यस सम्बन्धमा केही भ्रमपूर्ण र असभ्य तरिकाले प्रस्तुती सुनेको छ । बास्तविकता बुझेर बोल्दा राम्रो हुन्थ्यो । कुनै पनि त्रुटि भएको छैन ।’ उनले भने । यसै साल राष्ट्रिय परिचयपत्र पाउन् भनेर व्यवस्था गरिएको छ तर भ्रमण पैदा गरिएको छ । यस विषयमा अनावश्यक बहकिनु उपयुक्त होइन ।