१६ चैत्र २०८०, शुक्रबार
Follow Us

वाइडबडी प्रकरणमा पूर्वाग्रहको आधारमा मेरो नाम जोडियो : मन्त्री अधिकारी

नेपालब्रिटेन संवाददाता
२३ पुष २०७५, सोमबार ०७:३०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्री रविन्द्र अधिकारीले नेपाल वायु सेवा निगमले खरिद गरेको दुई वटा वाइडबडी विमान खरिदमा भएको भनिएको अनियमिततामा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले अनुमान र पूर्वाग्रहका आधारमा लेखा समितिको उपसमितिले आफ्नो नाम जोडेको बताएका हुन् ।

‘विमान खरिद सम्झौता प्रक्रियामा मेरो कहीँ कतै र कुनै पनि किसिमको संलग्नता छैन, मैले यी जहाजहरुको अधिकतम प्रयोगमा ल्याउने प्रयास मात्र गरेको छु,’ उनले भने, ‘ममाथि बदनियत भएको भनी लागेको आरोपमा सबै अख्तियारवाला निकायलाई छानबिन गर्न आग्रह गर्दछु ।’

निगमका वाइडबडी खरिदका सम्बन्धी प्रकृया २०७१-७२ बाटै सुरु भएको भन्दै त्यहिबेलाको बजेट वक्तव्यबाटै बजेट विनियोजन हुँदै आएको बताए । उनले आफूले मन्त्रालय सम्हाल्नुअघि नै सो प्रक्रिया चालू रहेको र नेपालको हवाइसेवा सुधारका लागि थालिएको यो प्रक्रियामा आफूले निरन्तरता दिएको बताए ।

आफूले यो प्रक्रिया रोकेको भए निगमको ९ अर्ब रुपैयाँ डुब्ने र निगम टाट पल्टने अवस्था रहेको उनले जिकिर गरे । उनले निगमले किनेका वाइडबडी वोलपत्र आह्वान गरेर प्रतिस्पर्धाकै आधारमा खरिद गरेको पनि दाबी गरे । मन्त्री अधिकारीले आफूले निगमलाई टाट पल्टने अवस्थाबाट जोगाएको समेत दाबी गरे ।

संसद्को सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले जहाज खरिदमा अनियमितता भएको भन्दै त्यसमा संलग्न झन्डै तीन दर्जन पदाधिकारीलाई दोषी आरोपित गरेको छ । सांसद राजन केसीको संयोजकत्वमा गठित उपसमितले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहरसहितको प्रतिवेदन लेखा समितिमा बुधबार पेस गरेको थियो ।