१३ बैशाख २०८१, बिहीबार
Follow Us

हिमपातका कारण विद्युत् सेवा अवरुद्ध

sarusaru
२३ पुष २०७५, सोमबार ११:४३

डोटी । गएरातिदेखि परेको हिमपातका कारण डोटीसहित अछाम, र बाजुरामा समेत विद्युत् सेवा अवरुद्ध भएको छ।

दिपायलस्थित विद्युत् सवस्टेसनका प्रमुख भोजबहादुर स्वाँरका अनुसार बाक्लो हिमपातले विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत सेवा सञ्चालनका लागि दिपायलबाट टोली खटिए पनि अहिलेसम्म अवरुद्ध भएको ठाउँ पत्ता लगाउन नसकिएको बताइएको छ।

हिमपातले विद्युत्का तार र रुखसमेत ढाकेकाले अबरुद्ध भएको ठाउँ पत्ता लागउ नै सकिएको छैन, सवस्टेसन प्रमुख स्वाँरले बताए। आइतबार रातिदेखि डोटीका उच्च लेकाली क्षेत्रमा बाक्लो हिमपात भएको छ। हिमपातका कारण यहाँका बासिन्दाको जनजीवन प्रभावित भएको छ। खप्तड, गोलादेउ, नापानी, चर्केको लेक, शिखरधुरा, बडिकदेरा धुरालगायत ठाउँमा बाक्लो हिमपात भएको स्थानीय बासिन्दाले जनाए।

त्यस्तै अत्तरिया स्याउले जोड्ने भिमदत्तपन्त राजमार्गमा पनि हिमपात भएका कारण सवारी साधन आवतजावतमा समस्या भएको बुडरस्थित अस्थायी ट्राफिक प्रहरी पोष्टले जनाएको छ। जिल्लाका उच्च लेकाली क्षेत्रमा अहिले पनि हिमपात भइरहेको छ। हिमपातका कारण स्थानीय बासिन्दा घर बाहिर निस्किन सकेका छैनन् भने गाईबस्तुसमेत गोठभित्रै थुनिएको नापानीका जगत बोगटीले फोनमार्फत जानकारी दिए।

उनले भने, ‘हिउँले डाँडाकाँडा र जङ्गल छपक्क ढाकेको छ गाईबस्तुसमेत बाहिर निकाल्न सकेका छैनौँ।’ जिल्लाका उच्च लेकाली क्षेत्र अर्थात् पानी नभएका ठाउँमा हिमपात भएपछि हिउँदेबाली सप्रिने भएकाले किसान भने खुशी छन्। हिमपातका कारण चिसो बढेकाले आफ्नो स्वास्थ्यमा ख्याल गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।
रासस