१६ चैत्र २०८०, शुक्रबार
Follow Us

वैदेशिक रोजगारीका क्रममा ठगिएका युवालाई क्षतिपूर्ति

sarusaru
२५ पुष २०७५, बुधबार ०३:०४

राजविराज । आप्रावासी स्रोत केन्द्रले वैदेशिक रोजगारीका क्रममा ठगिएका सप्तरीका पाँच युवालाई क्षतिपूर्ति दिलाएको छ।

न्यायका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपालको सक्रियतामा सो रकम फिर्ता गराउन सफल भएको केन्द्रका कार्यक्रम संयोजक रामप्रवेश मण्डलले बताए।

शम्भुनाथ नगरपालिका–१२ अर्नाहाका सुरेन्द्रप्रसाद साहले सोही ठाउँ बस्ने राजेशकुमार सरदार, श्रीप्रसाद सरदार, भूपेन्द्रप्रसाद सरदार, रमानन्द सरदार र सञ्जीव सरदारलाई वैदेशिक रोजगारीका लागि मलेशिया पठाइदिने भन्दै रकम ठगी गरेका थिए।

साहले यहाँबाट फर्निसिङ कार्पेन्टरको कामका लागि भनेर मलेसिया पठाए पनि त्यहाँ काठ चिर्ने काममा लगाइएको पीडितले बताएका छन्।

साहले भने अनुसार काममा नलगाएका बारे बारम्बार ताकेता गरे पनि काम परिवर्तन नगरेकाले ती युवा बाध्य भएर नेपाल फर्किएका थिए। नेपाल फर्किएपछि सुरक्षित आप्रवासनसम्बन्धी सूचना तथा परामर्श केन्द्रमा घटनाका बारेमा उनीहरुले जानकारी गराएका थिए।

सोही जानकारीका आधारमा केन्द्रले निरन्तर पहल गरेर प्रत्येक पीडितलाई रु एक लाख २५ हजारका दरले रकम फिर्ता गराइएको संयोजक मण्डलले जानकारी दिए।
रासस