१३ बैशाख २०८१, बिहीबार
Follow Us

नयाँ पुस्ताको भविष्यका लागि संघर्ष गर्दैछु

नेपालब्रिटेन संवाददाता
२५ पुष २०७५, बुधबार ०५:१७

सिलसिला आचार्य, सीईओ, एचसीआई
जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक नलिए केही समयपछि विश्व दुर्घटनामा पर्ने सिलसिला आचार्य बताउँछिन् । नर्वेबाट वातावरण विज्ञानमा उच्च शिक्षा हासिल गरेपछि नेपालको वातावरण जोगाउन उनी संस्थागत रूपमा लागेकी छन् । नेपालको वातावरण क्षेत्र र यसका समस्याबारे आचार्यसँग कुमार राउतले गरेको कुराकानी :

० एचसीआई भनेको के हो ?
– हिमालयन क्यलाइमेट इनिसिएटिभ वातावरणसँग सम्बन्धित गैरसरकारी संस्था हो । गैरनाफामूलक यो संस्था स्थापना भएको सात वर्षजति भयो ।

० यसले के काम गर्छ ?
– जलवायु परिवर्तनको प्रतिरोध क्षमतालाई विकास गर्नुका साथै समावेशिता मिलाई हामी दिगो विकासलाई अगाडि बढाउँछौं ।

० अहिलेसम्म के गर्नुभयो ?
– ‘पर्दैन मसँग आफ्नै झोला छ’ भन्ने प्लास्टिक मुक्ति समाजका लागि क्याम्पेनिङ गरेका छौं । २०७२ वैशाख १ गतेदेखि प्लास्टिक प्रयोग पूर्णरूपमा प्रतिबन्धका लागि राज्यसँग मिलेर अभियान सञ्चालन गरेका थियौं । अहिले थोक रूपमा विभिन्न जिल्लामा यस्तो अभियान सञ्चालन गरिरहेका छौं ।

० सफल भएन नि ?
– त्यसका लागि विविध कारण छन् । पहिलो त त्यसबेला भूकम्पले गर्दा हाम्रो अभियानलाई असर पुग्यो । यद्यपि हामी नीति निर्माणमा सफल भयौं भन्ने लाग्छ । भाटभाटिनी सुपर मार्केटमा मात्र हेर्नुभयो भने पनि हामीले करोडौं रुपैयाँको प्लास्टिक प्रयोगमा कमी आयो । यस्तै ठूला डिपार्टमेन्ट स्टोरमा पनि यो अभियानले काम गरेको छ ।

० राज्यले असहयोग पनि ग-यो कि ?
– होइन, यो व्यवहारसँग जोडिएको कुरा हो । भन्न सजिलो छ, त्यसलाई व्यवहारमा उतार्न कठिन हुन्छ । यद्यपि सरकारले नीति तथा कार्यक्रममा समेत यो अभियानलाई पारिएको थियो ।

० कस्तो व्यवहार हुँदा प्लास्टिक प्रयोगमा कमी आउँछ ?
– तपाईले प्लास्टिक झोला प्रयोग गर्नुहुँदैन भनेर लेख्नुभयो भने तपाईंलाई व्यावहारिक रूपमा प्लास्टिक प्रयोग छोड्न दुई वर्ष लाग्छ । किनभने यो विभिन्न सञ्जालसँग जोडिएको छ ।

० कानुन त आइसक्यो होइन ?
– हो, कानुन आयो, त व्यवहारमा लागू गर्न नागरिक समाजले गम्भीरता देखाएको छैन । यद्यपि त्यो गम्भीरता नेपाली समाजले छिट्टै देखाउँछ भन्ने हामीलाई विश्वास छ । भूकम्पपछि मान्छेको ध्यान अन्त्यै मोडियो, त्यसैले अहिले प्लास्टिक प्रतिबन्ध कानुनमै सीमित छ ।

० अरु कार्यक्रम सञ्चालन गर्नुभएन ?
– हामीले भाटभटिनीमा हाम्री बहिनी भन्ने कार्यक्रम सञ्चालन गरेका थियौं । महिला दिदीबहिनीहरूलाई झोला बनाउने सीप सिकाउँछौं । सक्षम भएपछि उनीहरूलाई उद्यमी बन्न पे्ररित गर्छौं । विशेषतः हामी तीनवटा कार्यक्रम सञ्चालन गछौं ।

० के–के हुन् ?
– दिगो विकास के हो भन्ने कुरा हामी युवा, राजनीज्ञि, व्यवसायी, कर्मचारीलगायत सबैलाई बुझाउँछौं ।

० के रहेछ दिगो विकास ?
– जुन बाटोबाट पश्चिमा देशहरू अघि बढे, त्यसले जलवायु परिवर्तन जस्तो ठूलो समस्या आयो । पेट्रोल, कोइला बालेर अघि बढ्नु गलत रहेछ भन्ने प्रमाणित भइसक्यो । अब यसलाई अस्वीकार गर्नुपर्छ भन्ने कुरा हामीले थाहा पाइसक्यौं । नेपालमा ठूलो कलकारखाना छैन, हाइड्रोपावर मात्र हो, त्यसैले दिगो विकासको उदाहरण बन्न नेपाललाई धेरै सजिलो छ ।

० सचेतना अपनाइएन भने के हुन्छ ?
– अहिले हामीले जति कार्बन उत्सर्जन गरिरहेका छौं, अबको १२ वर्षमा हामीले त्यसलाई ५० प्रतिशतले घटना सकिएन भने मानवजातिको अस्तित्व खतरामा छ भन्ने रिपोर्ट एक महिनाअघि मात्र सार्वजनिक भएको थियो ।

० यस्तो डरलाग्दो विषयमा नेपालले मात्र चासो देखाउनुपर्ने ?
– होइन, विश्वकै मानिसहरू सचेत छन् । विकसित मुलुकहरू तत्काल पहिलेकै अवस्थामा फर्किने घोषणा गरिसकेका छन् । नर्वेले सन् २०३० सम्म कार्वन उत्सर्जन घटाउने घोषणा गरिसकेको छ । तर हामी सचेत भयौं भने, जिरो कार्बनमा नेपाल पहिलो हुन्छ । हामी नेपाली संसारकै लागि उदाहरण बन्न सक्छौं ।

० तपाईंहरूले सञ्चालन गरेको अभियान कत्तिको प्रभावकारी भए त ?
– बेचबिखनमा परेका वा जोखिममा परेका महिला दिदीबहिनीलाई वातावरणमैत्री रोजगार सिर्जना गरेका छौं । उहाँहरूले उत्पादन गरेको झोलाले प्लास्टिक झोलालाई विस्थापन गर्छ । जसले गर्दा, वातावरण र समाजका मात्र फाइदा पुग्दैन, स्वरोजगार पनि बनाउँछ ।

० नेपाली समाजमा बढी कसले वातावरण मैत्री काम गरेको हो ?
– फोहोरमैला संकलन गर्ने हाम्रा दाजुभाइ र दिदीबहिनीले वातावरणमैत्री काम गरिरहेका छन् । तर समाजले उहाँलाई अपहेलित गर्छन्, सबैभन्दा फोहोर भन्छ । उहाँहरू सामाजिक उद्यमी हुन् ।

० के गर्नुपथ्र्यो उहाँहरूलाई ?
– प्रतिष्ठित जीवन बाँच्ने आधार बनाउनुपर्छ । हरेक काममा उहाँहरूलाई सहयोग गर्नुपर्छ । उहाँहरूलाई प्रतिष्ठित जीवन बाँच्ने आधार बनाइयो भने, नेपाली समाज र अर्थतन्त्रलाई फाइदा पुग्छ ।

० सबैसँग झोला किन्ने क्षमता छ ?
– हामीले प्लास्टिक उद्योगमै गएर तथ्यांक संकलन ग¥यौं । प्लास्टिक झोला उपत्यकामा एक करोड र राजधानी बाहिर पनि एक करोड प्लास्टिकको झोला प्रयोगमा आउँछ । नेपालमा अहिलेसम्म १२ सय १५ जनालाई प्लास्टिक उद्योगले रोजगारी दिएको रहेछ । त्यसको सट्टा कपडा वा कागजको झोला प्रयोग ग¥यौं भने हामीले ५७ हजारलाई रोजगार दिन सक्छौं । यो हामीले अध्ययन गरेर निकालेको तथ्यांक हो ।

० वातावरणको एड्भोकेसी गर्न के कुराले पे्ररित ग-यो ?
– प्लस टु पढ्दासमेत नेपालमै केही गर्नुपर्छ भन्ने कुरामा म दृढ थिएँ ।

० नेपालमै केही गर्नुपर्छ भनेर कसले हुटहुटी लगायो ?
– जुन ठाउँमा जन्मिन्छ, हुर्किइन्छ, त्यसका लागि योगदान दिनुपर्छ भन्ने पे्ररणा मेरा बुवाले दिनुभएको थियो । विदेश पठाउन चाहना पिताजीको थिएन । तर जानुपर्छ, शिक्षा र अनुभव हासिल गरेर नेपाल फर्किनुपर्छ भन्ने मान्यता मेरो थियो । सम्भवतः यसको केमेस्ट्रीले काम ग¥यो होला ।

० वातावरण इन्जिनियर बन्ने सोच्नुभएको थियो ?
– होइन, हाम्रो परिवारमा एकजना डाक्टर चाहिन्छ, त्यसैले डाक्टर बनोस् भन्ने पिताजीको चाहना थियो । प्लसटु पढ्दासम्म के पढ्ने भनेर क्लियर थिइनँ, पिताजी डाक्टर पढोस् भन्ने थियो । एक वर्ष हापेर डाक्टर पढ्ने प्रयास गरें । विकल्पमा वातावरण विज्ञान पढ्ने योजना बनाएको थिएँ । शिक्षा मन्त्रालयको छात्रावृत्ति पनि पाएको थिएँ । तर, छात्रावृत्ति छोडेर केयुमा वातावरण विज्ञान पढें ।

० पढाइ कस्तो थियो ?
– टप गरेर निस्के, पदकहरू पनि पाएँ । त्यसपछि त्रिभुवन विश्वविद्यालय र नर्वे सरकारको छात्रावृत्ति उच्च शिक्षा हासिल गरें । नर्वेबाट फर्केपछि यही संस्थाको कार्यकारी अधिकृत भएर जिम्मेवारी सम्हालेकी छुु ।