नम्रता शर्मा

२०१८ मार्चमा म फिनल्यान्ड गएकी थिएँ । त्यहाँ बस्ने नेपालीसंँग भेटघाटका क्रममा अन्तरंग कुराकानी भयो । एनआरएनएको आयोजनामा नेपालीसँंग छलफल पनि गरेँ । फिनल्यान्डमा नेपालीका धेरै रेष्टुराँ छन् र ती लोकप्रिय पनि छन् भन्ने थाहा पाएँ ।

एउटा रेष्टुराँमा खाना खान गयौं । त्यहाँ नेपालीभन्दा भारतीय खाना धेरै थिए । नेपाली खाना ‘हाइब्रिड’जस्ता लागे । नेपालमा धेरै दिन बिताएर गएका कतिपय फिनिस नागरिक र केही नेपाली कामदारले ती रेष्टुराँ बाहिर देखिएजस्तो नभएको जानकारी दिए । ‘त्यो भनेको के हो रु’ मैले सोधेँ । जवाफमा सुटुक्क केही सूचना पाएँ । यो सामग्री त्यसैको ‘फलोअप’ हो ।

स्थिति बुझ्दै जाँदा धेरैले कुरा गर्न चाहेनन् । कारण थियो, कामबाट निकालिने डर । मैले चिनेका केही फिनिस पत्रकार ‘केही नेपालीविरुद्ध मानव तस्करीको मुद्दा परेजस्तो लाग्छ, अरु कुरा थाहा छैन’ भनेर उम्किए । फिनल्यान्डको अदालतमा मुद्दा परेका बेला वादी–प्रतिवादी कसैले पनि मुद्दामामिलाबारे अरुलाई बताउन नपाइने नियम रहेछ । यो विवादबारे सूचना पाउन मुस्किल पर्‍यो ।

केही नेपाली रेष्टुराँले गरेका बदमासीबारे सूचना संकलन गर्ने इच्छा अधुरै छाडेर म नेपाल फर्केँ । यहाँ आएपछि पनि फिनल्यान्डका पत्रकार र नेपालीसंँग सम्पर्कमा रहिरहेँ । गएको मङ्सिर २८ मा फिनल्यान्डका केही नेपाली रेष्टुराँ सञ्चालकविरुद्ध मानव तस्करी गरेको अभियोग अदालतबाट प्रमाणित भएको थाहा पाएँ ।

अनेक प्रयासपछि अदालतले गरेको सो फैसलाको फिनिस र त्यसको प्रमाणित नेपाली उल्था प्रति प्राप्त भयो । त्यसबाट त्यस मुद्दाका पीडित र पीडकबारे विस्तृत विवरण थाहा भयो । नेपालमा भएका परिवारलाई थप पीडा नहोस् भनेर मैले पीडितको नाम यहाँ गोप्य राखेकी छु ।

गत मङ्सिर २८ मा अदालतले नेपाली रेष्टुराँ व्यवसायीहरू बसन्त अधिकारी, पूर्णचन्द्र अधिकारी, अधिकारी ओवाई, सिर्जना घिमिरे र आभा पोखरेललाई मानव तस्करी र कर छलीको आरोपमा दोषी ठहर गर्‍यो । फिनल्यान्डको उत्तरी सावो जिल्ला अदालत, भर्काउस कार्यालयका जिल्ला न्यायाधीश मिन्ना कोस्किनेनको इजलासले मानव तस्करी र करछली अभियोगमा उनीहरूलाई दोषीठहर गरेको हो ।

अदालतले पीडितहरू कान्छा, माइला, साइला ९उनीहरूको सुरक्षाका लागि नाम बदलिएको० का तर्फबाट दायर मानव तस्करी र कर कार्यालयको क्षतिपूर्ति सम्बन्धी सबै मागलाई तर्कसंगत करार गर्दै सदर गरेको छ । सो फैसलाको नेपाली अनुवाद अनुसार माइलाले १ लाख ३ हजार ९ सय ५५ युरो, साइँलाले ६४ हजार ४ सय ६१ युरो र कान्छाले ५३ हजार १ सय ८३ युरो क्षतिपूर्ति पाउनेछन् । पूर्णचन्द्र र ओवाई अधिकारीलेसो रकम तिर्नुपर्नेछ ।

सिर्जना घिमिरे र बसन्त अधिकारीले कान्छालाई २ हजार १०० युरो, साइँलालाई १ हजार १०० युरो र माइलालाई २ हजार ४०० युरो रकम थप क्षतिपूर्ति दिनुपर्नेछ । माथि उल्लिखित रकममा ब्याजसमेत जोडेर दिनुपर्ने अदालतको फैसलामा उल्लेख छ । आभा पोखरेललाई ६ महिना कैद सजाय सुनाइएको छ । अदालतका अनुसार त्यसमा एक तिहाइ सजाय मिनाहा हुन सक्नेछ ।
फैसलामा उल्लेख भएअनुसार, पीडकहरूले तोकिएअनुसार थुनामा समेत बस्नुपर्नेछ ।

फिनल्यान्डको कानुनअनुसार पीडकले आफ्नो गल्ती स्वीकार गरेर तिर्नुपर्ने रकम तिर्न तयार भएको र उनीहरूले यसअघि कुनै पनि अपराधमा सजायको भागीदार नभएको हुनाले थुनामा भने जानुपर्ने छैन ।

नेपालबाट दिनहुँ १२ सयभन्दा बढी युवा रोजगारका लागि बिदेसिन्छन् । उनीहरूमध्ये ठूलो संख्या आफन्त र चिनेजानेकाहरूले बोलाएर जानेमा पर्छन् । माइला यस्तै एक युवा हुन् । फैसलाबाट नाम थाहा पाएपछि मैले माइला लगायत अरू नेपालीसँंग सम्पर्क गरेँ । माइलाले नेपालको प्रतिष्ठित संस्थानबाट कुक तालिम लिएका रहेछन् । उनको स्नातकोत्तर सम्मको डिग्री पनि रहेछ ।

१२ फेब्रुअरी २०१५ मा साथीले आफ्नो दाइ पूर्णचन्द्र अधिकारीको फिनल्यान्डस्थित रेष्टुराँमा काम लगाइदिन्छु भनेर माइलालाई बोलाएका थिए । उनलाई फिनल्यान्डको नियमअनुसार तलब र अरु सुविधा दिने भनेर सम्झौतापत्र पनि दिइयो । उनी खुसीसाथ आफ्नो सपनाको मुलुक फिनल्यान्ड पुगे । आफ्नै नेपाली बन्धुले खोलेको ‘माउन्ट शेर्पा’ रेष्टुराँमा काम गर्न पनि थाले ।

पूर्णचन्द्रले जागिर र सम्झौतापत्र त दिए, तर त्यसमा लेखिएको तलब र सुविधा दिएनन् । उनले माइलाका नाममा दुइटा बैंक खाता खोले । एउटा खातामा सम्झौतापत्रमा उल्लेख भएबमोजिमको रकम हाल्थे, तर त्यसको एटीएम कार्ड आफैले राख्थे । दोस्रो कार्ड भने माइलालाई दिन्थे । सम्झौतापत्रमा लेखिएभन्दा एकदमै कम रकम माइलाको खातामा हलिदिन्थे ।

माइला र फिनल्यान्डका नेपाली रेष्टुराँमा काम गर्ने अरु कामदारमा ठूलो फरक छ । त्यो हो, शिक्षा । मास्टर्स डिग्री भएका माइला पहिला त घरपरिवार सम्झेर जति अन्याय भए पनि चुप लागे । डेढ वर्षसम्म दुस्ख गरेर काम गर्दा पनि पैसा हात परेन । राम्ररी खान, बस्न पनि पाएनन् ।

उनले फिनल्यान्डको श्रमसम्बन्धी कानुन पढे । धेरै हिम्मत जुटाएर उजुरी गर्ने निर्णय लिए । यो निर्णयका कारण उनी फिनल्यान्डस्थित नेपाली समुदायबाट अलग्गिए । उनको नेपालमा भएको परिवारमा केही समस्या पनि पर्‍यो । तर आफ्नो र अरू नेपालीको हक लिन उनी लागिपरे ।

त्यसको परिणाम उजुरी नगरे पनि कान्छा र साइँलाले पनि न्याय पाए । माइलाका मुद्दा अनुसन्धान गर्दा फिनिस प्रहरीले कान्छा र साइँलालाइ माउन्ट शेर्पामा काम गरिरहेका बेला भेटेको थियो । अनुसन्धानका क्रममा उनीहरूकोमुद्दा पनि उठ्यो ।
(यो आलेख कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।)

आफूले मुद्दा हालेपछि नेपाली समुदायले चलाएको रेष्टुराँमा माइलाले काम पाएनन् । फिनिस रेष्टुराँमा काम पाइन्थ्यो । उनलाई फिनिस भाषा आउँदैनथ्यो । उनले भाषा सिके । अहिले उनी एउटा फिनिस रेष्टुराँमा काम गर्छन् । काम नपाएको बेला फिनिस सरकारले उनलाई बस्ने घर र करिब ७०० युरो दिन्छ ।

‘नेपालीले नेपालीलाई विदेशमा गरेको अन्याय सबैले थाहा पाउनुपर्छ,’ माइलाले भने, ‘तर विदेशिएका सबै कामदार मजस्ता शिक्षित हुंँदैनन् । मेरो चाहना छ, अब फिनल्यान्डमा अरु नेपालीले दुस्ख नपाउन् ।’
खोज पत्रकारिता केन्द्रकी अध्यक्ष शर्माको यो लेख हामीले कान्तिपुर दैनिकबाट साभार गरिएको हौं ।