१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जोगीलाई नेपाल फर्काउन ४ लाख रुपैंयाँ सहयोग

नेपालब्रिटेन संवाददाता
२६ पुष २०७५, बिहीबार ०५:२१

तेह्रथुम । युएईको जेलमा रहेका तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङका खड्गबहादुर जोगीलाई नेपाल फर्काउन तेह्रथुम-मलेसिया सम्पर्क मञ्चले ४ लाख रुपैयाँ सहयोग गरेको छ । मञ्चले मलेसियामा संकलन गरेकोे ४ लाख ६० रुपैयाँ रकम जोगीको परिवारलाई हस्तान्तरण गरेको हो ।

घर फर्काउ अभियानमार्फत संकलन गरेको रकम मञ्चले परिवारलाई उपलब्ध गराएको फेदाप गाउँपालिका–२ का वडाध्यक्ष गोविन्द मादेम्बाले जानकारी दिए । मादेम्बाको अगुवाइमा संकलन भएको ६४ हजार १ सय रुपैयाँसमेत परिवारलाई हस्तान्तरण गरिएको छ । २०७० सालमा युएई गएका जोगी फिलिपिनी नागरिकको हत्या आरोपमा चार वर्षदेखि जेल सजाय भोगिरहेका छन् ।

खड्गबहादुरलाई अदालतले ५ वर्ष कैद र दुई लाख दिर्हाम जरिवाना तिर्नुपर्ने फैसला गरेको छ । जोगी अहिले युएईको आबुधावीमा रहेको अलवात्बा जेलमा छन् । जोगीलाई नेपाल फर्काउन आवश्यक ६२ लाख रुपैयाँ जुटाउन देश विदेशमा अभियान चलेको छ । अहिलेसम्म आवश्यक रकम जम्मा भइसकेको खड्गबहादुर जोगी बचाऊ अभियानका अध्यक्ष दुर्गा गिरीले बताए ।