६ चैत्र २०८०, मंगलवार
Follow Us

हिन्दू भेलाका आयोजक विभाजित

नेपालब्रिटेन डट कम्
१२ आश्विन २०७३, बुधबार १२:३१

काठमाडौं । आगामी कात्तिक ६ गते दशरथ रंगशालामा गर्न लागिएको बृहत् हिन्दु भेलामा राजतन्त्र पुनर्बहालीको मुद्दा उठाउने कि नउठाउने भन्ने विषयमा हिन्दुवादीहरू विभाजित भएका छन् । समाचार स्रोतका अनुसार नेपाली कांग्रेसमा आवद्ध रहेका हिन्दुवादीहरूले राजतन्त्र पुनस्र्थापनालाई एजेन्डा बनाइए बहिष्कार गर्ने चेतावनी दिएका छन् भने पूर्वपञ्चहरूमा पनि विभाजन देखिएको छ ।
भेलाका हर्ताकर्ता दिलविकास राजभण्डारी भएका कारण कमल थापा नेतृत्वको राप्रपा नेपाल उक्त भेलामा नजाने भएको छ । राजभण्डारी राप्रपा नेपालका पूर्वसहायक महामन्त्री हुन् । कमल थापाले पार्टीबाट निष्कासन गरेपछि उनले छुट्टै अभियान सुरु गरेका छन् । कात्तिक ६ गते हुन गइरहेको भेलाको मूल आयोजक समितिको अध्यक्ष राजभण्डारी हुन् । राजनीतिक इगोकै कारण राप्रपा नेपालका अध्यक्ष थापाले उक्त भेलामा नजान पार्टीभित्र आन्तरिक सर्कुलर जारी गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहका नायव बडागुरुज्यू माधवप्रसाद भट्टराईको नेतृत्वमा धर्मसभा नेपाल भन्ने छुट्टै हिन्दुवादी संगठन छ । तर उक्त संगठनले अन्तिम अवस्थामा आएर भेलाबाट हात झिकेको छ । भट्टराईकी श्रीमती कान्ता कमल थापाको पार्टीबाट समानुपातिक सांसद छिन् । भेलामा सहभागी भए श्रीमतीको सांसद पद झिकिदिने र सहभागी नभए पछि मन्त्री बनाइदिने भन्दै कमल थापाले त्रास र आश देखाएपछि माधव भट्टराईले हात झिकेको समाचार स्रोतले जनाएको छ ।
उक्त कार्यक्रमको उद्घाटन पूर्वराजा ज्ञानेन्द्र शाहले गर्ने भन्दै आयोजकहरूले प्रचार–प्रसार सुरु गरेका छन् । तर नायव बडागुरुजु भट्टराईले नै हात झिकेका कारण पूर्वराजा शाहलाई सहभागी हुन सजिलो छैन । राप्रपा नेपालले कात्तिक २६ गतेका लागि यस्तै कार्याक्रम तय गरेको छ । पूर्वराजा शाहलाई ६ गतेको कार्यक्रममा नभएर २६ गतेको कार्यक्रममा प्रमुख अतिथि बनाउने तयारीस्वरूप पूर्वनायव बडागुरुज्यूलाई प्रयोग गरिएको आरोप समाचार स्रोतले लगाएको छ । ६ गतेको कार्यक्रममा भारतीय जनता पार्टीका महामन्त्री राम माधव, वरिष्ठ नेता आदित्यनाथ आउने प्रचार गरिएको छ । उता, कमल थापाले भने २६ गतेको कार्यक्रममा भारतबाट झन् ठूला नेता आउने दाबी गरेका छन् ।
समाचार स्रोतका अनुसार भारतीय जनता पार्टीमा पनि हिन्दु अधिराज्य कि हिन्दु राज्य ? भन्ने विषयमा मतभेद देखिएको छ । राजभण्डारीको अगुवाइमा हुन लागेको ६ गतेको कार्यक्रममा हिन्दु अधिराज्यका पक्षधर र कमल थापाको अगुवाइमा हुन लागेको २६ गतेको कार्यक्रममा हिन्दु राज्यका पक्षधर भारतीय नेताहरू सहभागी हुने समाचार स्रोतले जनाएको छ ।