६ चैत्र २०८०, मंगलवार
Follow Us

संविधान संशोधनमा एमालेको साथ लिनैपर्छ

नेपालब्रिटेन डट कम्
१२ आश्विन २०७३, बुधबार १२:३८

गोपालमान श्रेष्ठ, पूर्वउपसभापति, नेपाली काँग्रेस

० काँग्रेस सभापतिकोे ६ महिनाको मूल्यांकन कसरी गर्नुहुन्छ ?
– १० वर्षसम्म हुन नसकेको काम ६ महिनामा भएको छ । नेपाल विद्यार्थी संघ, नेपाल महिला संघजस्ता भ्रातृसंगठनहरूको चुनाव भएका छन् । तरुण दल चुनावको पूर्णतयारीको अवस्थामा छ । पार्टी चलायमान भएको छ । धेरै नेता, कार्यकर्ताले जिम्मेवारी पाएका छन् ।

० जनताले सिधा बुझ्ने गरी भएको काम के हो त ?
– प्रतिपक्षी पार्टी भएको नेपाली काँग्रेस अहिले सत्तारुढ भएको छ । नेपाली काँग्रेस सत्तारुढ हुँदा अन्तर्राष्ट्रिय सम्बन्धमा फरकपन आउँछ । अप्रत्यक्ष रूपमा त्यो सन्देशले उनीहरूमा विश्वास कायम गराउने वातावरण बनाउँछ । संविधान जारी भएको अहिले एक वर्ष पूरा भएको छ । संविधान कार्यान्वयन गर्न अरु पार्टीहरूसँग समन्वय र सहमति गरेर अघि बढ्ने नेतृत्वले सोचविचार गरिरहेको छ । यसैगरी, काँग्रेस संसदीय दलको कार्यसमितिमा मनोनयन पूरा भएको छ । संसदीय समिति बनाउने काम पनि भएका छन् । केही काम हुन बाँकी छ, छिट्टै गर्छु भन्नुभयो । आलोचनाका लागि आलोचना गर्नु एउटा कुरा हो, तर काम नभएको होइन, धेरै भएका छन् ।

० भनेपछि पार्टी सभापतिका रूपमा शेरबहादुर देउवा सफल हुने संकेत देखिन्छ ?
– देखिन्छ, सभापति असफल हुँदा काँग्रेस सफल हुँदैन । त्यसैले उहाँलाई सफल बनाउन सबैको योगदान रहनुपर्छ । अझै पनि केही काम गर्न बाँकी छ । चाँडै मनोनयन पूर्ण गर्छु भन्नुभएको छ ।

० तर काँग्रेसको विधानमा महाधिवेशन भएको दुई महिनाभित्रै सबै मनोनयन पूरा गरिसक्नुपर्छ भनिएको छ, विधान उल्लंघन भएन ?
– विधानमा भएका कुरा अक्षरसः पालना भएको भए सबैभन्दा राम्रो हुने थियो । पहिलेको सभापतिज्यूले अन्तिम समयसम्म मनोनयन गर्दै हुनुहुन्थ्यो । अलिकति ढिला हुँदैमा आकाश खस्ने वा बितिहाल्ने अवस्था पनि छैन । अहिलेका सभापतिज्यूको समग्र काम हेर्दा उहाँले काम गरिराख्नुभएको छ । विभागहरू बनाउने तयारी गर्दै हुनुहुन्छ ।

० विभागहरू नबन्दा काँग्रेसका एक हजार कार्यकर्ता बेरोजगार भए नि ?
– त्यसैले त विभागहरू बनाउने तयारी गर्दै हुनुहुन्छ । संसदीय दलमा सचिवदेखि लिएर कोषाध्यक्षसम्म बनाउनुभयो । कार्यसमितिको चुनाव पनि गर्नुभयो । पहिले चुनाव नै नभएर पदावधि सकिएको थियो । भएका राम्रा, सकारात्मक कामलाई ओझेलमा पार्ने कुरा हुनुभएन ।

० भनेपछि सभापतिज्यूले पदाधिकारीमा छिट्टै मनोनयन गर्नुहुन्छ भन्नेमा तपाई आशावादी हुनुहुन्छ, होइन ?
– आशावादी भएको छु । उहाँले सार्वजनिक रूपमै यो दसैंभन्दा पहिले पदाधिकारी मनोनयन गर्छु भन्नुभएको छ ।

० तपाईलाई नै उपसभापति मनोनयन गर्ने चर्चा बजारमा छ नि ?
– सहज रूपमा र हरेक दृष्टिकोणबाट उपसभापतिमा मनोनयन गर्नुपर्ने मलाई हो । म उपसभापति र कार्यबाहक सभापातिसमेत भइसकेको छु । तर मलाई नै मनोनयन गर्नुहुन्छ, गर्नुपर्छ भन्नु पनि उपयुक्त नहोला । यो कुरा तपाईले उहाँलाई नै सोध्नु राम्रो होला ।

० उहाँले तपाईलाई केही आश्वासन दिनु भएको छ कि छैन ?
– उहाँले म मूल्यांकन गर्छु भन्नुभएको छ । उहाँलाई भेट्दा ‘तपाईलाई मूल्यांकन नगरे कसलाई गर्ने’ भन्ने गर्नुहुन्छ । अप्ठ्यारो परेको बेला तपाईले गरेका कुराहरू मैले सम्झेको छु । सम्झाई राख्नुपर्दैन, मेरो हृदयमा छ भन्नुहुन्छ ।

० तर उपसभापतिमा कसलाई मनोनयन गर्ने भन्ने कारणले पनि कार्यसमितिले पूर्णता पाउन ढिलो भइरहेको भन्ने चर्चा छ नि ?
– यसमा अन्य विविध कारण पनि होलान् । म सिनियर भएका कारण मलाई उपभासपतिमा मनोनयन गर्दा सबै समस्या सामधान हुन्छ भन्ने मेरो दाबी हो । मलाई बनाउँदा कसैलाई पनि अप्ठ्यारो पर्दैन भन्ने कुरा उहाँले बुभ्mनुभएको छ । मलाई बनाउँदा एकक्षण कसैले असन्तुष्टि जनाउला, तर त्यो असन्तुष्टि लामो समय जाँदैन । तत्कालै हराउँछ । म कसैका लागि पनि अप्ठ्यारो छैन ।

० तर उपसभापतिमा पार्टीका अन्य नेताहरू पनि आकांक्षी हुनुहुन्छ, होइन र ?
– यत्रा, नेता कार्यकर्ता भएको पार्टीमा जिम्मेवारी दिने व्यक्तिको खाँचो हुन्छ ? तर यो कुरा मलाई नसोध्नु राम्रो होला ।

० तपाईले पार्टीमा मयार्दाक्रम मिलेको छैन भनी असन्तुष्टि जनाउनु भएको छ । केन्द्रीय समितिको बैठकको माइन्युटिङमा पनि हस्ताक्षर गर्नुभएको छैन, होइन र ?
– हो, पार्टीमा प्रोटोकल मिलेको छैन भनेर मैले असन्तुष्टि जनाएको हुुुँ । मलगायत अर्जुननरसिंह केसी, रामशरण महत, रमेश लेखकले बैठकको माइन्युटिङमा हस्ताक्षर नगरेका हौं ।

० असन्तुष्टिको विषय के हो ?
– पार्टीमा महामन्त्रीहरू मयार्दाक्रममा निवर्तमान भए पनि उपसभापतिभन्दा माथि जान सक्दैनन् । पूर्वउपसभापति र कार्यबाहक सभापति एक मात्र म हुँ । यसकारण कि मयर्दाक्रम बनाउँदा मभन्दा माथि हुने गरी अर्को पूर्वउपसभापति हुनुप¥यो । विधिविधानलाई मान्ने हो यो मान्नुपर्छ । २०६२÷६३ सालको आन्दोलनअघि माओवादी र सात पार्टीबीच भएको १२ बुँदे सम्झौतामा काँग्रेसबाट हस्ताक्षर गर्नेमा एक म मात्र जीवित हुँ । काँग्रेसबाट हस्ताक्षर गर्ने अर्को नेता गिरिजाप्रसाद कोइरालाको निधन भइसकेको छ ।

० पार्टीमा गुटबन्दी बढे जस्तो लाग्छ कि लाग्दैन ?
– पार्टीमा गुटबन्दी र भागबन्डा अन्त्य हुनु पर्छ । मैले पार्टीमा भूमिका पाए भने भागबन्डा र गुटबन्दी अन्त्य गराउन मेरो प्रयत्न हुनेछ । पार्टीलाई अघि बढाउन गुटबन्दीलाई फस्टाउन दिनु हँुदैन । लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, प्रतिस्पर्धा हुँदा समूह बन्छ नै ।

० मन्त्री छान्न पनि भागबन्डा भयो, होइन र ?
– त्यस्तो व्याख्या भएको छ, पार्टीमा सबैलाई एउटै बास्केटमा राखेर हेर्नुपर्छ । हामी सबै काँग्रेस, सबै एउटै हौं । होइन र ? पार्टीमा सही मान्छेलाई सही जिम्मेवारी दिनुपर्छ । पार्टीमा जिम्मेवारी दिँदा उसको योग्यता, क्षमता, इमान्दारिता, विगतमा उसले गरेको योगदान सबैलाई हेरेर निर्णय गर्नुपर्छ । यसरी निर्णय गर्दा उसको प्रभावकारिता पनि हेर्नुपर्छ ।

० अहिले काँग्रेसमा तीन धार देखियो, यसअघि दुई धार मात्र थियो ?
– मैले त काँग्रेसलाई एउटै धार देखेको छु । म अहिलेसम्म अविछिन्न रूपमा एकै ठाउँमा छु । यता उता काँही गएको छैन । त्यसैले काँग्रेसलाई एकै धार देख्छु । सुरुदेखि नै म एउटै ठाउँमा इमान्दारीपूर्वक छु । समूहलाई हेर्ने दृष्टिकोणमा पनि भिन्नता छ ।

० काँग्रेसको भ्रातृसंगठनको चुनावमा तीन धार देखियो, त्यसमध्ये दुईको मोर्चाबन्दी, होइन र ?
– भ्रातृसंगठनको चुनावमा मैले समायोजन गरेको टिमले चुनाव जितेको छ । सबैलाई समेटेर अगाढि बढ्ने भनेर हामीले आह्वान ग¥यौं । जो जो हामीसँग आए, उनीहरूलाई हामीले प्रोत्साहित ग¥यौं । नेपाली काँग्रेस प्रजातान्त्रिक पार्टी हो । प्रजातान्त्रिक पार्टीमा चुनाव हुन्छ, चुनावमा समूहहरू हुन्छन् ।

० नेपाली काँग्रेसका दोस्रो नेता रामचन्द्र पौडेलले त असन्तुष्टि जनाउँदै आउनु भएको छ, उहाँको असन्तुष्टिलाई कसरी हेर्नुभएको छ ?
– असन्तुष्टि मात्र पोखेर के गर्ने ? काम गर्नुप¥यो । हिजो रामचन्द्र पौडेलजीले ६०÷४० को भागबन्डाको अन्त्य हुनुपर्छ । भागबन्डाले पार्टीलाई बिगार्छ भन्दै हिँड्नु भएको थियो । तर अहिले उहाँले भाग खोजिरहनुभएको छ । त्यो त भएन नि । रामचन्द्रजी, म जस्ता पार्टीका सिनियर मान्छेहरूलाई पार्टी सभापतिज्यूले राखेर परामर्श गरेर छनोट गरेपछि सबै समेटिन्छन् । समस्या हुँदैन ।

० सभापतिज्यू एकलौटी ढंगबाट अघि बढ्नुभयो भनेर पौडेललगायत उहाँ निकट नेताहरूले भनिरहनु भएको छ, तपाईलाई त्यस्तो लाग्दैन ?
– मैले त्यस्तो देखेको छैन । तर त्यस्तो गर्नु हुँदैन । पार्टीमा सामूहिक निर्णय गर्नुपर्छ । सबैको राय लिने, निर्णय आफूले गर्नुपर्छ । राय चाहिँ सबैको लिनुपर्छ । परामर्श लिने कुरामा पार्टी सभापतिज्यूले कञ्जुस्याइँ गर्नु हँुदैन । राय लिदाँ दिइएका जायज सुझाबलाई मान्नु पनि पर्छ । कसैले नाजायज सुझाब दियो भने त्यसलाई मान्नुपर्छ भन्ने छैन । कसैले जायज कुरा उठायो भने सभापतिज्यूले त्यसलाई स्वीकार गर्नुपर्छ ।

० वर्तमान सरकारमा काँग्रेसको ठूलो सहभागिता छ, प्रधानमन्त्री काँग्रेसको नभए पनि १५ मन्त्रालय भागमा परेको छ । यो सरकारले गरेको काम तपाईलाई चित्त बुझेको छ कि छैन ?
– कमेन्ट गर्ने बेला भएको छैन । सरकारले काम गरिरहेको छ । सरकारले गरेको काम हेरौं न । सरकार बनेको त भर्खरै एक डेढ महिना मात्र भएको छ । सरकारले राम्रो काम गर्ला भनेर आशा गरौं । सरकारबाट राम्रो काम गराउने हाम्रो पनि दायित्व हो । सकारमा हाम्रो पनि उपस्थिति छ । सरकारमा काँग्रेसको ठूलो सहभागिता रहेको छ । जनता र कार्यकर्ताले निकै ठूलो अपेक्षा गरेका छन् ।

० अहिलेका प्रधानमन्त्री भारततिर ढल्किए भन्ने आरोप लाग्ने गरेको छ, त्यस्तो लाग्दैन ?
– यता ढल्कने, उता ढल्कने भन्ने होइन । असंलग्न परराष्ट्र नीति नै हाम्रो नीति हो । कतिपय कुरा आवश्यकताको सिद्धान्तअनुसार हुन्छ । दक्षिणी मुलुकसँग हामी नजिक हुनुपर्छ । दक्षिणसँग लामो खुला सीमा छ । उसँग हाम्रो सबै कुरा मिल्दोजुल्दो छ । सांस्कृतिक, धार्मिक सबै हिसाबबाट पनि हामी दक्षिणसँग नजिक छौं । भारत हाम्रो छिमेकी देश हो । छिमेकी देशसँग हामीले राम्रो सम्बन्ध त राख्नै पर्छ । दक्षिणसँगै हामीले उत्तरसँग पनि राम्रो सम्बन्ध राख्नै पर्छ ।

० सरकारको परराष्ट्र नीति कस्तो हुनुपर्छ ?
– नेपालको परराष्ट्र नीति पञ्चशीलको आधारमा गर्नुपर्छ । पञ्चशीलको आधारमा परराष्ट्रनीति चलेको छ । काँग्रेस आए पनि, माओवादी आए पनि, एमाले आए पनि परराष्ट्रनीतिमा फेरबदल हुँदैन । परराष्ट्रमा धेरै अन्तर हुँदैन ।

० यो सरकारले चैतमा चुनाव गराउन सक्छ भन्ने तपाईलाई विश्वास छ ?
– चुनाव गराउनै पर्छ ।

० चुनाव अगाडि त संविधान संशोधन गर्नुपर्ने भयो, होइन ?
– सबैसँग सल्लाह र राय लिएर संविधान संशोधन गर्नुपर्छ । काँग्रेस र माओवादीले मात्रै संविधान संशोधन हँुदैन । त्यो संख्या काँग्रेस र माओवादीसँग मात्रै छैन । संविधान संशोधन गर्न एमालेसँग पनि साथ लिनुपर्छ ।

० एमालेका नेताहरूले त सहयोग गर्दैनौं भनेका छन् नि त ?
– वातावरण बनाएपछि एमालेले पनि सहयोग गर्छ । त्यो वातावरण बनाउने काम हाम्रो हो । हामीले बनाउनुपर्छ । सहयोग गराउने सरकारको दायित्व हो । त्यो हाम्रो व्यवहारमा भर पर्छ । हामीले एमालेलगायतका विपक्षी दलहरूको सहयोग लिनुपर्छ ।

० एमालेले निभाएको प्रतिपक्षको भूमिका तपाईलाई कस्तो लागेको छ ?
– ऊ प्रतिपक्षमा बसेको छ । प्रतिपक्षमा बसेपछि उसले भोलि सत्तापक्षमा पनि पुग्छु भनेर भूमिका खेल्ला नि ।

० सीमांकनको आधार इलाकालाई बनाउने ?
– ७५ वटै जिल्लामा इलाका बनाइएको थियो । शुक्रबार एक कार्यक्रममा सभापतिज्यूले पनि त्यही भन्नुभयो ।

० सभपातिज्यूले अहिलेको संरचनालाई आधार बनाएर यसपटक चैतमा स्थानीय निकायको चुनाव गरौ भन्नुभएको छ । अहिलेको संरचनालाई आधार बनाएर चुनाव गर्न सम्भव छ कि छैन ?
– यसलाई पनि विकल्प बनाऔं । यो पनि विकल्प हुन सक्छ भन्नुभएको हो । चुनाव गर्न नसकिएला कि भन्ने चिन्ता उहाँमा छ ।

० तर एमालेका नेताहरूले त स्थानीय निकाय पुनसंरचना आयोगले दिएको ५ सय ६५ को संख्या पनि बढी भयो, यसलाई पनि घटाऔं भनिरहेका छन्, त्यो हुन सक्छ त ?
– उनीहरू भन्छन्, तर भनेर मात्रै हँुदैन नि ।

० २०७४ माघ ७ भित्र स्थानीय, प्रान्तीय र केन्द्र गरी तीनवटा चुनाव हुने स्थिति देख्नुभएको छ र ?
– चुनाव त गर्नुप¥यो नि । चुनाव नगराए देश बिग्रिन्छ । चुनाव नगरी मुलुकलाई दुर्घटनामा पार्ने हो र ? मुलुकलाई दुर्घटनामा पार्ने हो भने केही पनि नगरे हुन्छ ।

० मधेस आन्दोलन अझै मिलेको छैन । वार्ता टुंगिएको छैन, कसरी चुनाव हुन्छ त ?
– सबै मिल्छ । संविधान संशोधन हुन्छ । चुनाव पनि हुन्छ । तपाई किन आत्तिनु हुन्छ ? मिलाउनुपर्छ । चुनाव गर्नुपर्छ ।