१४ बैशाख २०८१, शुक्रबार
Follow Us

डेढ वर्षदेखि रोक लगाइएको जग्गाको कित्ताकाट फुकुवा

नेपालब्रिटेन संवाददाता
२७ पुष २०७५, शुक्रबार १४:०७

काठमाडौं । सरकारले २०७४ साल साउनदेखि रोक लगाइएको जग्गाको कित्ताकाट फुकुवा गरेको छ । शुक्रबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पद्मा अर्यालले सम्बन्धित स्थानीय तहले खेतीयोग्य जग्गा होइन भनेर सिफारिस गरेपछि जग्गा कित्ताकाट गर्न पाइने जानकारी दिइन् ।

‘अंशबण्डा लगायतका व्यावहारिक समस्या देखिएकाले कित्ताकाट गर्न दिन नापी विभाग लगायतलाई निर्देशन गरिएको छ,’ मन्त्री अर्यालले भनिन्, ‘तर खेतीयोग्य जमिन घडेरी बनाउन कित्ताकाट गर्न भने रोक लागेकै छ ।’

रोक्का गर्दा व्यवहारीक कठिनाइ भएको र बिभिन्न विकृति भएका कारण जग्गा कित्ताकाट खुला गर्नुपरेको उनको प्रष्टीकरण छ । २०७४ साउन २६ देखि कित्ताकाट गर्न सरकारले रोक लगाएको थियो । यसरी रोक लाग्दा अंशबण्डामा समेत समस्या भएको भन्दै खुल्ला गर्न सरकारलाई दबाब परेको थियो ।