७ बैशाख २०८१, शुक्रबार
Follow Us

स्थानीय तहमा गुनासो

नेपालब्रिटेन डट कम्
१ माघ २०७५, मंगलवार ०१:४७

चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले जिल्लामा रहेका स्थानीय तहका प्रमुख तथा वडा अध्यक्षसँग सोमबार यहाँ अन्तक्र्रिया गरेको छ ।

स्थानीय तहमा भ्रष्टाचार भएको गुनासो आएसँगै आयोगले जिल्लाका जनप्रतिनिधिलाई राखेर कार्यक्रम गरेको हो । सो अवसरमा आयोगका आयुक्त तथा कर्मचारीले स्थानीय तहमा भ्रष्टाचारका उजुरी बढी आएको बताए । कार्यक्रममा आयोगका आयुक्त डा सावित्री थापा गुरुङले भ्रष्टाचार गर्नेलाई नछाड्ने बताउनुभयो । “भ्रष्टाचार नियन्त्रण गरे सुशासन कायम हुन्छ,” उहाँले भन्नुभयो, “स्थानीय तहको जिम्मेवारी बढेसँगै अधिकार र कार्यान्वयनमा सुनिश्चितता हुन आवश्यक छ ।”

आयोगका अर्का आयुक्त डा गणेशराज जोशीले स्थानीय तहमा बढी समस्या देखिएको बताउनुभयो । नीतिगत निर्णयलाई परिभाषित गर्दै कानून परिमार्जन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । “अदालतले दोषी ठहर गरेपछि पनि कार्यान्वयनमा समस्या देखिएको छ,” उहाँले भन्नुभयो । सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै हेटौँडा कार्यालयलका प्रमुख हुमकला पाण्डेले आयोगको संवैधानिक व्यवस्था, कानूनी एवं साङ्गठनिक संरचना, संस्थागत रणनीति प्रवद्र्धनात्मक, निरोधात्मक र दण्डात्मक कार्य, छानबिन तथा अनुसन्धान प्रक्रिया, उजुरीको सङ्ख्या, अनुसन्धान तथा फछ्र्योटसम्बन्धी प्रगति विवरण समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

पाण्डेले स्थानीय तहका समस्या, चुनौती र अपेक्षाको बारेमा पनि कार्यपत्रमा समावेश गर्नुभएको थियो । उहाँका अनुसार चालू आर्थिक वर्ष शुरु भएयता हेटाँैडा कार्यालयमा ६२८ उजुरी दर्ता भएकामा ३०४ फछ्र्योट भएको छ । उजुरी परेकामध्ये सबैभन्दा बढी सङघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका २४७ वटा रहेका छन् । कार्यालयले ६३ उजुरीको विस्तृत अनुसन्धान गरेकामा २३ वटा फछ्र्योट भएको पाण्डेले जानकारी दिनुभयो । यस अवधिमा कार्यालयले १० ‘स्टिङ अप्रेसन’ गरेको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, भ्रष्टाचारविरुद्ध अभियान चितवनका अध्यक्ष भीमबहादुर श्रेष्ठलगायतले बोल्नुभएको थियो । सो अवसरमा सहभागी स्थानीय तहका जनप्रतिनिधिले आफूलाई लागेका जिज्ञासा आयोगका आयुक्त र कर्मचारीसँग सोधेका थिए ।
–––