१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एउटै कोठामा चार जना डाक्टर !

sarusaru
४ माघ २०७५, शुक्रबार ०२:५३

बागलुङ – बुधवार बिहान १०ः३० बजे धौलागिरी अञ्चल अस्पतालको एउटा साँघुरो कोठामा ४ जना डाक्टरले दन्त सेवाको काम गरिरहेका थिए । त्यसकै छेउको सानो कोठामा डा. शैलेन्द्र पोखरेलले नाक कान घाँटीका बिरामीको स्वास्थ्य परीक्षण गरिरहेको भेटिए । अस्पतालमा भवन अभावले भएका चिकित्सकले पनि सास्ती खेपेर सेवा दिइरहेका छन् । निर्माणाधिन भवनहरु पुरा नभएकोले यति धेरै सास्ती खेप्नुपरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानाले बताए । ‘कतिपय डाक्टर र बिशेषज्ञ नआएर सेवा प्रवाहमा समस्या छ ,भएकालाई राख्न पनि कोठा पुगेको छैन’ रानाले भने, ‘भवन समयमा नबनेकोले धेरै दुःख पाइएको छ ।’ सेवा ग्राहीले पनि भवन अभावमा सास्ती खेपीरहेको उनले बताए । व्यवस्थापन समितिले अस्पतालको बी र सी भवन छिटो सक्न ठेकेदार कंपनीलाइ निरन्तर दवाव दिइरहेको छ । तर उक्त दबावले पनि काम गरेको छैन । ठेकेदारले गत असारमा सक्छु भनेर लिखित प्रतिवद्धता गरेको बी भवन समेत अझै नसकिएकोले डाक्टरलाई बस्ने कोठा पनि नपुगेको हो ।

अस्पतालको एउटै भवनमा सबैखाले सेवा संचालन गर्दा बिरामीको भीड देखिन्छ । दैनिक दुई सय बिरामीले उपचार गर्ने भएकोले अस्पतालभित्र पस्दा भीड मात्र देखिन्छ । अस्पतालमा बिशेषज्ञ सेवा भने संचालनमा आउन नसक्दा धेरै बिरामी अझै पोखरा जान बाध्य छन् । बिशेषज्ञलाई भने आर्कषक कोठा र प¥र्याप्त ठाउँ दिंदा पनि बाहाना बनाएर हिडेका छन् । स्त्रिरोग बिशेषज्ञ डा. अनुपा थापा गत भदौमा बागलुङमा आएर हाजिर भएको भोलीपल्टै बुटवलस्थित लुम्बिनी अस्पतालमा फकिईन् । उनले आँफूलाई छारेरोग लागेकोले दुर्गममा बस्न नसकेको धौलागिरी अञ्चल अस्पताल प्रशासनमा सूचना दिएकी छिन् । उनी बुटवलमा भने निरन्तर काम गरिरहेकी छिन् । उनमा त्यो रोगको समस्या परेर काम गर्न नसकेको थाहा नपाएको मेडिकल सुपरिटेन्डेन्ट डा. सागरकुमार राजभण्डारीले बताए । ‘यहाँ बस्दा रोग लाग्ने, उता बस्दा नलाग्ने भन्ने नहुनुपर्ने हो’ राजभण्डारीले भने, ‘अर्को डाक्टर नआएसम्म रमाना नदिने भनेर हामीले रोकेका छौं ।’ चार महिनादेखि उनको रमाना भने भएको छैन । त्यस्तो रोग भएमा अध्ययनको समयदेखि काममा पनि देखिनुपर्नेमा नदेखिकनै अस्पताल व्यवस्थापनलाई समेत ढाँटेको धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले बताए । उनी हिडेपछि चार महिनादेखि स्त्रिरोग बिशेषज्ञ छैनन् ।

बिशेषज्ञ अभावमा अपरेशन सहितको प्रसुती सेवा प्रभावित छ । तालिम प्राप्त प्रसुतीकर्मीहरुको सहायतामा छिटफुट अपरेशन सेवा भने दिएको राजभण्डारीले बताए । कन्सल्टेन्ट डा. शुसिलमोहन भट्टराई र कन्सल्टेन्ट फिजिसियन डा.अमर पौडेलले बिदा लिएर बीर अस्पतालमा काम गर्छन् । उनीहरुको नियुक्ती र सरुवाको कागज मन्त्रालयबाटै एकैपटक बनेकोले बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालमा नआईकनै उतै काम गरेका छन् । फिजिसियन डा. कल्याण सापकोटा र बालरोग बिशेषज्ञ डा. प्रज्वल पौडेल समेत दरबन्दीमा भएपनि भरतपुर र बिर अस्पतालमै कार्यरत छन् । अञ्चल अस्पतालमा अहिले पनि १४ जना विशेषज्ञ डाक्टर र ४ जना स्टाफ नर्स नआएकोले सेवा चुस्त बनाउन नसकेको राजभण्डारीले गुनासो गरे । ११ औं तहका डा. राजभण्डारीले भने अस्पतालमा १४ घण्टासम्म काम गरिरहेका छन् । मन्त्रालय वा नीतिगत तहमा बस्नुपर्ने बेलामा उनी अस्पतालमै काम गरेपनि अन्य बिज्ञ नआएका हुन् । राजभण्डारीले प्रसुती सेवाको अपरेशन र बिरामी जाँच तथा प्रशासनिक काम पनि गरिरहेका हुन् । अस्पतालमा मंसिर महिनामा मात्र ३ हजार बिरामीले परीक्षण गरेको तथ्यांक छ । ‘महत्वपूर्ण सेवा रोकिंदा धेरैलाई रिफर गर्न बाध्य छौं’ राजभण्डारीले भने, ‘भएका सेवा भने निरन्तर दिएका छौं, सबै विज्ञ भैदिए दोब्बरलाई सेवा दिन सकिन्थ्यो ।’ हाल अस्पतालमा डायलायसिस् र फिजियोथेरापी सेवा नियमित संचालनमा छ । अस्पताल भित्रै फार्मेसी सेवा दिएको, अक्सिजन प्लान्ट निर्माणको काम शुरु भएको र खानेपानीको व्यवस्थापनका लागि डेढ करोड रुपैयाँमा भूमिगत पानी प्रशोधनको योजना संचालन गर्न लागेको छ । पर्याप्त भवन अभावमा कतिपय सेवा भने अवरुद्ध भैरहेको हो ।

निर्माणाधिन भवनमा सरेपछि मात्र एउटै कोठामा बस्न बाध्य भएका दन्तरोग, बालरोग, नाक कान घाूटी लगायतका डाक्टरलाई प¥र्याप्त कोठा दिन सकिने व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले बताए । २०६४ सालमा जिम्मा लिएको ठेकेदार कम्पनीले ११ बर्षमा पनि भवन अलपछ छाडेका छन् । १७ करोड रुपैयाँको बी ब्लक र १० करोड रुपैयाँको सी ब्लकको जिम्मा लिएको मिलेनियम बिल्डर्सले काम अलपत्र पारेको हो । समितिले ठेकेदार शिलत ढकालसंग कुरा गर्दा भवन डिभिजन मार्फत काम गरेकोले दवाव दिन नसक्ने जवाफ फर्काएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानाले गुनासो गरे । गत असारमा सक्ने प्रतिवद्धता गरेको कंपनीले फेरी काम अलपत्र छाडेपछि सेवा प्रभावित भएको हो ।
जनमञ्च