१३ बैशाख २०८१, बिहीबार
Follow Us

आइएमई समूहको स्वीसमा बैंक खाता छैन, राष्ट्र बैंकको अनुमतिले वेलायतमा व्यवसाय संचालन

नेपालब्रिटेन डट कम्
५ माघ २०७५, शनिबार ०८:३७

काठमाडौं। आइएमई समूहले नेपाल राष्ट्र बैंकको अनुमतिमा रेमिटेन्स कारोबार गर्न बेलायतमा कम्पनी दर्ता गरेको बताउँदै ट्याक्स हेभेन भएका मुलुकबाट रकम ल्याउने र स्वीस बैंक मा खाता नखोलेको दाबी गरेको छ।

सेन्टर फर इन्भेष्टिगेटिभ जर्नालिज्म(सिआईजे)ले बुधबार सार्वजनिक गरेको रिपोर्टमा आफ्नो समूहलाई समेत जोडेर विदेशमा कमाएका नेपालीको रकम भित्र्याउने अभियानलाईनै निरुत्साहित गरिएको समूहले जनाएको छ। विहिबार पत्रकार सम्मेलन गर्दै समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने- ‘हाम्रो कुनै पनि स्वीस बैंकमा खाता छैन्, हाम्रो कुनै पनि ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता छैनन् र हाम्रो समूहले प्रवर्द्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेभन मुलुकबाट लगानी आएको छैन्।‘

उनले इन्टरनेशल कन्सोर्टिएम अफ इन्भेष्टिगेटिभ जर्न्लिज्म (आईसिआईजे)सँग उपलब्ध पाराडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा आधारित भएको बताउँदै त्यसमा आफ्नो कुनै पनि कम्पनीको नाम नरहेको समेत स्पस्ट पारे। ढकालले कानुनले दिएका अधिकार प्रयोग गरी बेलायतमा खोलिएको कम्पनीलाई जोडेर भ्रम सिर्जना गरिएको बताए।

‘आईएमईले बेलायतबाट रेमिट्यान्स सेवा सुरु गर्ने भएपछि २१ अगस्ट २००२ मा सनबर्ड कम्प्युटर कन्सलट्यान्ट लिमिटेडलाई इन्टरनेशल मनी एक्सप्रेस (आईएमई) लिमिटेडमा परिवर्तन गरिएको थियो‘ उनले भने,’ वैधानिक रुपमा रेमिटेन्सको कारोबार गर्न खडा भएको कम्पनीको विषयलाई जोडेर भ्रम सिर्जना गरिएको छ। यसले हाम्रो सार्वजनिक छबिमा क्षति पुर्याएकोमा हाम्रो गम्भिर आपत्ति छ।’

कम्पनीमा संलग्न कमलपौडेल र अनिलकुमार लामिछाने नेपाली भएपनि अहिले बेलायतको नागरिकता लिइसकेको समूहले दाबी गरेको छ। ढकालका भाई हेमराज गैरआवासीय नेपाली हुन्। ढकालले आफ्नो भाई रेमिटेन्स कारोबारकै लागि विभिन्न देश जानुपर्ने भएकाले गैरआवासीय नेपालीको हैसियतमा रहेको समेत जानकारी दिए।

‘कम्पनी सुरुवात गरेपछि म त्यो कम्पनीको सञ्चालक बनेको हुँ र २० जुलाई २०१० मा मैले त्यो कम्पनीबाट राजीनामा दिएको हुँ। मेरो भाई हेमराज गैरआवासीय नेपाली हुन्’, ढकालले भने, ‘उनले जापान,मलेसिया, बेलायतलगायतका देशमा बसेर आईएमईको बिजनेश हेर्दै आएका छन्। विदेशमा रेमिट्यान्स सेवा विस्तार गर्न नेपालबाट मात्र गरेर सम्भव नहुने हुँदा भाई गैरआवासीय नेपाली बनेका हुन्। नेपालको कानुनले गैर आवासीय नेपालीलाई कम्पनी स्थापना,सञ्चालन र त्यसको सञ्चालक समिति सदस्य बन्न कुनै बन्देज लगाएको छैन्।‘

उनले नेपालीहरु वाहुल्य रहेका देशमा विभिन्न कम्पनी खडा गरेर रेमिट्यान्स ल्याइरहेको जानकारी दिए।‘हामीले नेपालमा रेमिटेन्स ल्याउन विभिन्न देशमा कम्पनी स्थापना गरेका छौं। त्यो हाम्रो वेवसाईटमा समेत राखेका छौं। बेलायतकै सन्दर्भमा यो एक पाउण्डको कम्पनीहो । हामीले त्यहीं उपलब्ध साधारण स्रोत प्रयोग गरी यो कम्पनीमार्फत बेलायतसँगै युरोपबाट रेमिट्यान्स नेपाल भित्र्याउन थालेका हौं,’ उनले भने।

उनले आइएमई सुरु गर्नुभन्दा अघि विदेशबाट अनौपचारिक रुपमा विदेशबाट नेपालमा रकम आउने गरेको बताउँदै राष्ट्र बैंकको अनुमति लिएर सन् २००२मा मलेसियाबाट कारोबार थालेको जानकारी दिए।

‘हामीले विदेशमा रहेका नेपालीले पठाएको रकम वैधानिक माध्यमबाट नेपाल ल्याएर गम्भिर भूल गरेका हौं’ ढकालले प्रश्न गर्दै भने,’वैधानिक रुपमा रकम ल्याएर अर्थतन्त्रमा टेवा दिनु गल्ती थियो भने हामी त्यो स्वीकार गर्न तयार छौं।’

उनका अनुसार यो अवधिमा आइएमईले मात्रै १४ खर्ब रुपैयाँ रेमिटेन्स नेपाल भित्र्याएको छ। उनले वैधानिक रुपमा रेमिटेन्स कारोबार सुरु गर्दा जीवननै दाउँमा लगाएको बताउँदै त्यसले मुलुकको कुल गाहर्स्थ उत्पादनमा ३० प्रतिशत योगदान दिएको समेत बताए।‘हामीले विदेशमा नेपालीले कमाएको रकम वैधानिक बाटोबाट ल्याउन खोज्दा लाइफ थ्रेट पनि थियो। तर हामीले मुलुकप्रतिको दायित्वलाई विर्सिएनौं’ उनले भने।