४ बैशाख २०८१, मंगलवार
Follow Us

जनसम्पर्क समिति बेल्जियमद्धारा वृद्धाश्रमका लागि सहयोग

नेपालब्रिटेन डट कम्
५ माघ २०७५, शनिबार ०८:४८

पर्वत । मोदीबेनीमा सञ्चालित ज्येष्ठ नागरिक आश्रमका लागि प्रवासीहरुले आर्थिक सहयोग गरेका छन् ।

ज्येष्ठ नागरिक आश्रम सञ्चालनका लागि नेपाली जनसम्पर्क समिति बेल्जियमले रु एक लाख सहयोग गरेको हो । उक्त रकम पर्वत समाज बेल्जियमका अध्यक्ष झलक केसीको पहलमा प्राप्त भएको हो ।

कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, गैरआवासीय नेपाली सङ्घका सल्लाहकार एवं अन्तर्राष्ट्रिय पर्वत समाजका सल्लाहकार गोविन्द सुवेदी र नेपाली जनसम्पर्क समिति बेल्जियमका सल्लाहकार ज्ञानेन्द्र कर्माचार्यको रोहवरमा शुक्रबार कुश्मामा आयोजित कार्यक्रममा मोदीबेनी ज्येष्ठ नागरिक आश्रम सञ्चालन समितिका अध्यक्ष दीर्घनारायण श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरिएको छ ।

सो अवसरमा कुश्मा नगरपालिकाका प्रमुख जोशीले आश्रमका लागि कुश्मा नगरपालिकाको तर्फबाट पनि रु एक लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मोदीबेनीमा पुल बनाउन र कुश्माबाट जाने सडक सहज बनाउन थालिएको पनि उहाँले बताउनुभयो ।

गैरआवासीय नेपाली सङ्घका सल्लाहकार सुवेदीले मोदीबेनीको विकासमा जोडिएको प्रवासी सबै संस्थाले सक्दो सहयोग गर्ने आश्वसन दिनुभयो । निस्वार्थभावले मोदीबेनीको विकासमा प्रवासी नेपालीले सहयोग गर्ने र सहयोगको सही सदुपयोग हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । जनसम्पर्क समिति बेल्जियमका सल्लाहकार ज्ञानेन्द्र कर्माचार्यले मोदीबेनीको वृहत्तर विकासमा थप सहयोग गरिने आश्वासन दिनुभयो ।

नेपाली जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सीता सापकोटाले ज्येष्ठ नागरिक आश्रमको सहयोगका लागि आफूहरु सधँै तयार रहेको बताउँदै उहाँले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।