१२ बैशाख २०८१, बुधबार
Follow Us

एक डलर पनि विदेश लगेको छैन : डा. उपेन्द्र महतो

नेपालब्रिटेन डट कम्
५ माघ २०७५, शनिबार १४:१६

काठमाडौं– गैरआवासीय नेपाल संघका पूर्वअध्यक्ष डा. उपेन्द्र महतोले विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएको खोज पत्रकारिता केन्द्रको रिपोर्टहरुमा गैरकानुनी काम गरेको झैं गरी आफ्नो र परिवारका सदस्यको नाम जोडिएको बताएका छन् ।

यसबाट सर्वसाधारणमा उत्पन्न हुन सक्ने नकारात्मक प्रतिक्रिया र भ्रम चिर्न भन्दै उनले एक विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्तिमा डा. महतोले आफू चार दशकदेखि अध्ययन र व्यवसायको सिलसिलामा विदेशमा बस्दै आएको र सोही क्रममा विदेशमा छरिएर रहेका नेपालीलाई संगठित गर्दै मातृभूमिसँग जोड्ने र यसको समृद्धिमा क्षमता अनुरुपको योगदान गर्न उत्प्रेरित गर्ने उद्देश्यले सञ्चालित गैरआवासीय नेपाली अभियानको नेतृत्व गरेको बताएका छन् ।

आफू विदेशमा पनि व्यापार–व्यवसायमै संलग्न रहेको, नेपालबाहेक विभिन्न देशमा आफ्ना व्यावसायिक प्रतिष्ठान र तदनुरुपका लगानी रहेको तथा नेपालमा गरेको लगानी पनि विदेशबाटै ल्याएको उनले प्रस्ट पारेका छन् ।

अझै पनि मातृभूमिमा लगानी ल्याउने दृढ संकल्प र समर्पणका साथ काम गरिरहेको भन्दै उनले नेपालमा कुनै पनि परियोजनामा विदेशीको नाताले लगानी नगरेको प्रस्ट पारेका छन् ।

‘मैले आजसम्म विदेशबाट जति लगानी ल्याए पनि नेपालबाट चाहिँ (न विदेशमा लगानी गर्नको लागि, न त रेमिट्यान्सको रुपमा) जम्मा गर्न, लागि एक डलर पनि लिएर गएको छैन,’ महतोले विज्ञप्तिमा भनेका छन् ।

उनले समाचारमा परिवारका सदस्य (भाइ डा. विरेन्द्रप्रसाद महतो र बहिनी जुलीकुमारी महतो) को नाम अनावश्यक रुपमा जोडिदिँदा दुःख लागेको बताएका छन् ।

‘विगत धेरै वर्षदेखि मैले अन्य विदेशी लगानीकर्ता साथीलाई समेत आमन्त्रित गरेर मुलुकका विभिन्न स्थानमा आफ्नो व्यवसायलाई विस्तार गरिरहेको व्यहोरा अवगत गराउन चाहन्छु,’ डा. महतोले विज्ञप्तिमा भनेका छन् ।