१२ बैशाख २०८१, बुधबार
Follow Us

प्रहरीले बरामद गरेको सुन कसरी बन्यो तामा ?

sarusaru
८ माघ २०७५, मंगलवार ०५:४७

काठमाण्डौ – १९ पुसमा प्रहरीले धादिङको गजुरीबाट चार किलो सुनसहित तीन व्यक्तिलाई पक्राउ गरेको भन्दै पत्रकार सम्मेलन गरेको थियो । प्रदेश ३ प्रहरी कार्यालय हेटौँडा र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले बरामद गरेको सुनसहित तीन आरोपीलाई सार्वजनिक गरेको थियो । प्रहरीले यसरी बरामद गरेको सुन राजस्व अनुसन्धान विभागमा तत्कालै दाखिला गर्नुपर्छ । तर, राजस्व अनुसन्धान विभाग भन्दै छ, ‘धादिङमा बरामद भएको भन्दै प्रहरीले बुझाएको सुन होइन, तामा र ढलौट मिसिएको धातु हो ।’

इलाका प्रहरी कार्यालय गजुरीका इन्स्पेक्टर नवराज ढुंगेल सुन नै बरामद गरेको विश्वासमा सञ्चारमाध्यममा सूचना दिएको बताउँछन् । बरामद भएको सुन नै नक्कली हुन सक्ने अथवा बरामद भएपछि राजस्व अनुसन्धानसम्म पुर्‍याउँदा साटिएको हुन सक्ने दुवै सम्भावना छन् । विभागका महानिर्देशक दीर्घराज मैनाली यस्तो मामिला विभागमा पहिलोपटक आएको बताउँछन् । ‘हामी त छक्कै पर्‍र्यौँ,’ उनले भने ।

राजस्व अनुसन्धान विभागले सुनचाँदी, रत्न तथा आभूषण महासंघको सहयोगमा परीक्षण गराउँदा तामा र ढलौट मिसिएको धातु भएको पुष्टि भयो । अनुसन्धान विभागले सो धातु स्वामित्वमा लिन मानेन । बरामद भएको धातुसहित सबै अभियुक्तलाई विभागले धादिङ प्रहरीमै फिर्ता पठाइदिएको छ ।

‘प्रयोगशाला परीक्षणका क्रममा उक्त धातु सुन नभएको पुष्टि भयो,’ राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले भने । महासंघका अध्यक्ष रमेश महर्जनले पनि उक्त धातु सुन नभएको बताए । परीक्षणमा संलग्न महासंघकै सदस्य मीनबहादुर तामाङले सरसर्ती हेर्दा सुनजस्तो देखिए पनि काटेर परीक्षण गर्दा तामा र ढलोट पाइएको बताए ।

परीक्षणका क्रममा सुन भनिएको धातुको बिस्कुटको तौल पनि असमान भेटिएको छ । ‘हामीले तौल जोख्दा क्रमशः ९९२, ७७२, ६६५ र ६६८ ग्राम पाइयो,’ महासंघका कार्यकारी सदस्य तामाङले भने, ‘सामान्यतया सुनको बिस्कुट हजार ग्राम तौलको हुन्छ ।’

अभियुक्तलाई ठगी मुद्दा
सुनसहित बा.८७ प ७७३१ र प्रदेश ३, ०२–००३ प २५४० मा आएका रसुवाका २७ वर्षीय अजित वाइबा, नुवाकोट तार्केश्वरीका २२ वर्षीय सुरेन्द्र तामाङ र २४ वर्षीय विकास तामाङ पक्राउ परेका थिए । गजुरी गाउँपालिका–१ सिद्धेश्वरी मन्दिरअगाडिबाट पक्राउ परेका उनीहरूले रसुवागढी नाकाबाट सुन तस्करी गरेको आकलन प्रहरीको थियो । तर, बरामद धातु सुन नभएको खुलेपछि उनीहरूलाई ठगी मुद्दामा कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी श्यामकुमार महतोले बताए ।

धादिङका एसपी डम्बर विक भन्छन्, ‘प्रहरीले सुन भनेरै बरामद गरेको हो, तर राजस्वले सुन होइन भन्यो’
प्रहरीले सुन भनेर बरामद गरेको हो । तर, पछि राजस्व अनुसन्धान विभागले सुन होइन भनेर भन्यो । बरामद भएको धेरै दिनसम्म सार्वजनिक नगर्दा पनि प्रहरीमाथि अनेक शंका हुने थियो । त्यसैले सुन बरामद गरिएको सार्वजनिक गरिएको हो । त्यसमा प्रहरीको कुनै गलत नियत वा चलखेल छैन । बरामद हुँदाको मुचुल्का र राजस्व अनुसन्धान विभागलाई बुझाइएको विवरणबाट पनि त्यसको पुष्टि हुन्छ । पक्राउ गरिएका व्यक्तिहरूमाथि ठगी मुद्दा चलाइएको छ । उनीहरू प्रहरी हिरासतमा छन् ।
नयाँ पत्रिका