४ बैशाख २०८१, मंगलवार
Follow Us

दोहास्थित नेपाली दूतावास कामदारको हकहितका लागि सक्रिय

नेपालब्रिटेन डट कम्
८ माघ २०७५, मंगलवार १५:३५

काठमाडौँ । बहुसङ्ख्यक नेपाली श्रमिक कार्यरत कतारको दोहास्थित नेपाली दूतावास कामदारको हकहितका लागि सक्रिय देखिएको छ ।

दूतावासले गत कात्तिकदेखि पुस मसान्तसम्मको अवधिमा करार सम्झौताअनुसार तलब तथा सेवासुविधा नपाएका २९० नेपाली श्रमिकको तोकिएको सेवासुविधा दिलाउन त्यहाँको श्रम विभागलाई सिफारिश गरेको छ ।

सो अवधिमा कतारी परिचयपत्र नभएका, परिचयपत्रको म्याद सकिएका र कम्पनी छाडी भागेका तथा अवैधानिक बसोबास गर्दै आएका २२५ नेपाली श्रमिकलाई कतार सरकारको ‘खोजी तथा अनुगमन विभाग’मार्फत आवश्यक प्रक्रिया पूरा गरी नेपाल पठाइएको दूतावासले आज जनाएको छ ।

त्यस्तै कतारी परिचयपत्रको म्याद भएका श्रमिकलाई आकस्मिक रुपमा नेपाल जानुपर्ने २७ नेपाली श्रमिकलाई कतार सरकारले हालै व्यवस्था गरेको आपत्कालीन बहिर्गमन समितिमार्फत नेपाल पठाइएको दूतवासको भनाइ छ । दूतावासले सामान्य प्रकृतिका १७७ गुनासालाई दूतावासबाटै समाधानसमेत गरेको छ ।

दूतावासले गरेको अनुगमनका क्रममा कानूनी कारबाहीको सिलसिलामा अदालती प्रक्रिया पूरा गरी केन्द्रीय कारागारमा ३२ नेपाली अझै पनि कैद सजाय भुक्तानी गरिरहेका पाइएको छ । आठ नेपाली विभिन्न दुर्घटनामा परी कतारका अस्पतालमा अचेत अवस्थामा रहेका दूतावासले जनाएको छ ।

यस अवधिमा विभिन्न कारणबाट मृत्यु भएका ३० नेपालीको शव नेपाल पठाइएको र असुरक्षित अवस्थामा काम गर्दै आएका तीन महिलालाई उद्धार गरी स्वदेश फर्काइएको दूतावासले जनाएको छ । विभिन्न ४९१ कम्पनीबाट पेश भएका १० हजार १८३ समूहगत मागपत्र र ३५९ व्यक्तिगत मागपत्र प्रमाणीकरण गरिएको दूतावासले जनाएको छ । दूतावासका अनुसार कम्पनी परिवर्तन गरी काम गर्न चाहेका ९८ श्रमिकलाई कम्पनी परिवर्तनका लागि सिफारिश गरिएकोे छ ।