–रिपेश दाहाल

हेटौँडा । गोर्खाली सेनाले आधुनिक युरोपेली हातहतियारसहित मकवानपुरको सहयोगमा आएका बङ्गाली सेनालाई पराजित गरेको दिन आज नेपाली स्वाभिमानको दिन पनि हो । नेपाल एकीकरणका लागि आवश्यक ५०० भन्दा बढी आधुनिक हातहतियार र शक्तिशाली तोप नेपालले आजको दिन हात पारेको थियो ।

इतिहासका जानकार केदार न्यौपानेका अनुसार विसं १८१९ माघ १० गते नेपालको इतिहासमा सबैभन्दा बढी एक हजार ७०० शत्रु मारिएको दिन हो । २५६ वर्षअघि भएको सो युद्ध नै नेपाल(गोरखा)को विदेशीबीच भएको युद्ध हो । माघ १० गते बिहीबार विजयोत्सव मकवानपुरमा धुमधामसँग मनाइँदैछ । यस पटकको विजयोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि निम्तो दिइएको छ । मकवानपुरगढी देशका सय पर्यटकीय गन्तव्यमध्येको एक पनि हो । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागार्इं र नेपाली सेनाको सुपारेटार ब्यारेकका कर्नेल अनिल बुढाथोकीलगायतको टोली व्यस्त छ ।

पहिलो विजयोत्सव मनाउन पृथ्वीनारायण शाह स्वयम् गढीमा उपस्थित थिए । गुरगिन खाँको नेतृत्वमा रहेको मुगल सम्राट् मिरकासिमको फौज पराजित भएपछि उत्साहित बनेका पृथ्वीनारायण उत्सवमा सहभागी हुन मकवानपुर पुगेको आफूले हजुरबुबामार्फत सुनेको मकवानपुरका ९८ वर्षीय उमाकान्त आचार्य बताउनुहुन्छ । त्यसबेलादेखि नै घोषित तथा अघोषित रुपमा विजयोत्सव मनाउन थालिए पनि व्यवस्थित र भव्य कार्यक्रम गरेर मनाउन थालिएको भने केही वर्ष मात्रै भएको गढी संरक्षण र व्यवस्थापनमा लामो समय बिताउनुभएका बद्री खतिवडाले बताउनुभयो । नेपालका गढी र तिनको ऐतिहासिकताको अध्ययन गर्नुभएका केदार न्यौपानेका अनुसार देशभरिका २०० गढीमध्ये मकवानपुरगढीको इतिहास निकै लामो र महत्वपूर्ण छ । मकवानपुरगढी सामान्य गढी मात्र नभएर विशाल मकवानपुरको दरबार पनि हो ।

न्यौपानेले पाल्पाका राजा मणिमुकुन्द सेनले नै आफूलाई मकवानी राजाको सन्तान भएको जिकिर गरेकाले मकवानपुर पुरानो राज्य भएको र पछि राजधानीलाई पाल्पामा सारेको हुन सक्ने बताउनुभयो । पछि विसं १६२२ मा पाल्पाबाट प्रशासक भएर आएका लोहाङ सेनले गढीको विस्तार गरी मकवानपुर राज्यको पुनःनिर्माण र विस्तार गरेका थिए । प्रा दिनेशराज पन्तले मकवानपुरगढीका बारेमा लेख्नुभएको एक लेखका अनुसार विसं १७९४ मा गोरखाका युवराज पृथ्वीनारायणको विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग भयो । हेमकर्ण सेनका छोरा दिग्बन्धनसँग पृथ्वीनारायणको सम्बन्ध राम्रो भएन । हेमकर्णले कन्यादानका समयमा छोरीलाई गजमोतीको हार लगाइदिएका थिए र दुलाहादुलहीलाई एकदन्ता हात्तीमा चढाएका थिए ।

पृथ्वीनारायणले ती हार र हात्ती माग गर्दा दिग्बन्धनसँग झगडा प¥यो र पृथ्वीनारायण फर्केका थिए । पृथ्वीनारायणलाई सासू अर्थात् हेमकर्ण सेनकी रानीले निकै चोट पु¥याउने गरी भनेको वंशावलीअनुसार थाहा पाउन सकिन्छ । पृथ्वीनारायण राज्य विस्तारमा थप उत्साहित हुँदै गोर्खा फर्केका थिए ।
उनलाई मकवानपुर घटनाबाट हीनताबोध वा ग्लानि हैन नेपाल एकीकरण गर्ने प्रेरणा प्राप्त भएको वंशावलीबाट थाहा पाउन सकिन्छ । पृथ्वीनारायणले मकवानपुरमा हमला गर्ने विचार गर्नाको अर्को कारण नेपाल खाल्डोलाई नाकाबन्दी गरेर गलाउने र गोर्खामा मिलाउने पृथ्वीनारायणको रणनीतिलाई मकवानपुरले चुनौती दिएको थियो । नाकाबन्दी गर्दा मकवानपुरले व्यापार गर्न नपाउँदा मकवानपुरमा नकारात्मक प्रभाव पर्ने देखेर पनि मकवानपुरले गोर्खालाई सहयोग गरेन । त्यसमा पनि पृथ्वीनारायण र दिगबन्धनबीच सम्बन्ध पनि खासै राम्रो थिएन । त्यसपछि भने पृथ्वीनारायण मकवानपुर कुनै पनि हालतमा जित्नुपर्छ भनी सैनिक परिचालन गर्ने निर्णयमा पुगे । विसं १८१९ मा शुरप्रताप शाहको नेतृत्वमा एक हजार १०० गोर्खाली सेना मकवानपुर पठाइयो । शुरप्रतापसँगै महोद्दामकीर्ति शाह, दलमर्दन शाह, रणरूद्र शाह, नन्दु शाह, काजी वंशराज पाण्डे, काजी कहरसिंह बस्नेत, काजी नरसिंह बस्नेत तथा काजी अभिमानसिंह बस्नेतको नेतृत्वको गार्खाली सेनाले मकवानपुरमाथि आक्रमण ग¥यो । इतिहासका जानकार न्यौपानेका अनुसार मकवानपुरका राजा दिगबन्धन तथा मन्त्री कनकसिंह बानियाँले परिवारलाई सुरक्षित ठाउँमा पठाइसकेका थिए । कतिपय सक्षम लडाकु पनि उनीहरुको सुरक्षामा लगाइएकाले मकवानपुरे सेना कमजोर थियो तापनि मकवानपुरे सेनाले बहादुरीसाथ लडे र ५०० जनाको ज्यान गुमाउँदै मकवानपुरले लडाइँ हा¥यो । लडाइँ हारिने डरले राजा दिगबन्धन तथा मन्त्री कनकसिंह भागेर हरिहरपुरगढीतर्फ लागिसकेका थिए । आठ घण्टाको सङ्घर्षपछि मकवानपुरमा गोर्खाले कब्जा जमायो । काठमाडौँ उपत्यकाको दक्षिणमा पर्ने रणनीतिक महत्वको स्थान रहेकाले उपत्यकाको मार्ग नियन्त्रण हुने हुनाले गोर्खाली सेनाले आक्रमण गरेको थियो । विसं १८१९ भदौ ९ गते मकवानपुर पृथ्वीनारायणको अधिकारमा आएको थियो । विसं १८१९ असोजसम्ममा मकवानपुरका अरू ससाना स्वशासित क्षेत्र पनि पृथ्वीनारायणको कब्जामा आयो ।

आफ्नो राज्य गुमेपछि मकवानीहरु बङ्गालका नवाब मिरकासिमको शरणमा गए । मिरकासिम अङ्ग्रेजसँग रुष्ट भएर पहाडी प्रदेशमा कब्जा जमाएर आफू बलियो बन्ने ताकमा थिए । त्यसैले दुवैथरिको कुरो मिल्यो । न्यौपानेका अनुसार अङ्ग्रेजसँग लड्नका लागि तयार परिएको तीन हजार सैनिक तथा अत्याधुनिक हातहतियारको परीक्षणसमेत हुने ठानेर विसं १८१९ पुस २७ गते गुरगिन खाँको नेतृत्वमा रहेको मिरकासिमको फौजले मकवानपुरमा हमला ग¥यो । लडाइँ जितेर काठमाडौँ छिर्ने र पशुपति, स्वयम्भूजस्ता क्षेत्रमा लुटपाट गर्ने योजना बङ्गाली फौजको थियो । मकवानपुरमा आएको त्यस मुसलमानी फौजले १२ दिनसम्म हर्नामाडीको चौकी तथा पशुपन्छी र अन्नपात कब्जा जमाएर बस्यो । गुरिल्ला युद्ध गर्न माहिर गोर्खाली सेनाले त्यो अवधिभर युद्धको तयारी र तालीम गर्न पायो । माघ १० गते सम्पूर्ण तयारी सकेर गोर्खाली फौजले चारैतिरबाट आक्रमण ग¥यो । न्यौपानेका अनुसार ४०० गोर्खालीले तीन हजार फौजको मिरकासिमको सेनामा हाहाकार मच्चाए ।

बङ्गाली सेनाका हजाराँै बन्दूकबाट निस्केका गोलीले ३० गोर्खाली मारिए । विसं १८१९ माघ १० गते भएको त्यस युद्धमा बङ्गालका तीन हजारमध्ये एक हजार ७०० सेना मारिए । त्यस लडाइँमा गोर्खालीको हार भएको भए नेपालको एकीकरण सम्भव हुँदैनथ्यो । सो जीतपछि गोर्खाली सेनाले मिरकासिमका फौजबाट ५०० भन्दा धेरै राइफल र दुई तोप हात पारेर चार गुल्म श्रीनाथ, कालीबक्स, बर्दबहादुर र सबुज गुल्म बनाया । केही समयपछि पुरानो गोरखगुल्मसमेत स्थापना गर्न सफल भयो । नेपाली सेना व्यवस्थित गर्ने अवसर मिल्यो । लामो समयदेखि मकवानपुरगढीको इतिहासको अध्ययन र अनुसन्धान गर्नुभएका बद्री खतिवडाका अनुसार सो युद्धमा मकवानपुरगढीका सेना नायक सरदार नन्दु शाहको नेतृत्वमा ४०० सैनिक थिए । पछि पृथ्वीनारायणले थप ८०० सेनासमेत पठाएका थिए तर उनीहरु आइपुग्नुअगाडि लडाइँ सकिएको थियो ।