६ बैशाख २०८१, बिहीबार
Follow Us

दस वर्षमा त्रिशुली नदीले ५ सय ६१ को ज्यान लियो

नेपालब्रिटेन डट कम्
१३ आश्विन २०७३, बिहीबार ११:३९

चितवन । त्रिशुली जहिले पनि त्रास बोकेर बग्छ । यो विशाल नदीको किनारै किनार दैनिक हजारौ सवारी साधन गुड्छन् । लगभग ५७ किलोमिटर भन्दा लामो सडक क्षेत्र तल त्रिशुली अविरल बग्छ । यही अविरल र शान्तसंग वग्ने त्रिशुलीले सयौं नेपालीलाई निलिसकेको छ । घेरै दुर्घटनाको साक्षी बसेको त्रिशुलीको त्रास बढ्दो छ ।

त्रिशुली नदी किनारको सडक दुर्घटनामा परी अहिलेसम्म कतिले ज्यान गुमाए ? प्रहरी भन्छः १० वर्षयता पाँच सय ६१ जनाले ज्यान गुमाए । धादिङदेखि चितवनसम्मको सडक खण्डमा भएका सवारी दुर्घटनामा मात्रै यति धेरै ज्यान गएको प्रहरीले जनाएको छ । अंगभंग हुनेका संख्या हजार नाघेको छ । २०६३ यता नागढुंगाबाट धादिङ पसेपछि दुई सय २६ जनाले र चितवन पुगेपछि तीन सय ३५ जना गरी पाँच सय ६१ जनाले ज्यान गुमाएका हुन् । मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाका अनुसार त्रिशुली सडक खण्डमा मात्रै यी दुघर्टना भएका हुन् ।

गत आर्थिक बर्षको अन्तिममा बुझाएको सरकारी तथ्यांक अनुसार मध्य क्षेत्रको त्रिशुली सडक खण्डमा मात्रै एक हजार आठ सय १० सवारी दुर्घटना भए । मध्य क्षेत्रले धादिङ त्रिशुली सडक खण्डलाई सवारी दुर्घटनाको ‘रेड जोन’ मा राखेको छ । गत आइतबार मुग्लिन नजिकै घोप्टेभीरबाट पूर्वमुख्य सचिव तथा पूर्व गृहमन्त्री माधव घिमिरे चढेको गाडी त्रिशुलीमा खस्यो। तीनजनाको मृत्यु हुँदा घिमिरे र उनका दुई भाइ बेपत्ता छन्। सशस्त्र प्रहरी विपद् व्यवस्थापनको कुरिनटार टोली खोज्दै नवलपरासीसम्म पुग्यो। तर, अझै फेला पार्न सकिएको छैन।

दशैं नजिकिँदा दुर्घटना अझ बढेको छ । सवारी चाप, साँघुरो सडक र तीव्र गतिका कारणले दुर्घटना बढेको पाइएको छ । यस खण्डमा साना र ठूला दुर्घटना नभएको दिन सायदै हुन्छ । यात्रु र प्रत्यक्षदर्शीले दुर्घटनाको दोष चालकलाई दिन्छन्। चालकले मदिरा सेवन गरी गाडी चलाउने, निदाउने र सडक साँघुरो भएकाले दुर्घटना बढेका छन् । अब त्रिशुली किनार यही सडकको बारेमा त्रिशुली जस्तै गम्भीर र गहिरो भएर सोच्न आवश्यक छ । ताँकी बारम्बार यस्ता दर्दहरुको दारुण कथा नकोरियोस ।
– राजेन्द्र आचार्य