८ बैशाख २०८१, शनिबार
Follow Us

हिउँमा कठ्याङ्ग्रिएर एकको मृत्यु

sarusaru
११ माघ २०७५, शुक्रबार ०२:३६

जुम्ला : सिँजा गाउँपालिका–६ जोडुका २७ वर्षीय शिवचन्द्र बुढाको हिउँमा कठ्याङ्ग्रिएर मुत्यु भएको छ । उनीसँगै हिउँमा कठ्याङ्ग्रिएर अचेत उनका दाजु बाँचे बुढाको उद्धार गरीएको छ ।

मंगलबार बिहानबाट जुम्लामा परीरहेको भारी हिमपातका कारण लेकको बाटो हिँड्दै गरेका दाजुभाइ चिसोले कठ्याङ्ग्रिएर अचेत अवस्थामा पुगेपछि एकजनाको बाटोमै मृत्यु भएको हो । मंगलबार साँझ बेपत्ता दाजुको उद्दार गरिए पनि मृतक भाइको भने बुधवार मध्यान्ह १२ बजे मात्रै शव भेटिएको थियो ।

स्थानीय नरबहादुर बुढाका अनुसार दुवै दाजुभाइ जुम्लाको पातारासी गाँउपालिकास्थित पट्माराबाट राडीपाखी किनेर डाँफे लेक हुँदै सिंजाको जोडु गाउँतर्फ जाँदै थिए ।

घर जान बाटो लागेका उनीहरु नाकुल्लीमा चलेको हुरीबतास र हिमपातका कारण चिसोले कठ्याङ्ग्रिएर अचेत अवस्थामा पुगेका थिए । शव भेटिएको स्थानमा करिब २ फिट बाक्लो हिउँ जमेकाले शव घर लैजान अप्ठ्यारो भएपछि घटनास्थलमै मृतकको दाहसंस्कार गरिएको आफन्तले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयले घटना भएको जानकारी समयमै नदिइ मृतकको दाहसंस्कार गरिएकाले यसबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

भारी हिमपातसँगै चिसोले जुम्लाको जनजीवन कष्टकर बनेको छ । हिउँले स्थानीयबासीलाई कामका लागि गाउँ बाहिर जान मुस्किल परेको छ । चिसोले बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाहरु बढी प्रभावित भएका छन् । चिसोका बिरामीको संख्या पनि बढ्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
अन्नपूर्ण पोष्ट