१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाली टोली श्रम सम्झौतामा सहमति खोज्न यूएई र ओमन जाँदै

नेपालब्रिटेन डट कम्
११ माघ २०७५, शुक्रबार ०७:५९

काठमाडौ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ओमन र यूूएईसँग पनि मलेसियाजस्तै शून्य लागतमा कामदार पठाउने सम्बन्धमा श्रम समझादारी (एमओयु) गर्ने तयारी गरेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको अधिकार र सुरक्षाको प्रत्याभूतिको लागि सरकारले यूूएईसँग भएको एमओयू नवीकरण तथा ओमनसँग नयाँ श्रम सम्झौताको प्रक्रियामा वार्ताको तयारी थालेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख रामप्रसाद घिमिरेको नेतृत्वमा पाँच सदस्यीय टोली श्रम सम्झौता तथा श्रम समझदारीमा सहमति जुटाउन शनिबार त्यसतर्फ जान लागेको टोलीका संयोजक घिमिरेले बताए ।

घिमिरेका अनुसार कानुन मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका उपसचिवलगायतको उक्त टोलीले आइतबार र सोमबार ओमनसँग छलफल गर्नै भएको छ । उक्त टोली मंगलबार ओमनबाट यूूएई प्रस्थान गर्नेछ । यूएईमा यसअघि नै भएको श्रम समझदारी नवीकरण गर्न बुधबार र बिहीबार द्विपक्षीय वार्ता तय भएको छ ।

यूएईसँग सन् २००७ मा एमओयू भए पनि ओमनसँग भने हालसम्म कामदारसम्बन्धी कुनै पनि सम्झौता तथा समझदारी भएको छैन । ओमनले नेपाललाई करिब तीन महिनाअघि र यूूएईले डेढ महिनाअघि एमओयूको मस्यौदा पठाएका थिए । ओमनले पठाएको मस्यौदामा नेपालले विस्तृत अध्ययन गरी पूर्णरूपमा नयाँ किसिमको प्रस्ताव तयार पारेको छ ।