८ बैशाख २०८१, शनिबार
Follow Us

‘लगानीको नाममा ‘एनआरएनए’ को दुरुपयोग’ (टिप्पणी)

नेपालब्रिटेन डट कम्
११ माघ २०७५, शुक्रबार १९:५६

संस्थाको बदनाम हुने खतरा, नेतृत्व किन मौन ?

लण्डन । सन् २००३ मा नेपालबाट संसारका विभिन्न कुनाकाप्चामा पुगेका नेपालीहरु एकीकृत भई गैरआवासिय नेपाली संघ (एनआरएनए) को स्थापना गरियो ।
त्यतिबेला विदेशमा प्राप्त गरेका ज्ञा, सिप, र पूँजीलाई नेपालमा लगानीको रुपमा भित्राउने उद्देश्यका साथ एनआरएनको स्थापना गरिएको थियो ।
१५ वर्षे इतिहासमा विभिन्न आरोह–अवरोह छिचोल्दै अहिलेको अवस्थामा पुगेको एनआरएनए हाल नेपालमा लगानी स्रोतको एक प्रमुख मेरुदण्डको रुपमा दरिन सफल भइसकेको छ । ।

हुन पनि संघले स्थापनाकालदेखि विदेशमा रहेका नेपाली समुदाय र नेपाल सरकार बीच एक गतिशिल पुलको रुपमा काम गर्दै आएको छ । पूर्वाधार, पर्यटन, ऊर्जा, होटल, बैंकिङलगायतका क्षेत्रमा एनआरनको लगानी उत्साहजनकरुपमा भित्रिरहेको अवस्थामा वर्तमान केपी ओली नेतृत्वको सरकारले अघि सारेको ‘सुखी नेपाल समृद्ध नेपाली’ को नारालाई समेत मूर्तरुप दिन एनआरएनको भूमिका थप प्रभावकारी र महत्वपूर्ण रहेको धेरैले बताउँदै आएका छन् ।

समृद्ध नेपालको परिकल्पना सहित स्थापना भएको एनआरएनए जस्तो गैरनाफामूलक संस्था समृद्धिकै नारा बोकेर अघि बढेको सरकारका लागि निकै एक प्रमुख साझेदार बन्न सक्छ ।

त्यसका लागि सरकारले हात फैलाउँदै आएको छ भने एनआरएनका अध्यक्ष भवन भट्ट र संघका पदाधिकारीले पनि नेपाल सरकारसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको पटक पटक बताउँदै आएका छन् । जसअनुसार देशका अनेकन प्रोजेक्टहरु सहकार्य पनि भएका छन् । चाहे भूकम्पपछिको पुर्ननिर्माण होस् या विभिन्न लगानीका क्षेत्रमा नै किन नहोस् एनआरएन निरन्तर क्रियाशिल देखिन्छ ।

विदेशमा प्राप्त गरेको सिप, ज्ञान र पूँजीलाई नेपालमा लगानीको रुपमा भित्र्याउने मुलभूत उद्देश्यका साथ उसले यी सबै कार्यहरु गरिरहेको हो ।
गैरनाफामुलक सामाजिक संस्था एनआरएन आफैले कुनै दोकान थापेर आम्दानी गर्दैन बरु विदेशमा रहेका नेपालीलाई देशमा दोकान थाप्न प्ररित गर्दछ र देशका लागि केही गर्न घच्घच्याउँछ ।

यति कञ्चन र देशविकासको प्रवित्र भावना बोकेका संस्थाका केही पदाधिकारीको हर्कतले भने एनआरएनप्रति नै विभिन्न आक्षेप लाग्ने खतरा आइलागेको सरोकारवाला बताउँछन् । उनीहरुका अनुसार संघका केही केन्द्रिय पदाधिकारीहरुनै पदको दुरुपयोग गरेर व्यक्तिगत फाइदा लिने दिशामा केन्द्रित देखिएका छन् ।

हालै सम्पन्न संघको ६४ औं पूर्ण बैठकमा यस्तै व्यक्तिगत लागानीमा संचालन हुन लागेका केही व्यवसायहरुलाई छलफलको विषय बनाइयो र त्यसलाई केन्द्रिय समितिका अनुमोदन गर्ने काम गरियो ।

व्यक्तिगत लगानीमा संचालन हुन लागेका माइक्रो फाइनान्स, म्याग्दी खोला हाइड्रो, उज्यालो नेपाल (एलइडि रिप्लेसमेन्ट) लगायतका परियोजनालाई संघको लोगो प्रयोग गरेर सेवा मुलक संस्थालाई व्यापारिकरण तर्फ लगिएको हो । यी सबै परियोजना व्यक्तिगत लगानीमा सुरु हुन लागेका परियोजना हुन् ।

यसरी संस्थामै रहेको भरमा व्यक्तिगत लगानीका आयोजनालाई संस्थागत बनाउने प्रयास गरिएको हो । पछिल्लो समय गैरआवासीय नेपाली संघको गरिमालाई धमिल्याउन काठमाडौंमा केही पूर्व एनआरएनहरु पनि सकृय भएका छन् ।

केही पूर्व एनआरएनहरुले नेपालमा बैज्ञानिक कृषि उत्पादनको लागि डेढ अर्ब रुपैयाँ भित्र्याउने बाचा गर्दै नेपाल सरकार समक्ष काठमाडौं उपत्यका भित्र करोडौं रुपैयाँको जमिनको माग गरेका छन् ।

कर्मभूमि छाडेर स्थायी रुपमा नेपाल फर्किसकेपछि पनि उनले संघको नाम, फेम र लोगो दुरुपयोग आफ्नो जिविका चलाउन लागि यस्तो कार्य गरेको एनआरएनका एक पदाधिकारीले जानकारी दिए ।

जानकारहरुका अनुसार उनले घोषणा गरेको त्यस्तो परियोजनामा डेढ अर्ब रुपैयाँ जम्मा हुने सम्भवनाचाहिँ न्यून छ ।

यस्तै थुप्रै व्यक्तिगत लागानीबाट संचालित परियोजनालाई संघको मुलभूत उदेश्य भन्दा बाहिर गएर व्यक्तिगत फाइदाको लागि चरम दुरुपयोग गर्ने खतरा बढ्दै गएको हो ।

यस्तो अभियानमा संघकै अरु प्रमुख पदाधिकारी समेत संलग्न हुँदा पनि नेतृत्वले त्यसलाई रोक्ने साहस देखाउनु त परको कुरा मौनता समेत तोड्न सकेको छैन ।

हाल संघको काठमाडौंस्थित सचिवालय भवन निर्माणको काम पूरा भइसकेको छ । तर, केही समूहले संघको सो संरचनामा समेत आफ्नो गिद्धे नजर राख्न थालेका छन् ।

संघका एक उच्च पदाधिकारीका अनुसार पूर्व एनआरएनहरुले सचिवालय भवनलाई आफ्नो व्यवसायिक कम्पनिको प्रयोजनको लागि प्रयोग गर्न चाहेका छन् ।

यस्तै सचिवालय भित्रको चरण गुटबन्दी र आन्तरिक खिचातानिले गर्दा कर्मचारीहरु एकले अर्कोलाई नटेर्ने कारणले सचिवालय कमजोर भन्दै गएको छ । सचिवालयको नेतृत्व कमजोर हुँदा संघको केन्द्रीय कार्यालयका कर्मचारी भ्रष्ट हुँदै गएको संघका केन्द्रीय पदाधिकारी स्वयम्ले स्वीकार गरेका छन् ।

संस्थाको लक्ष्य र उद्देश्यबाहिर गएर केही स्वार्थ समूह हाबी भइरहे एनआरएनकै बदनाम नहोला भन्न सकिन्न । त्यसकारण बेलैमा नेतृत्व यस्ता अवसरवादी र गलत उद्देश्य बोकेका व्यक्तिहरुप्रति आक्रामक रुपमा प्रस्तुत हुनु पर्ने धेरैको मत रहेको छ ।