१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपालमा स्वरोजगारको माध्यम कृषि : मन्त्री थापा

sarusaru
१२ माघ २०७५, शनिबार ०३:१०

बागलुङ । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले स्वरोजगारको उपयुक्त माध्यम कृषि भएको बताएका छन्।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र बागलुङमा शुक्रबार आयोजित उपकरण हस्तान्तरण कार्यक्रममा उनले व्यावसायिक कृषकलाई प्रोत्साहित गर्न प्रदेश सरकारले विशेष अनुदानको योजना ल्याएको उल्लेख गरे। “साना ठूला दुवैखाले कृषि फार्म चलाउने दुई हजार बढी किसानबाट अनुदानको लागि आवेदन परेको छ”, मन्त्री थापाले भने, “मापदण्ड पूरा गर्ने करीब ६०० किसानले अनुदान पाउँछन्।” मन्त्री थापाले एक निर्वाचन क्षेत्रमा एउटा नमूना कृषि कार्यक्रम सञ्चालन गर्ने योजना रहेको पनि बताए।

सो अवसरमा जिल्लामा कार्यरत २७ पशुसेवा प्राविधिकलाई गाउँमा पुगेर सेवा सञ्चालन गर्नका लागि सामग्री तथा उपकरण प्रदान गरिएको थियो। ‘माइक्रोस्कोप’, ‘पोस्टमार्टम’ यन्त्र, डोरीलगायतका उपकरण र सामग्री प्रदान गरिएको केन्द्रका वरिष्ठ पशु विकास अधिकृत नारायण पौडेलले जानकारी दिए।

‘एक गाउँ, एक प्राविधिक’ भन्ने अवधारणाअनुसार प्राविधिकको क्षमता विस्तारमा समेत ध्यान दिनुपर्नेमा कार्यक्रमका सहभागीको जोड थियो। प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले कृषिलाई व्यावसायिक बनाउन आवश्यक रहेको भन्दै बागलुङलाई मासु, तरकारी तथा फलफूलमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए।
रासस