भाषा बचाउन ट्युसन

  १२ माघ २०७५, शनिबार ०४:४७ मा प्रकाशित

काठमाडौं : जंगलमै रमाउँथ्यो कुसुण्डा जाति। पछिल्लो समय उनीहरू समाजमा घुलमिल भए। बसाइँसराइ, अन्तरजातीय विवाह हुनथाल्यो। उनीहरूले नेपाली भाषा सिक्न थाले। हुँदाहुँदै कुसुण्डा भाषा बोल्ने मान्छे तीन जनामा सीमित भए। यसरी लोपको संघारमा पुगेको भाषा एउटा मात्रै छैन। २९ भाषा संकटमा छन्। तिनलाई जोगाउन भाषा आयोगले पहल थालेको छ। पहिलो चरणमा कुसुण्डा, बराम र तिलुङ भाषाको ‘ट्युसन’ पढाउन थालिएको छ।

भाषा कुनै पनि जातिको पहिचान र सभ्याताको परिचायक हो। आफ्नो भाषा बिर्सिनु त्यो जाति र राष्ट्रकै लागि ठूलो क्षति हो। २०६८ को जनगणनाअनुसार नेपालमा एक सय २३ वटा भाषा बोलिन्छ। त्यसमध्ये ३७ भाषा लोपोन्मुख छन्। २९ भाषाका वक्ता एक हजारभन्दा कम छन्। तथ्यांक विभागको आँकडामा बराम भाषा बोल्ने जम्मा एक सय ५५ मात्रै छन्। तिलुङ चाहिँ एक हजारको हाराहारीमा र कुसुण्डा बोल्ने २८ जना मात्रै। तर पछिल्लो सर्वेक्षणअनुसार कुसुण्डा बोल्ने तीन जना मात्रै रहेको अनुसन्धानकर्ता उदय आले बताउँछन्। बराम बोल्ने पचासको हाराहारीमा छन् भने तिलुङ चाहिँ दुई जना मात्रै।

‘यी भाषा संरक्षणका लागि केही गरिएन भने एकदुई वर्षमा लोपै भएर जाने खतरा छ,’ भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले भने, ‘ती भाषा नयाँ पिढीलाई हस्तान्तरण गराउने र संरक्षण गर्ने अहिलेको मुख्य चुनौती बनेको छ।’

दाङको लमही नगरपालिकामा कुसुण्डा भाषा पढाइँदैछ। सिक्नेदेखि सिकाउनसम्मका व्यक्ति जुटाउन सजिलो छैन। यो जातिका मानिस विभिन्न ठाउँमा छरिएर बसेका छन्। तिनका केटाकेटी बेग्लाबेग्लै स्कुल जान्छन्। प्युठानदेखि दाङसम्मका कुसुण्डा जातिका नयाँ पुस्तालाई भाषा सिकाउनकै लागि भनेर स्कुल सारिएको छ। उनीहरूलाई स्रोत साधन उपलब्ध गराउने काम पनि आयोगले नै गरेको छ।

नयाँ पुस्ता भाषा सिक्न सक्रिय देखिन्छ। कुसुण्डा भाषा पढाउन खटिएका छन् गैरकुसुण्डा उदय आले। यही भाषाकै अध्ययन अनुसन्धानमा सक्रिय उनले शब्दकोष समेत बनाएका छन्। उदयले २० जनालाई अहिले भाषा सिकाइरहेका छन्।

‘बिहान डेढ घण्टाको कक्षा चल्छ। ९० घण्टाको कक्षाबाट साधारण साक्षर बनेपछि मात्रै उनीहरूलाई माथिल्लो कक्षा चढाइने छ,’ आलेले भने, ‘आफ्नो भाषामा लेख्न, बोल्न सक्ने बनाउनु र भाषिक जनसंख्या बढाउनु यो कक्षाको मुख्य उद्देश्य हो।’ लमही नगरपालिकाले उनीहरूका लागि खानेबस्ने व्यवस्था गरिदिएको छ।

संसारमा चार परिवारका भाषा छन्। भारोपेली, भोटबर्मेली, द्रविड र आग्नेय। भाषाविज्ञानका यी चारैसँग मेल नखाने अद्भूत भाषा हो कुसुण्डा। त्यसैले राज्यले यसको महत्व बुझेर जोगाउन अत्यन्त जरुरी रहेको अवस्थी बताउँछन्। नेपाली भाषामा स्वरवर्ण १२ र व्यञ्जनवर्ण ३६ छन्। कुसुण्डामा २५ व्यञ्जन र ६ वटा स्वर वर्ण छन्। कुसुण्डा भाषा सिकाउन जान्ने मान्छेको पनि उस्तै अभाव छ। कक्षामा ८५ वर्षीया ज्ञानीमाया कुसुण्डा पनि सहभागी छिन्। उनले स्रोत व्यक्तिलाई सघाइरहेकी छिन्।

बारपाकमा बराम कक्षा

कुसुण्डाजस्तै बराम भाषाको कक्षा गोरखाको बारपाक सुलीकोट गाउँपालिका–६ स्थित अन्तरज्योति माविमा चलिरहेको छ। पढाइरहेका छन् स्थानीय शिक्षक रणबहादुर बराम सक्रिय छन्।

अभियानमा स्थानीयको राम्रो सहयोग रहेको उनले बताए। उनका अनुसार कक्षामा निमावि तहका विद्यार्थी र केही २० वर्ष उमेर माथिका साक्षर व्यक्ति सहभागी छन्। ‘जाडोे छ। तर बिहानै कक्षा बालबालिकाको उत्साह र आकर्षण लोभलाग्दो छ,’ शिक्षक बरामले भने।

यो भाषा जान्ने गाउँका पाका व्यक्तिलाई पनि उनले स्रोत व्यक्तिको रुपमा उपयोग गरेका छन्। ‘सक्दो रूपमा भाषिक ज्ञान दिने प्रयास छ,’ उनले भने। बराम भाषामा ३९ वटा व्यञ्जन, र ५ वटा स्वर छन्। ‘हिजो चेतनाको अभावकै कारण यो भाषा लोपोन्मुख भयो। अहिले संरक्षण गर्नु पर्छ भन्नेमा स्थानीय सरकार र जातिमा पनि सचेतना जागेको छ,’ उनले भने।

कक्षा एक वर्ष चल्नेछ। आगामी शैक्षिक सत्रदेखि स्कुलमा पनि कक्षा १ देखि नै ऐच्छिक विषयको रुपमा बराम भाषा पढाउने तयारी भइरहेको उनले सुनाए।

तिलुङको कक्षा हलेसीमा

लोपोन्मुखमध्येको तिलुङ भाषाको कक्षा चाहिँ खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा चल्दै छ। स्थानीय पिपलटार आधारभूत विद्यालयका नेपाली शिक्षक लम्बरबहादुर राई यो भाषा सिकाउन लागि परेका छन्। तिलुङ समुदायमा घुलमिल भएको र भाषामा ज्ञान पनि भएकाले उनी पढाउन छानिएका हुन्। उनले स्थानीय १५ जना बुढापाकालाई पनि स्रोत व्यक्तिको रुपमा कक्षामा प्रवेश गराएका छन्। संकलित सामग्रीलाई पाका व्यक्तिहरूसँग व्यवहारिक परीक्षण गराउने र कक्षामा सिकाउने उनले सुनाए।

तिलुङ भाषामा ६ स्वर र २२ व्यञ्जन छन्। कक्षामा २० वर्षमाथिका १४ युवा र स्कुल पढ्ने बालबालिका कक्षामा छन्। ‘स्कुलमा भन्दा यहाँ विद्यार्थीहरूको उत्साह बढी देखिएको छ’ शिक्षक राईले भने।

वक्ता नै जम्मा तीन जना मात्रै भएकाले भाषा जोगाउन उपमेयर विमला राई तिलुङ लागेकी छिन्। ‘नयाँ पुस्ताले महत्व नदिनु र राज्यले पनि समयमै संरक्षण नगर्दा यो भाषा संकटमा परेको हो,’ उनले भनिन्, ‘भाषा आयोग र स्थानीय सरकार सबै मिलेर लाग्न आवश्यक छ। भाषा लोप भए, संस्कृति र पहिचान बाँकी रहन्न। भाषाको महत्व बुझी जोगाउन समयमै काम गर्नु पर्छ।’

भाषा आयोगले यस वर्ष प्रतिवेदन सार्वजनिक गर्दै बराम, दुरा, कुसुन्डा र तिलुङजस्ता भाषा संरक्षणका लागि संघ, प्रदेश र स्थानीय सरकारले तत्काल विशेष कार्यक्रम घोषणा गर्न सिफारिस गरेको छ। आयोगका अनुसार हरियानी, जुम्ली ल्होमी, बेलहारे, सोनाहा, सिन्धी, डडेल्धुरी, व्यासी, आसामी, राउटे, साम, मनाङे, धुलेली, फाङदुवाली, सुरेल, मालपाँडे, खरिया, कुर्माली, लिंखिम, सधनी, कागते, जोङ्खा, बनकरिया, काइके, गढवाली मिजो, कुकी, नागामिज र अरबीका वक्ता एक हजारभन्दा कम छन्। यी भाषाका लागि पनि अभियान चलाइने आयोगका अध्यक्ष अवस्थीले जानकारी दिए।

भाषाशास्त्री प्रा. माधवप्रसाद पोखरेल जातिको अशिक्षा र राज्यले महत्व नदिँदाको मातृभाषा लोपोन्मुख स्थितिमा पुगेको बताउँछन्। ‘राज्यका यस्ता साना प्रयासले थोरै मात्रै भाषा बाँच्न सक्ने स्थिति छ। तर लोपोन्मुख जातिको मातृभाषा पूरै संरक्षण गर्न भने अब कठिन छ,’ उनले भने।
अन्नपूर्ण पोष्ट

प्रतिक्रिया