१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाली पर्यटन उद्योग पछाडि धकेलिदै

नेपालब्रिटेन डट कम्
१४ आश्विन २०७३, शुक्रबार ०६:४१

काठमाडौं– नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार मानिदै आएको पर्यटन क्षेत्र पछिल्ला पाँच बर्षयता सुस्त गतिमा चलिरहेको छ । प्रचुर सम्भावना बोकेको क्षेत्र पर्यटन, जहाँ राज्यले उपयुक्त लगानी नगरिक नै लाभ लिन मात्र खोजेको देखिन्छ । सरकारले कागजीरुपमा मात्रै कार्यक्रम घोषणा गर्ने कारण विश्व पर्यटन बजारमा नेपाली पर्यटन उद्योग धेरै पछाडी परिरहेको छ ।
नेपाल पर्यटकहरुको लागि महत्वपूर्ण गन्तव्य मध्येको एक हो । यहाँको प्राकृतिक सुन्दरता, हिमाल, धार्मिक मठमन्दिर, भौगोलिक विविधता, विश्व सम्पदा सूचीकृत सांस्कृतिक सम्पदा, नेपाली कलासांस्कृति र पहिचानका कारण नेपाललाई विश्वमै पर्यटन क्षेत्रका लागि धनी देशका रुपमा लिइन्छ ।
विश्व पर्यटनको आकर्षक गन्तव्यको रुपमा लिने गरिएको नेपाल जहाँ विश्वको सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटर अग्ला १४ ओटा हिमाल छन । यहाँको प्राकृतिक सुन्दरता, पशुपतिनाथको मन्दिर, विश्व शान्तिका प्रतिक गौतम बुद्ध जन्मिएको स्थान लुम्बिनी, हिमाल पारिको मुक्तिनाथ मन्दिरलगायतका धार्मिक मठमन्दिरको आकर्षणले पनि बर्षेनी भारत, चीनलगायतका हजारौं पर्यटक नेपाल आउने गर्दछन् ।
तर, राज्यले पर्यटकीय क्षेत्र प्रवद्र्धनका लागि आवश्यक लगानी नगरिक नै प्रतिफल खोज्ने गरेको निजी व्यवसायीको आरोप छ । सरकारले निजी क्षेत्रसँग समन्वय गरी अगाडी बढ्न नसक्दा पर्यटन क्षेत्रको अपेक्षाकृत विकास हुने नसकेकोसमेत उनीहरुको भनाई छ ।
ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) अध्यक्ष चन्द्र रिजालले भने, ‘पर्यटन क्षेत्रको विकासका लागि यातायात पहिलो पूर्वाधार हो । पर्वतीय पर्यटन र हिमाल आरोहणका लागि प्रख्यात मानिएको नेपालमा दुर्गम स्थानका सडकहरु अति नै दयनिय अवस्थामा चलिरहेका छन् । हवाई यातायात पनि सर्वसुलभ बन्न सकेको छैन । भूकम्पले भत्काएका सास्कृतिक सम्पदाको अझै निर्माण हुन सकेको छैन ।’
नेपाल पर्यटन बोर्डका सदस्य घनेन्द्र श्रेष्ठले ऐतिहासक, पुरात्वतिक तथा धार्मिक महत्व बोकेका पर्यटकीय स्थलको रुपमा घोषणा गरिएका सम्भावित क्षेत्रमा लगानीको आवश्कता भए पनि ती स्थानको प्रवद्र्धन गर्ने खालको कुनै ठोस योजना सरकारसँग छैन । कुनै योजना बिना नै कार्यक्रम घोषणा गरिदा र बजेट पनि कम छुट्याइदा सरकारले लिएको लक्ष्य पूरा हुनेमा शंका देखिएको बताए ।
नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष दिपक महतका अनुसार सरकारले सन् २०१८ सम्ममा १० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । त्यस्तै दक्षिण एशियाली मुलुकबाट आउने पर्यटकको संख्यामा बृद्धि गर्ने योजनासमेत सार्वजनिक गरेको छ ।
जसलाई पूरा गर्न सरकारले पर्यटकीय स्थानको सडक पूर्वाधार निर्माणदेखि निजी क्षेत्रसँगको सम्बन्धमा सुधार ल्याउन जरुरी देखिन्छ ।
– सीता पोखरेलको रिर्पोट