१३ बैशाख २०८१, बिहीबार
Follow Us

युएईमाथि नेपालको शानदार जित, रोहितले तोडे सचिन तेन्दुलकर र साहिद अफ्रिदीको रेकर्ड

नेपालब्रिटेन डट कम्
१२ माघ २०७५, शनिबार १३:४१

काठमाडौँ– घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले १४५ रनको शानदार जित निकालेको छ ।

दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीको मैदानमा शनिबार भएको दोस्रो एकदिवसीयमा नेपालले युएईलाई १४५ रनले हराएको हो । नेपालले दिएको २४३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको युएई १९ ओभर ३ बलमा अलआउट हुँदै मात्र ९७ रनमा समेटियो ।

युएईलाई सस्तैमा समेट्न सोमपाल कामीले पाँच तथा सन्दीप लामिछाने चार विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै नौ विकेट गुमाएर २४२ रन बनाएको थियो । दोस्रो खेलमा ब्याटिङ सुधार गर्दै नेपालले घरेलु टोलीलाई २४३ रनको सम्मान जनक स्कोरमा पु¥याएको हो ।

नेपालको फराकिलो स्कोरमा रोहित कुमार पौडेलले अर्धशतकीय इनिङस खेले । रोहितले ५८ बलमा नेपालका लागि सर्वाधिक ५५ रन बनाएका थिए । त्यस्तै आरिफ शेखले २९, उपकप्तान ज्ञानेन्द्र मल्लले ४४, कप्तान पारस खड्का र विनोद भण्डारीले समान २१÷२१ रन जोडे । त्यस्तै करण केसीले १८ रन बनाउँदा सन्दीप लामिछाने १४ रनमा अविजित रहे । दिपेन्द्र सिंह ऐरी १० रन जोडे । युएईका इमरान हेदर र अमीर हायतले तीन÷तीन विकेट लिए ।

जितसँगै नेपालले घरेलु टोलीविरुद्धको तीन खेलको सिरिजमा १÷१ को बराबरी गरेको छ । अब नेपाल र युएईबीचको निर्णायक तथा अन्तिम एकदिवसीय सोमबार हुनेछ । पाँच विकेट लिन सफल नेपालका सोमपाल कामी म्यान अफ दि म्याच घोषित भए ।

यसैबीच नेपाली राष्ट्रिय टोलीका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान बनाएका छन् । रोहितले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सर्वाधिक उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका छन् । अर्धशतक बनाउँदै रोहितले उक्त कीर्तिमान बनाएका हुन् । अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा अर्धशतक पूरा गर्दा रोहित १६ वर्ष १४६ दिनका छन् । ब्याट्सम्यान रोहितको अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा यो पहिलो अर्धशतक पनि हो ।
रोहितले भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकर र पाकिस्तानका साहिद अफ्रिदीको कीर्तिमानलाई भङ्ग गरेका हुन् । यसअघि सचिनले १६ वर्ष २१३ दिनको हुँदा एकदिवसीयमा अर्धशतक बनाएका थिए । यस्तै अफ्रिदीले १६ वर्ष २१७ दिन हुँदा अर्धशतक बनाएका थिए ।